राजु नेपाल
हाम्रो समाजमा एउटा भनाइ प्रसिद्ध छ– साउने संक्रान्तिले ठूला चाडबाड आएको संकेत गर्छ र माघे संक्रान्तिले सकिएको संकेत गर्छ । यस अर्थमा हामी यो वर्षका ठूला चाडबाड मनाउन थालिसकेका छौँ जुन क्रम अबका पाँच महिनासम्म चल्छ । साउने संक्रान्तिदेखि गाईजात्रासम्मका चाड हामीले यो वर्ष मनाइसकेका छौं भने तीजदेखि छठसम्म मनाउन पैसा र सामानको जोहो गर्न थालिसकेका छौं । केटाकेटी नयाँ लुगा र मीठो खानाको चर्चा स्कुलमा गर्न थालिसकेका छन् भने कर्मचारी बढेको तलब र दशैं खर्चले के के गर्ने भनेर हिसाब । हामीमध्ये कतिपय लामो बिदाको सदुपयोग गर्न यात्राको चाँजोपाँजो मिलाउन थालिसकेका छौं भने कतिपय घर शृंगार गर्न । ठूला चाडबाडको प्रतीक्षामा विदेशमा रहेका हजारौं नेपाली स्वदेश आउन यात्राको तयारी मात्रै हैन, टिकटसम्म काटेर बसेका छन् । यस अर्थमा पनि आगामी केही महिना पूरै समाजका लागि अत्यन्त महत्वपूर्ण छ ।
चाडबाड भन्नेबित्तिकै हामी पूजापाठ, परमेश्वरको सम्झना, मीठो खाना, राम्रो लुगा, यात्रा, आफन्तहरुसँगको भेटघाट तथा मनोरञ्जन सम्झन्छौँ । तर हरेक चाडबाडका आफ्नै विशिष्टखालका सांस्कृतिक मूल्य–मान्यता छन् । हामी नयाँ वर्ष सुरु हुनेबित्तिकै भित्तामा झुन्ड्याइएको वार्षिक क्यालेन्डरमा चाडबाड र जात्राहरुमा आँखा लगाउँदै योजना बनाउन थाल्छौँ । अझ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु यो मामिलामा धेरै अगाडि छन् ।
हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला । चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका ‘परिवार र पैसा’ नै हुन् ।
हरेक समाजमा सबैजसो चाडबाडले देवता र मानिसको सम्बन्ध नवीकरणको काम गर्छन् । हाम्रा सबैजसो चाडबाड देवता वा धर्मसँग सम्बन्धित छन्, चाहे त्यो दशैं होस् वा तिहार, माघे संक्रान्ति होस् वा जनैपूर्णिमा । हिन्दु धर्ममा मात्र हैन, इसाई धर्मावलम्बीको क्रिसमस र मुस्लिमहरुको इद पनि ईश्वरकै भक्तिमा आधारित चाड हुन् ।
हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला । चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका ‘परिवार र पैसा’ नै हुन् । घरभित्रका लागि यी दुई तत्व महत्वपूर्ण भए पनि देश र समाजका लागि भने अन्य परिस्थितिजन्य कुराले पनि महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । हिन्दु–धर्मशास्त्रले चाडबाड र परम्परा देश, काल, परिस्थितिअनुसार मनाउनुपर्छ भनेर स्पष्ट भनेको छ । अरुको देखासिकी गरेर वा ढोंग गरेर चाडबाड मनाउनु समाज र शास्त्र दुवैको विपरित छ ।
नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी, तीज, दशैं, तिहार, छठ, इद यो समयमा मनाइने मुख्य चाडबाड हुन् । हामीकहाँ जातजातिविशेषले र कुनै क्षेत्रमा मात्रै मनाउने चाडबाड पनि थुप्रै छन् । तर मुख्य गरेर दशैँ र तिहार सबैजसो जातजातिले मनाउने गर्छन् र लामो समयदेखि चर्चामा रहन्छ । यो चाडमा कार्यालय पनि धेरै दिन बिदा हुने भएकाले मानिसलाई यात्रा गर्न पनि सजिलो हुन्छ । अरु चाडबाड भने मनाउने दिन वा अघिल्लो दिनमात्र चासो बढ्छ ।
