विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा आइतबारदेखि आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु भएको हो ।
अभियान अन्तर्गत आज बिहान विराटनगरको रोडशेषचोकबाट वृहत् ¥याली निकालेको छ । रोड शेष चोकबाट निस्किएको ¥यालीले ट्राफिक चोक हुँदै जैन भवनमा पुगेको छ । जैन भवनमा औपचारिक कार्यक्रम भएपछि अभियानको औपचारिक रूपमा शुभारम्भ हुनेछ । ¥यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरी, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेलगायतका सुरक्षा निकायका प्रमुख तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहभागिता रहेको छ ।
आफूलाई माया गरौँ, अमूल्य जीवन खेर नफालौँ, साहसी हुनुहोस्, बाँचुनहोस र आफ्नो समस्या समाधान गर्नुहोस्, आत्महत्या गर्नु पाप हो लगायतको प्ले काट बोकेर ¥यालीमा सहभागी भएका थिए ।

प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले प्रदेश सरकारको सहयोगमा समुदायलाई लक्षित गरेर आत्महत्याविरुद्धको अभियान सुरु भएको बताए । प्रदेशमा आत्महत्याको अवस्था विकराल एवं भयावह बनेर गएकोले यसको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान सुरु भएको बताए । ‘बेलैदेखि रोकथाम एवं नियन्त्रणमा चासो नदिए अवस्था थप असामान्य बनेर जाने देखिन्छ,’ उनले भने, ‘अभियान सञ्चालन गर्दै आत्महत्या गर्न हुँदैन र अमूल्य जीवनको सदुपयोग गर्नुपर्छ भन्ने सन्देश समुदायमा प्रवाह गर्ने योजना छ । आत्महत्यालाई निरुत्साहित बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन जरुरी रहेको छ ।’
समुदाय–प्रहरी साझेदारीलगायत प्रहरीका अन्य काम कारबाही र गतिविधिलाई पनि अभियानसँग जोडेर आत्महत्याविरुद्धका कार्यक्रमहरूलाई तीव्र रूपमा सञ्चालन गरिने डिआइजी गिरीको भनाइ छ ।


