विराटनगर । विराटनगर महानगरपालिकाले मापदण्ड विपरित निर्माण गरिएका सीमा पर्खाल (कम्पाउण्ड वाल) हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
कम्पाउण्ड वालको नक्सा बनाएर मात्र पर्खाल लगाउन आग्रह गर्दै महानगरले यस अघि नक्सा पास नगरी बनाइएका कम्पाउण्ड वाल प्रचलित कानुन बमोजिम र तोकिएको मापदण्ड अनुसार नभएमा ३५ दिनभित्र हटाउन महानगरले आग्रह गरेको छ ।
मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नभएका कम्पाउण्ड वालहरु ३५ दिनभित्र नियमित गर्न र मापदण्ड विपरित निर्माण गरिएका वालहरु ३५ दिनभित्र हटाउन महानगरले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी आग्रह गरेको हो ।
महानगरले प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम कम्पाउण्ड वाल हुनुपर्ने भन्दै नक्सा पेश पास नगरेकाहरुले नक्सा पेश नगरेमा महानगरले टोली खटाएर सीमा पर्खाल हटाउने र भत्काउँदा लाग्ने खर्चसमेत सम्बन्धित घरधनीबाटै भराउने जानकारी गराएको छ ।