विराटनगर । असार १ गतेदेखि बन्द भएको नदीजन्य वस्तुको उत्खनन्न असोज लाग्दा पनि नखुलेपछि ढुंगा टिपेर जीवन चलाउने विपन्न परिवारको दसैं प्रभावित भएको भन्दै केराबारी गाउँपालिकाले सात दिनका लागि ढुंगा संकलन खुला गरेको छ । यो अवधिमा स्थानीयले टिपेर संकलन गरेको ढुंगा गाउँपालिकाले शनिबारबाट निकासी खुला गरेको छ । यो क्रम एकसातासम्म चलने छ ।
गाउँपालिकाले स्थानीय सरोकारवालासँग छलफल गरेर असोज ३ गतेदेखि खदम खोलामा ढुंगा टिप्ने अनुमति दिएको हो । त्यसयता खोलामा ढुंगा टिप्नेहरु सक्रिय छन् । उनीहरुले संकलन गरेको ढुंगा असोज १५ गतेसम्म निकासी गर्ने गाउँपालिकाले जनाएको छ ।
‘विपन्न वर्गमा मानिस जो खोलामा ढुंगा टिपेर गुजारा गर्छन् उनीहरुले दसैंनै मनाउन नपाउने भए, उनीहरुको आयआर्जन बन्द भयो भन्ने गुनासो आएपछि हामीले सात दिनका लागि ढुंगा टिप्न खुला गरेका हौं,’ गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले भने ‘अबको ७ दिनपछि ठेक्का नलागेसम्मका लागि खोलाबाट ढुंगा वा गिटी बालुवा उत्खनन् र संकलन पूर्णरुपमा बन्द हुन्छ ।’
गाउँपालिकाले खोलामा ढुंगा खोजेर जीवन चलाउनेहरुले पनि दसैं मनाउन पाउन भन्ने उद्देश्यले सात दिन खोलामा पस्ने अनुमति दिएको देखिन्छ । व्यवहारिक र मानवीय दृष्टिले गाउँपालिकाको निर्णय गलत छैन । तर, त्यसै बहानामा खोलाबाट नदीजन्य पदार्थको चोरी तस्करी ह्वात्तै बढेको छ । असोज ३ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोलाबाट ढुंगा संकलन गर्ने अनुमति दिएको खदम खोलामा सोही दिन राति ११ बजेदेखि खुलेआम गिटी बालुवाको चोरी हुन थालेको स्थानीयले बताएका छन् ।
असोज ३ गते रातिदेखि यता हरेक दिन खोलाबाट दर्जनौं टिपरले ढुंगागिटी चोरेर लैजाने गरेको भएपनि अनुगमन र नियन्त्रण गर्नेसमेतको जिम्मेवारी भएको केराबारी गाउँपालिकाले त्यसमा ध्यान दिएको छैन । गाउँपालिकाका अध्यक्ष मगरले खोलाबाट पूर्णरुपमा चोरी नियन्त्रण गर्न नसकिएको स्वीकारेका छन् । ‘खोलाको डिलका निजी जग्गाबाट उत्खनन् गरेर रातिराति लैजाने घटनाहरु भएका छन्, तर त्यसलाई कतिपय बेलामा म आफैं पुगेर नियन्त्रणमा लिएको छु,’ अध्यक्ष मगरले भने ‘अहिले राति १ बजेदेखि बिहान ४ बजेको बीचमा खोलाबाट ढुंगागिटी चोरी हुने गरेको मैलेपनि सुनेको छु तर त्यो विगतको तुलनामा निकै कम छ, अझभनौं राति हुने चोरीको घटनामा ६० प्रतिशत कमि आएको छ ।’ असार र साउन महिनामा चोरी पूर्ण रुपमा रोकिएको तर भदौ लागेपछि छिटपुट रुपमा चोरीका घटना भएको सुनिएको उनले बताए ।
प्रहरी चौकी केराबारीले हल्ला भएजस्तो ढुंगागिटी चोरी नभएको दाबी गरेको छ । प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक उत्तरकुमार श्रेष्ठले भने ‘बाहिर हल्ला भएजसरी खोला चोरी भएको छैन, यहाँ प्रहरीको संख्या थोरै छ, १० जना प्रहरीले एकनासै खोलाहरु कुरेर बस्न पनि सक्दैन, हामी नभएको समयमा चोरी भएको रहेछ भने जानकारी भएन नत्र त्यसरी चोरी भएको छैन ।’
चुरे संरक्षण र वातावरणका विषयमा निरन्तर अभियान चलाउँदै आएका केराबारीका बलबहादुर भुजेलले खोलाबाट ढुंगागिटीको चोरी नरोकिएको बताएका छन् । ‘खोलामा चोरी अहिलेमात्र होइन सँधै भइनैरहेको छ । प्रहरी प्रशासनसँगको मिलेमतोमा चोरी हुने गरेको छ र थोरबहुत अहिलेपनि भइरहेको छ । दुईचार दिन यता पुल बनाउँदा थुप्रिएको गिटीढुंगा लैजान नगरपालिकाले दिएको पनि छ ।’
खोला ठेक्का लगाउन प्रारम्भिक वातावरणीय परीक्षण गर्दै
स्थानीय तहको निर्वाचनमा मतदातासमक्ष जाँदैगर्दा वर्तमान अध्यक्ष मगरले खोला नखन्ने प्रतिज्ञा गरेका थिए । वितेको पाँच वर्षमा खदम खोला अरु खोलहरुको अत्यधिक दोहन भएको थियो । खोला दोहनको विपक्षमा रहेको जनमतलाई आफूतिर तान्न त्यस्तो प्रतिज्ञा गरेको भएपनि अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाले खोला उत्खनन् गर्ने उद्देश्यले सार्वजनिक सूचना प्रकाशित गरेर प्रारम्भिक वातवरणीय परीक्षण गर्न परामर्शदाता नियुक्त गरी सातदिन भित्र सुझाव माग गरेको थियो । सुझाव संकलन गर्ने ७ दिने म्याद शुक्रबार सकिएको छ ।
गाउँपालिकाले असोज १ गते ‘केराबारी गाउँपालिका क्षेत्रभित्रका बुढी खोला, मुगु खोला, हुरहुरे खोला, खदम खोला, हचुवा खोला, भलुवा–लोहन्द्रा खोला, र तुर्क–विराजे खोला बगरबाट दिगो रुपमा ढुंगा, गिटी र बालुवा संकलन तथा उत्खनन् गर्ने प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण गर्नेसम्बन्धी सार्वजनिक सूचना’ प्रकाशित गरेको हो ।
यसका लागि काठमाण्डौको अनामनगरस्थित सार्प रिसर्च सेन्टर प्रा.लि.लाई परामर्शदाताको रुपमा खरिद गरेको छ । खोला उत्खनन बाट सो क्षेत्रको जैविक तथा परिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र साँस्कृतिक प्रणालीहरुबीच सकारात्मक वा नकारात्मक प्रभाव पर्ने नपर्ने बारे सम्बन्धित वडा, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थालाई सुझाव दिन भनिएको छ ।
केराबारी गाउँपालिकाले विगत वर्षमा खदम लगायतका खोलाहरु ठेक्का लगाएर ११ करोड रुपैयाँसम्म आर्जन गरेको थियो । गत वर्ष अमानतमा ढुंगागिटी बिक्री गर्दा गाउँपालिकाले न्यूनमात्र आर्जन गरेको थियो । यो वातावरणीय परीक्षणबाट उत्खनन् गर्न मिल्ने देखिएमा ढिलोमा चार महिनाभित्र खोला ठेक्का लाग्ने छ ।