विराटनगर । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट आफ्नो भागमा परेको प्रदेश १ का उम्मेदवार करिब टुंगो लगाएको छ ।

प्रतिनिधिसभामा प्रदेशका २८ सिटमध्ये ८ सिट पाएको माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेका सचिब योगेश भट्टराईसँग मैदानमा उत्रने उनी पार्टीका केन्द्रीय सदस्य हुन् ।

माओवादीले झापा २ मा पोलिटब्युरो सदस्य धर्मशिला चापागाईंलाई उम्मेदवार बनाउने भनिएपनि परिवर्तन भएको छ । नेकपा एमालेका एक प्रभावशाली नेतालाई भित्र्याएर सो क्षेत्रको उम्मेदवार बनाउने तयारीमा पार्टी रहेको स्रोतले जनाएको छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इञ्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

यता मोरङको क्षेत्र नं. ४ मा अमनलाल मोदी र ५ मा शिबकुमार मण्डल उम्मेदवार बनेका छन् । उनीहरु दुबै यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नं. ४ मा एमाले र जसपाको गठबन्धनबाट एमालेका विनोद ढकाल र क्षेत्र नं. ५ मा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् ।

उता सुनसरीको क्षेत्र नं. १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले र जसपाको गठबन्धनबाट अशोक राई उम्मेदवार बन्दैछन् ।

भोजपुरमा माओवादीले निवर्तमान सांसद सुदन किरातीलाई उम्मेदवार बनाएको छ । उनीसँग नेकपा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राईको प्रतिष्पर्धा हुनेछ ।

आफ्नो भागमा परेको खोटाङमा माओवादीले प्रदेशका बहालवाला मन्त्री रामकुमार राई कि केन्द्रीय सदस्य समिता कार्कीलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । माओवादीको भागमा परेको भनिएको सोलुखुम्बुमा भने काँग्रेसको दावी कायमै रहेकोले अन्तिम टुंगो नलागेको बताइएको छ ।

यसैगरि ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १७ वटा परेको छ । ती क्षेत्रमध्ये अधिकांशमा माओवादीले उम्मेदवार टुंगो लगाएको छ । पाँचथरको २ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बन्ने भएका छन् । यस्तै
झापा ३(२) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ (१) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (२) बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बन्ने भएका छन् ।

यसैगरि मोरङ १(१) बाट कुलप्रसाद साम्बा, मोरङ २(१) बाट गणेश उप्रेती, मोरङ ६(१) बाट जीवन आचार्य, सुनसरी २(१) बाट हालै एमाले छाडेर माओवादीमा प्रवेश गरेका इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी, सुनसरी ३(१) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेल, धनकुटा २ बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम २ बाट दुर्गा चापागाई उम्मेदवार बन्ने निश्चित भएको छ ।

यस्तै सोलुखुम्बुबाट कर्ज्याङ शेर्पा, उदयपुर १(१) बाट नारायण बुर्जा मगर र उदयपुर २(१) बाट राजन किराती उम्मेदवार बन्ने भएका छन् । माओवादीको भागमा परेको इलाम २(ं२), झापा १ (२), संखुवासभा १ र ओखलढुंगा २ को उम्मेदवार भने फाइनल भइनसकेको पार्टीले जनाएको छ ।