दशैँ–तिहार विभिन्न वर्गका मानिसलाई विभिन्न समयमा लाग्छ । विद्यार्थीलाई दशंै घटस्थापनाको दिन विद्यालय वा कलेज बिदा भएदेखि लाग्छ भने कर्मचारीका परिवारलाई पेश्की तलब आएको दिनदेखि । खसी–बोका व्यापारीले करिब सात र आठ महिना अगाडिदेखि नै तयारी गर्छन् भने कपडा व्यापारीले पाँच महिना अगाडिदेखि । विदेशमा रहेका आफन्तहरु आएको दिनदेखि कसैलाई दशैं लाग्छ भने देवीका मन्दिरका पुजारीलाई नवरात्रिभर नै लाग्छ ।
हामी पछिल्लो समयमा चाडबाड मनाउने प्रक्रियामा धेरै उच्शृङ्खल बन्दै आएका छौं । अब त्यसलाई सच्याउने बेला भएको छ । हरेक चाडपर्वका बारेमा कुनै न कुनै शास्त्रमा त्यो चाड मनाउने समय, कारण, विधि आदिबारे उल्लेख हुन्छ । तर, समयसँगै हामीले त्यसमा विविधता ल्यायौं, त्यसलाई अपभ्रंश गर्यौँ। दसैं भनेको पारिवारिक मेलमिलाप, पूजापाठ, मनोरञ्जन गर्ने र अग्रजसँग आशीर्वाद लिने–दिने चाड हो । तर केही वर्षदेखि हामीले त्यसलाई महँगा र नयाँ लुगा लगाउने, तास खेल्ने, रक्सी खाने चाडका रूपमा परिवर्तन गरिरहेका छौँ । यसको मुख्य कारण अध्ययनको कमी र सहरी क्षेत्रमा बढेको आम्दानी र देखासिकी गर्ने होडबाजी हो । यही कारण दसैं वर्षभरमा सबैभन्दा धेरै रक्सी खपत हुने समय हुन पुगेको छ । अझ कर्पाेरेट क्षेत्रमा त एक अर्कालाई पठाइने उपहारमासमेत रक्सी सबैभन्दा धेरै हुने गरेको छ । यो विकृतिको एउटा उदाहरण हो ।
चाडबाडको अर्काे विकृतिको पराकाष्ठा देखिन्छ तीजमा । एक दशकअघिसम्म तीज परम्परागत तरिकाले मनाइन्थ्यो । व्रतको एक दिनअघि दर खाने, व्रतको दिन निराहार बस्ने, शिवजीको पूजा गर्ने, शिव भजन गाउने र ऋषि पञ्चमीको दिन सप्तर्षिको पूजा गर्ने शास्त्रमा उल्लेख छ । अहिले तीज कति विकृत छ भन्ने हामी सबैलाई थाहा छ । यो चाड नयाँ डिजाइनका लुगा र गहना किन्ने, देखाउने, महिनौंअगाडिदेखि दर खाने निहुँमा पार्टी प्यालेस वा घरमा भेला हुने र परम्पराको मूल मर्म बिर्सने काम भइरहेको छ । सप्तर्षिको पूजा गर्ने र निराहार (पानी पनि नपिइकन) व्रत बस्ने परम्परा त लोपोन्मुख छ । तीजमा बन्ने गीतहरुले पनि तीजलाई विकृत बनाइरहेका छन् । पानीसमेत नपिइ व्रत बस्नु स्वास्थ्यका कारण हितकर छैन भने त्यसमा सुधार गर्दा समाजले सजिलै स्वीकार्ला तर तीजको नाममा लाखौँ रुपियाँ लुगा र खानामा खर्च गर्दै परम्परा विकृत पार्ने प्रवृत्ति कसैलाई पनि स्वीकार्य हुन सक्दैन । समाजले स्वीकार्नुपर्ने भनेको रुढिवादीका नाममा भएका गलत काम हो तर चाडबाडको नाममा जुन विकृति फैलिँदैछ, त्यसको निराकरणमा महिला नै लाग्नुपर्छ । अझ संस्थागतरूपमा हुने यस्ता कार्यक्रम त बुझ्नेले बहिस्कार गर्नुको बिकल्प नै छैन । नत्र हामीले हाम्रा सन्ततिलाई के सिकाउँदैछौँ ? विभिन्न संघरसंस्थाका नाममा तीज पार्टी गर्दै पैसा उठाएर नाचगान गर्नु र गराउनु पवित्र पर्वको उपहास गर्नु हो ।
