विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वप्रमुख तथा नेकपा एमालेका प्रदेश समिति सदस्य द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।

आगामी निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने तयारीसहित उनी माओवादी प्रवेश गर्न लागेका हुन् । तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका उनी एमाले बिभाजनको समयमा भने केपी ओलीलाई नै साथ दिएका थिए ।

चौधरीले आफू काठमाडौं जान विराटनगर एयरपोर्टमा रहेको र माओवादी प्रवेश गर्न लागेको सत्य भएको बताए । ‘सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुन्छ,’ चौधरीले भने, ‘तर, माओवादी प्रवेश गर्न लागेको भन्ने कुरा सत्य हो ।’

उनी भोली माओवादी अध्यक्ष प्रचण्डको हातको टिका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेद्वार बनाउने विषयमा माओवादी पंक्ति सहमत भइसकेको बुझिएको छ । चर्को अभिव्यक्ति र खरो स्वभाबको कारण बेलाबेला बिबादमा आइरहने उनेको इटहरीका थारु समुदायमा बलियो प्रभाव रहेको मानिन्छ ।