विराटनगर । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको आइएमई लुटपाट गरी भागेकामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा चार जनाको संलग्नता पहिचान गरेको प्रहरीले फरार एकजनाको खोजीलाई तीब्र बनाएको छ ।
असोज १७ गते ११ लाख ५० हजार रुपैयाँ नगद तथा सर्वसाधारणले धितोमा राखेको ६ किलो भन्दा बढी सुनका गहना लुटपाट गरेर भागेका उनीहरुमध्ये एक जना सोही दिन र दुई जना दसैंको टीकाको दिन पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार असोज १९ गते नै थप दुई लुटेरालाई पक्राउ गरिएको हो ।
फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आइएमई सेन्टरमा लुटपाट भएको थियो । लुटपाटमा संलग्नहरु लागु आौषध प्रयोगकर्ताहरु भएको प्रहरीले जनाएको छ । उनीहरुले सुनको कारोबार गर्ने अनुमति समेत लिएको उक्त मनी ट्रान्सफरबाट लुटेराले कर्मचारीलाई नियन्त्रणमा लिई ११ लाख ५० हजार नगद र सुन गरी करिब ९ करोडको लुटपाट भएको दाबी गरिएको थियो ।
बिहान ९ः३० बजे भएको लुटपाटको तीन घण्टापछि प्रहरीले एक लुटेरालाई नजिकैको जङ्गलबाट नियन्त्रणमा लिएको थियो । उक्त लुटेराले बोकेको झोलाबाट ६ लाख १४ हजार १२० रुपैयाँ नगद र १३० थान सुनका गरगहना बरामद गरिएको थियो । १३० थान सुनको गरगहनाको तौल १ किलो ६८५ ग्राम रहेको समेत प्रहरीले जनाएको छ ।
आईएमईका कर्मचारीका अनुसार तीनसय जनाभन्दा बढी व्यक्तिको ३९१ थान सुनका गहना धितो लिएर कर्जा लगानी गरिएको थियो । त्यसमध्ये सुन राखिएको एउटा भल्ट लुटपाट हुनबाट जोगिएको थियो । त्यसमा १२८ थान सुनका गहन सुरक्षित पाइएको थियो भने सोही दिन भाग्दै गरेका लुटेरा पक्राउ पर्दा १३० थान सुनका गहन फेला परेको थियो । अहिलेपनि थप १३३ थान सुनका गहना र केही नगद सहित भागेका एक जना लुटेराको प्रहरीले खोजी गरिरहेको छ ।
लुटपाट लगत्तै लुटेराहरू जङ्गल छिरेको सूचना पाएपछि ताप्लेजुङ र इलाम प्रहरीले लुटेराहरूको लुकेको सम्भावित स्थानमा स्वीप अपरेशन चलाएको थियो ।
प्रहरीले घटनाको दुई दिनपछि एक जनालाई इलाम र अर्कालाई झापाबाट पक्राउ गरेको थियो ।

