चाडबाडको समयमा बजारमा खाने तेलको मूल्य सस्तिएको छ । चाडबाडमा अधिक उपभोग हुने वस्तु मध्ये तेल पनि एक हो । तेलको मूल्य अघिल्लो सस्तिएपछि उपभोक्तालाई राहत पुगेको छ । तर बजारमा गुणस्तरीय घ्युको अभाव छ । विशेष गरी दुग्ध विकास संस्थानले उत्पादन गर्दै आएको घ्यु बजारमा छैन । निजी डेरी उद्योगले उत्पादन गरेको घ्युले बजारको माग धान्न नसक्दा भारतबाट आयात भएको विभिन्न ब्राण्डका घ्यु खरिद गर्न उपभोक्ता बाध्य भएका छन् ।
सरकारले तेलको कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने निर्णयको सकारात्मक असर उपभोक्ता मूल्यमा देखिएको हो । सरकारले लगाउँदै आएको भन्सार महसुल घटाउने निर्णयसँगै विश्व बजारमा तेलको कच्चा पदार्थको मूल्यमा भारी गिरावट आएका कारण पनि नेपाली बजारमा तेलको भाउ सस्तिएको हो ।
जेठ–असार महिनामा खाने तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । त्यसबेला प्रति १० लिटर सोयाविन तेलको फ्याक्ट्री मूल्य २५०० रुपैयाँ र उपभोक्ता मूल्य ३३० रुपैयाँभन्दा बढी पुगेको थियो । आइतबार सोयाविनको तेलको फ्याक्ट्री मूल्य प्रतिकार्टुन २१५० रुपैयाँमा कारोबार भइरहेको उद्योगी अभिनाश बोहराले जानकारी दिए । बजारमा सोयाविन तेल प्रतिलिटर २६० रुपैयाँमा कारोबार भएको थियो ।
बजारमा अधिक खपत रहेको सूर्यमुखी तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । उच्च मूल्य वृद्धि हुँदा सूर्यमुखी तेलको प्रति दश लिटरको फ्याक्ट्री मूल्य ३३०० रुपैयाँ र खुद्रामूल्य प्रतिलिटर ४०० रुपैयाँसम्म पुगेको थियो । फ्याक्ट्रीबाट प्रति १० लिटर २८०० रुपैयाँमा बिक्री भइरहेको उद्योगी बोहराले जानकारी दिनुभयो । खुद्रा बजारमा सूर्यमुखी तेल आइतबार प्रतिलिटर ३०० रुपैयाँ हाराहारीमा कारोबार भएको थियो ।
तेलको मूल्य झर्नुमा सरकारले पछिल्लो समय भन्सार छुट दिने गरी गरेको निर्णय र विश्व बजारमा कच्चा पदार्थको सहज भई मूल्यमा गिरावट आउनुले महत्वपूर्ण भूमिका खेलेको विराटनगरका उद्योगी नन्दकिशोर राठीले जानकारी दिए । ‘युक्रेन–रुस युद्धले गर्दा प्रतिटन ११०० डलरमा पाइने भटमासको मूल्य बढेर १८०० डलर पुगेको थियो, त्यसले गर्दा तेलको भाउ झण्डै दोब्बरले बढ्न पुग्यो,’ उद्योगी राठीले भने ‘आइतबार सोयाको मूल्य १३५० डलरमा झरेको छ, यस अवधिमा प्रतिटन करिव ५०० डलरले मूल्य घटेकोले त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।’
रुस युक्रेन युद्धको बेला युक्रेनबाट सूर्यमुखी र सोयाबिन बाहिरन नसक्दा ब्राजिल र मलेसियामा बढी चाप परेको थियो । बजारमा माग र आपूर्तिको सन्तुलन विथोलिएपछि मूल्य अचाक्ली बढ्न पुगेको थियो । अहिले युक्रेनबाट बेलारुस हुँदै भटमास र सोयाविनको निर्यात खुलेको छ । जसले बजारमा तेलको मूल्य घटाउन सहयोग पुगेको छ ।
