विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वृद्धा महिलाको हत्या आरोपमा धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई धारनमा बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र भोक्राहा नर्सिङ गाउँपालिका २० वर्षीय रन्जित कुमार साह पक्राउ परेका हुन् । पक्राउ परेका प्रतिवादीहरूलाई सुनसरी प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट वृद्धा महिलाले लगाएको सुन लुट्ने नियतले धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । वृद्धा महिलाको हत्या निखिलले गरेका प्रहरीले जनाएको छ । निखिल लागू औषध प्रयोगकर्ता हुन् ।

२९ भदौमा वृद्धा महिलाको हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । हत्या गरेको पाँच दिन पछि प्रहरीले घटनामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
राईलाई प्रहरीले विराटनगर १५ रानी एरियाबाट पक्राउ गरेको जनाएको छ । ‘सुन लुट्न वृद्धा महिलाको हत्या गरेको पक्राउ परेका राईले स्वीकार गरेका छन्,’ एसपी ढकालले भने, ‘भदौ २८ गते ३ बजे वृद्धा महिलाको हत्या गरेपछि घरभित्र लगेर ढोका बन्द गरेर गरगहना लुटी खुकुरी पकुवा जङ्गलमा लुकाए । त्यसपछि बराहा ४ स्थित गोविन्द अधिकारीको साइकल चोरेर भारतको चैनपुर लागे । त्यहाँ तीन दिन बसेर जोगवनि नाकामा आएर लुकीछिपी बसेको पाइएपछि पक्राउ गरिएको हो । वृद्धा महिला घरमा एक्लै घरमा बस्दै आएको राईले जानकारी पाएका थिए । एक हप्ता अगाडिदेखि हत्या गर्ने र वृद्धा महिलाले लगाएको सुन लुट्ने योजना बनाएको खुलेको छ ।’
राईले एक हप्ता अगाडी नै वृद्धा महिलाको हत्या गर्ने मनसाय राखेर गएका थिए । ‘बिना हातहतियार गएको कारणले त्यस बेला महिलालाई हत्या गर्ने राईले आट गरेनन् । दोस्रो पटक छिमेकीको खुकुरी चोरेर हत्या गर्न सफल भए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पकुवा खोलाको जङ्गलमा लुकाएको अवस्थामा बरामद गरेको छ ।

वृद्धा महिलाको हत्या गरेपछि लुटेको ७.२७० ग्राम सुन पनि बरामद भएको एसपी ढकालले बताए । चोरी गरेको साइकल पनि प्रहरीले रन्जित कुमार साहको घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको छ । राईले हत्या गरी लुटेको गरगहना लुकाउने साहले भूमिका खलेको देखिएको छ । त्यही भएर प्रहरीले साहलाई पनि पक्राउ हो । राईले हत्या गरेपछि साहको घरमा पुगेका थिए । मध्य राती साहको घरमा पुगेका राईलाई साहले लागू औषध सेवन गराए र लट्ठ बनाए । त्यसपछि राईले लुटेर ल्याएको सुनको गरगहना चोरेर राखे । त्यसपछि साहले थप एक जनाले राईलाई जागिरको लागि भारत पढाएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
हत्याको मुख्य अभियुक्त राई रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धरानमा सानैदेखि बाबु आमाले हेरचाह नगरेकाले आफन्तकोमा उनी बस्दै आएका थिए । उनी लागु औषध सेवन गर्ने र गाउँ घरमा सानो तिनो चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।