एलिना दियाली
कोठेबारीमा लटरम्म फलेको जल्लिबिरको रुखमा ठोक्किएर पारिलो घाम आँगन मै आइपुग्थ्यो । खेतभरि धानका बालाहरु झुल्न सुरु गर्थे । बारीमा कोदोका बालाहरु फलिरहेका हुन्थे । सिरसिर्र चलिरहेको हावामा धान र कोदोका बालाहरु हल्लिएको देख्दा यिनीहरुले पनि दसैंको स्वागत गरिरहे झैँ लाग्थ्यो । घर वरिपरि कात्तिके बोडी, अम्बा फलिरहेका हुन्थे । आमाले काँक्रोको अचार बनाउनुहुन्थ्यो । दसैंमा काट्ने खसीको एक दुई महिना अघिबाट नै स्याहार चाकर गर्न सुरु भैसकेको हुन्थ्यो । दसैंका लागि है भन्दै केरा पकाउन धुस्र्सुलको पातले गुम्साएर राख्नुहुन्थ्यो आमा । हजुरबाले खाने सुर्तीको चुना केराको काँईयोको फेदमा लाउनु हुन्थ्यो । केरा दसैंमा राम्रोसँग पाकोस् भनेर । स्कुल श्रृङ्गार गर्न कमेरो खन्न सर र साथीहरुसँग जान्थ्यौं ।
एक दिन कमेरो खनेर ल्याएर अर्को दिन कमेरोले पोत्ने, रातो माटो लाउने र भुँई गोबर माटोले लिप्ने गर्थ्यौं । स्कुल श्रृङ्गारेका दिन हिलै भएर घर आइपुगिन्थ्यो । आमाले भन्नुहुन्थ्यो अलि होसियार भएर गर्नु पर्दैन हिलै भएर आइछ । तर, आमाको गालीमा प्रेम पाउँथें । त्यो हिलाम्मे हुँदाको आनन्द नै बेग्लै थियो । नौरथा लागेपछि माटो खन्न हुन्न भन्दै गाउँले सबै रातो माटो खन्न जान्थे । दसैंले स्कुल पनि बिदा हुन्थ्यो । स्कुल बिदा भएपछि दिदी भाइ साल, कटुसको पात टिप्न जान्थ्यौं। आमाले सालको पातको टपरी उन्नु हुन्थ्यो र जमरा राख्नुहुन्थ्यो । पल्लाघरे शेर्पेनी बडीआमा माथ्लाघरे कजीनी भाउजू सबै रातो माटो कमेरो खन्न जान्थ्यौं । दिदी कमेरो लाउने,म रातो माटो लाउने, बहिनी भुँई पोत्ने। आमा र बुबा ढिकीमा चिउरा कुट्नु हुन्थ्यो ।
बुबाले दिदीभाइ बहिनी र म सबैलाई नयाँ लुगा किन्दिनु हुन्थ्यो । दसैंको लागि नयाँ लुगा भएपनि स्कुल कै युनिफर्म । दसैंमा लगायो अनि स्कुल जाँदा पनि लाउन मिल्ने । खर्चको जोहो जुन बुबाले गर्न पर्दथ्यो । हामी मख्ख पथ्यौं नयाँ लुगा पाएपछि स्कुल युनिफर्म भएपनि । बाटोघरे काकाको छोरा भीम बहादुर, डाँडाघरे हजुरआमाका छोराहरु मिलेर पिङ हाल्थे । गाउँले सबै मिलेर बाटो फाँड्ने । भत्केको बाटो बनाउने काम गरिन्थ्यो । सबै मिलेर बाटो चिटिक्क बनाउथ्यौं । परदेशीएका दाइहरु गाउँ फर्किन्थे ।
सफा बाटो, श्रृङ्गारेर सुन्दर बनाइएको घर, मासु खान पाउने, नयाँ लुगा पाउने यी कुराहरुले मनमा खुसीको छुट्टै आभास हुन्थ्यो । मलाई सँधै दसैं भइदिए हुन्थ्यो लाग्थ्यो । दुई तीन दिनलाई पुग्ने घाँस काटेर ओतमा राखिन्थ्यो । टीकाको दिन आमाको हातबाट साइतको टीका लगाइन्थ्यो । त्यसपछि पिङ खेल्नगयो । भोलिपल्ट मावल जान पाउने । यी कुरा सम्झिदा अहिले पनि साँच्चै मन खुसीले फुरुङ्ङ हुन्छ । यति हुन्थ्यो र पो दसैं आएको जस्तै लाग्थ्यो ।
अहिले गाउँलाई न दसैं न तिहार । बसाँइराइले गाउँ सुनसान बन्दै गयो । प्रायः पैसा कमाउनेहरु सहरमुखी भए । सुविधाभोगी भए । गाउँको मायाले तानेर रहेका मात्रै गाउँमा रहे । मैले पढेको स्कुल जीर्ण बन्यो । स्कुलले दसैंमा कमेरो, रातो माटो, गोबर माटो पाउन छोड्यो । बाटो कहाँ थियो भनेर खोज्न निकै बेर अनुमान लगाउनु पर्छ ।
बाटोहरु फाँड्न छोडियो । दसैं आउनु अघि कमेरो खन्न्ने रातो माटो खन्नेहरुको लर्को हरायो । बाबियो काट्ने डोरी बाट्नेहरु हराए सँगै लिङ्गे पिङ हरायो । दसैंको मौलिकता हरायो । न खेतमा धानका बालाहरु झुल्छन् दसैंको स्वागत गर्छन् न त बारीमा कोदोका बालाहरु । खेतहरु बाँझिए । बारिहरु बाँझिए ।
आजभोली एक महिना अघिबाट फेसबुक र टिकटक लगायतका सामाजिक संजालमा दसैंआउँछ । कसले कस्तो कपडा किन्यो । के के गहना बनाए। कस्तो परिकार तयारी हुँदैछ देखाउन सुरु हुन्छ । दसैं एउटा संस्कृतिको निरन्तरता भन्दा पनि सम्पत्ति देखाउने प्रतिस्पर्धाको रुपमा विकास भयो । भएको चिजमा रमाउने भन्दा अर्काको देखेर इर्ष्या गर्ने चलनको रुपमा विकास भयो । उ बेलाको आत्मियता, भेटघाट र रमाईलो सबै तमोर नदीको पानी जस्तै बगेर कहाँ गए कहाँ ।
समय उही तर घडी बदलियो । दसैं उही तर मनाउने तरिका बदलियो । मान्छे हिड्ने बाटोेहरु ,खेत बारीहरु जंगलमा बदलियो ।
ढिकीमा चिउरा कुटिन्थ्यो, लिङ्गे पिङ हालिन्थ्यो, कमेरो, रातो माटोले घर पोत्ने गरिन्थ्यो यी सबै चिज केवल इतिहासमा मात्र सीमित भए । अहो ! दसैंका ती दिनहरु । सम्झँदा मात्र पनि क्या आनन्दको अुनुभूति हुन्छ ।