सरकारले भन्सारमा छुट गर्ने निर्णय गर्नुअघि सनफ्लावर तेल प्रति १० लिटरको मूल्य २९०० हाराहारीमा रहेको थियो । उक्त निर्णयपछि मूल्य २८०० मा झरेको हो । तेलको मूल्य अझै केही समय निरन्तर झर्दै जाने विराटनगरका उद्योगीहरुले बताएका छन् । ‘तीन महिना अघिको अर्डर अहिले उद्योगमा चलिरहेको छ, सरकारले भन्सार घटाउने निर्णयपछि अर्डर गरेको वस्तु दुई सातापछि आइपुग्छ त्यसपछि बजारमा तेलको मूल्य अझ घट्छ,’ उद्योगी बोहराले भने ।
यसैगरी बजारमा तोरी तेलको मूल्य पनि घटेको छ । युक्रेनबाट तोरी पर्याप्त ननिस्किँदा विश्व बजारमा तोरीको मूल्य घटेको छैन । तर भन्सार महसुल घट्दा तोरी तेल प्रति १० लिटर २९०० रुपैयाँमा उद्योगहरुले बिक्री गरिरहेका छन् । उपभोक्ता मूल्य प्रतिलिटर ३१० रुपैयाँमा झरेको छ । तोरी तेलको मूल्य प्रतिलिटर ४०० रुपैयाँ भन्दा बढी पुगेको थियो । उद्योगीले तेलको मूल्य दैनिक घटबढ गरे पनि खुद्रा बजारमा भने मूल्य समायोजन हुने गरेको छैन । प्रभावकारी बजार अनुगमनको अभावमा व्यापारीहरुले बढी मूल्य लिएर उपभोक्तालाई बिक्री गर्ने गरेका छन् ।
पनिर र घ्यू
बजारमा घ्यू र पनिरको अभाव भएको छ । विशेष गरेर प्रदेश १ को राजधानी विराटनगर र आसपासको बजारमा घ्यू र पनिरको आपूर्ति गर्दै आएको दुग्ध विकास संस्थानले बजारमा माग अनुसार ती वस्तुको आपूर्ति गर्न नसक्दा अभाव देखिएको हो । डिडिसीकै कारण एकातिर बजारमा अभाव भएको छ भने अर्कोतिर उपभोक्ता गुणस्तरहीन वस्तु उपभोग गर्न बाध्य भएका छन् । चार वर्षअघि दैनिक ४० हजार लिटर दूध संकलन गरेर दुग्धजन्य उत्पादनहरु बजारमा पु¥याउँदै आएको डिडिसीले अहिले मुस्किलले दैनिक ८ हजार लिटर दूध संकलन गरिरहेको छ । त्यसको असर उसले उत्पादन गर्ने घ्यू, पनिर जस्ता वस्तुमा परेको छ ।
दसैंजस्तो नेपालीहरुको महान पर्वमा दुग्धजन्य वस्तुको माग बढी हुन्छ । शाकाहारी भोजन गर्नेहरुले चाडबाडमा दूध, दही, घ्यू, पनिर, चिज जस्ता वस्तु बढी उपभोग गर्छन् । तर यस पटक डिडिसीसँग दूध नभएपछि निजी उद्योगको उत्पादनमा निर्भरता बढेको छ । निजी उद्योगहरुले पनि माग अनुसार पनिर, घ्यू आदिको उत्पादन गर्न नसक्दा बजारमा अभाव छ । डिडिसीले बजारको माग पूरा गर्न नसक्ने अवस्थामा मात्र छैन लामो समयपछि पनिरको उत्पादन बन्द गरेको छ । बजारमा तीन महिनादेखि घ्यू पठाउन सकेको छैन ।
दूध उत्पादनमा आत्मनिर्भर प्रदेश भएकै कारण बढी भएको दूधबाट पाउडर उत्पादन गर्ने पाउडर प्लान्ट विराटनगर आयोजनामै छ । तर पाउडर प्लान्ट सञ्चालन नभएको पनि पाँच महिना भइसकेको छ । ‘हामीसँगै काँचो दूधकै अभाव छ अनि पाउडर प्लान्ट कसरी चलाउन सकिन्छ र,’ विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले भने ‘पाउडर प्लान्ट चलाउन चाहिने दूध हामीसँग छैन त्यसैले पाँच महिनादेखि प्लान्ट चलाएका छैनौं ।’ दुई वर्ष अघिसम्म पाउडर दूध र बटर स्टक गर्ने ठाउँको अभाव व्यहोरेको डिडिसीले अहिले निजी उद्योगबाट पाउडर र बटर खरिद गरेर आफ्नो बजार धानिरहेको छ । डिडिसीले दूधको बजार विस्तार गर्न ह्वाइट मिल्क, फ्रेस मिल्क, रसभरी, लालमोहन, पेडा आदि वस्तु उत्पादन गर्दै आएकोमा अहिले ती अधिकांश वस्तुको उत्पादन बन्द गरेको छ । जसले बजारमा विश्वसनीय र गुणस्तरीय वस्तुको अभाव छ ।