गत वर्षको तीजमा एक पारिवारिक साथीले भनेको कुरा प्रायः सम्भ्किरहेको हुन्छु– ‘अब त लगालग १३ वटा तीजका कार्यक्रम छन्, यसका लागि मैले अलगअलग लुगा र गहना तयार पार्दैछु । तीमध्ये केही कार्यक्रम आफन्तका घरमा, पार्टी प्यालेस र तारे होटलमा पनि छन् । त्यसपछि एक दिन सय जनाजति आफन्त र साथीहरु बोलाएर मैले कार्यक्रम गर्नुपर्छ ।’ तीजका नाममा भित्रिएको विकृतिको नमूना योभन्दा अर्काे के हुन सक्ला र ! यो भनाइ अचेल काठमाडौँ र बाहिर पनि हरेक घरमा सबैले सुनेरभोगेको तथ्य हो । यहाँ घरका पुरुषको कुनै कुरा सुनिन्न तसर्थ कतिपय पुरुष यो विषयमा बोल्न पनि चाहँदैनन् । तर कुरा बुझेर हो वा के हो तिनै साथी यो वर्ष भन्दैछिन् – यो वर्ष म यस्ता विकृतिमा सामेल हुन्न ।’ सबैले यसैगरी कुरा बुझे कति राम्रो हुन्थ्यो ।
शिवजीको भजन गाउने परम्परा तोड्दै आधुनिकताका नाममा छाडाखालका गीतलाई तीजसँग जोडिएको छ । कसले र किन भित्र्यायो यो विकृति ? उत्तर अनुत्तरित नै छ । यसमा सुधार आउनु जरुरी छ र त्यो काम अब सुरु गरिहाल्नुपर्छ । नत्र हामीले हाम्रा सन्ततिलाई चाडबाड र पर्वका अवशेष पनि छाड्न सक्ने छैनौँ । यस्तो हुनुका कारण हामीमा चाडबाडको अर्थ र महत्वको ज्ञानको अभाव र सिक्न नचाहने प्रवृत्ति जिम्मेवार छ । समाजले यो कुरालाई सधंैँ यसै गरी ग्रहण गर्न सक्दैन भन्ने कुरा अब बुझ्नु जरुरी छ । चाडबाड मनाउने तरिकामा सुधार हुनैपर्छ, यसमा कुरीति छन् भने पन्छाउँदै पुरानै र सरल बाटोमा लाग्नैपर्छ ।
तीजमा विकृति ल्याउने पहाडिया समुदायले नेवारी समुदायसँग चाडबाड मनाउने प्रक्रिया सिक्नु जरुरी छ । ५० वर्षअगाडि इन्द्रजात्रा, गाईजात्रा, बिस्केटजात्रा तथा अन्य जात्रा नेवारी समुदायले जसरी मनाउँथ्यो आज पनि त्यसैगरी मनाउँदैछ । न त त्यसमा तडकभडक देखिन्छ न विकृति नै । मात्र परिवर्तन भनेको हिजो सुरुवाल लगाएर तानिने रथ अहिले जिन्स पाइन्ट लगाएर तान्छन्, जुन समयसापेक्ष हो । अझ आफ्नो जात्रामा आफ्ना परिवार र छोरीलाई समेत छोरासरह सहभागी गराएर त्यो समुदायले छोरा–छोरी बराबर हुन् भन्ने सन्देश दिएर उदाहरणीय काम गर्दैछ ।
तीजमात्रै हैन, दशैं र तिहार जस्ता अत्यन्त धार्मिक महत्वका चाडलाई पनि हामीले आर्थिकरूपमा हेरेर विकृति ल्याएका छौं । कसले कस्तो लुगा किन्यो, कत्रो खसी किन्यो र कति दक्षिणा दियो भनेर लेखाजोखा हुन थालेपछि अब के नै बाँकी रह्यो र ? दशैंको महत्व दक्षिणामा हैन आशीर्वादमा हो, खसीको तौलमा हैन देवीको पूजामा हो र महँगो लुगामा हैन चोखो लुगामा हो भन्ने सन्ततिलाई सिकाउन अब ढिला भइसकेको छ ।
अब हामी आफैँले चाडबाडका नाममा फजुल खर्च र मनाउने तरिकामा आएको विकृति कम गर्न नियन्त्रण गर्नुपर्छ । सामाजिक जीवनलाई सरलीकरण गर्ने दिशामा न सरकार न त कानुनले नै केही गर्न सक्छ । यो आफैँबाट हरेकले सुरु गर्नुपर्ने अभियान हो । यो काम हामी सबैको घरबाट सुरु हुनुपर्छ र महिलाको अग्रसरतामा हुनुपर्छ । परिवर्तनको अभियानमा जो सामेल हुन चाहँदैन, उसले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ आफ्ना सन्ततिको व्यवहारमा आएको विकृतिका कारण ।
चाडपर्वलाई परमात्मासँगको आत्मसाक्षात्कार गर्ने अवसरका रूपमा लिन सकियो भनेमात्र हामी सबैका निम्ति चाडबाड प्रभावकारी हुन सक्छन्, शास्त्रले पनि यसै भन्छ । त्यसो गर्न सक्यौँ भने हाम्रो जीवन सरल बन्दै जानेछ । र, हाम्रो समाज पनि समुन्नत बन्नेछ । र, परमात्मासँग साक्षातकार गर्न भड्किलो बन्नुपर्दैन किनकि परमात्मा आफू सरल छन् र अरुलाई पनि सरल देख्न चाहन्छन् ।