विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको तयारीमा राजनीतिक दलहरु जुटेका छन् । निर्वाचन आयोगले कात्तिक २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएपछि दलहरुले त्यसको तयारीलाई तीब्र पारेका छन् ।

निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालयहरु स्थापना गरेर मनोनयन दर्ताको तयारी गरिसकेको छ । क्षेत्रगतरुपमै मनोनयन दर्ता हुने भएपछि राजनीतिक दलहरुले विगतमा जस्तो सदरमुकाममा भेला भएर जिल्ला निर्वाचन कार्यालयमा उपस्थिति जनाउनु पर्ने बाध्यता हटेको छ ।

निर्वाचन आयोगले मनोनयन दर्ता गराउन जाँदा उम्मेदवारले २५ जनाभन्दा बढी व्यक्ति सहभागी गराउन नपाउने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । यद्यपि दलहरुले क्षेत्रगत रुपमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेकाछन् । निर्वाचन कार्यालयमा सीमित संख्या गएपनि बाहिरभने दलहरुले समर्थकहरुको बाक्लो उपस्थितिका लागि आन्तरिक तयारी गरेका छन् ।

मनोनयन दर्ताको तयारीस्वरुप शुक्रबार नेकपा माओवादी केन्द्र मोरङको बैठक बसेको छ । बैठकमा क्षेत्रगत रुपमा उम्मेदवारी दर्ता गर्दा समर्थकहरुको प्रभावकारी उपस्थिति गराउने निर्णय गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नम्बर ३ ले मनोनयन दर्ता गर्न जाँदा बाजागाजासहित उपस्थित हुने निर्णय गरेको छ । राप्रपा मोरङका नेता पर्शुराम सुवेदीले बाजाागाजासहित मनोनयन दर्ता गराउन जाने निर्णय भएको भन्दै कार्यकर्ताहरुलाई उपस्थित हुन सूचना जारी गरिसकेको जानकारी दिए । उक्त क्षेत्रबाट नायिका रेखा थापाले उम्मेदवारी दिने तयारी गरेकी छन् ।