शनिबार बिहानै एउटा ज्यादै हृदयविदारक खबरले देशबासीलाई अत्यायो । सुदुरपश्चिमको अछामका विभिन्न ४ ठाउँमा शुक्रबार राति पहिरो जाँदा भएको ठूलो मानवीय क्षति दुःखद् छ । २१ जनाको मृत्यु भइसकेको र थप धेरै जना बेपत्ता छन् । तीमध्ये कति जीवितै भेटिएलान् टुंगो छैन । लगातार भइरहेको झरीले निम्त्याएको पहिरोले सुदुरपश्चिममा जुन मानवीय र भौतिक क्षति भएको छ, त्यस्तै जोखिम सुदुर पूर्वको प्रदेश १ मा पनि उत्तिकै छ । पहाडै–पहाडको देश नेपाल यसै पनि पहिरोको उच्च जोखिम क्षेत्रमै पर्छ । पछिल्लो समयमा मनसुन सक्रिय रहेका कारण पहिरो र बाढीको जोखिम झनै बढेको छ ।

प्रदेश १ का अधिकांश पहाडी जिल्लामा पहिरोको जोखिम कायमै छ । पहिरोमा परेर ज्यान गुमाउने नागरिकको संख्या नेपालमा हरेक वर्ष बढ्नु चिन्ताको विषय हो । यसबाट कम्तीमा ठूलो मानवीय क्षति जोगाउन पूर्व सतर्कता जरुरी हुन्छ । स्थानीय, प्रदेश र संघ सरकारले हातेमालो गरेर, विपद् न्यूनीकरणमा लागिरहेका संस्थाहरु परिचालन गरेर जोखिम कम गर्ने उपायको खोजी जरुरी छ । तर, यसबारे जतिसुकै छलफल र बहस भए पनि यो नियमित आकस्मिकता जस्तै भइसकेको छ । पहिरो आउँछ भन्ने निश्चित छ तर कहिले भन्ने मात्रै टुंगो नहुने हो । यसर्थ जोखिम क्षेत्रमा सतर्कता एक मात्र विकल्प हो ।

हाम्रा कति ठाउँ वा जिल्लाहरु जोखिममा छन् ? राज्यले यसबारे पर्याप्त अनुसन्धान गरिसकेको छ । तर, सो अनुसन्धान अनुसार जोखिम क्षेत्रका बासिन्दालाई बेलैमा सुरक्षित ठाउँमा सार्ने, उनीहरुका चौपाया, अन्य सम्पत्तिहरुको सुरक्षा गर्ने उपाय अवलम्बनमा चरम ढिलाइ भइरहेको छ । पहिरोको जोखिममा परेर सिवस्थापनमा पर्ने नागरिकलाई वैकल्पिक बसोबासको प्रबन्ध गर्न पनि उत्तिकै तदारुकता देखाइनुपर्छ । अन्यथा यस्तै पहिरोको चपेटामा उनीहरु परिरहने अनि राज्यले विज्ञप्ति प्रकाशन गरेर ‘दुःख प्रकट गरिरहने’ छ । राज्यको काम केवल दुःख प्रकट गर्ने होइन, आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्ने हो । यसमा राज्य बारम्बार चुकिरहेको छ । धेरैपटक दोहोर्याइएको छ, प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन । जो कोही यसको शिकार हुन सक्छन् । प्राकृतिक प्रकोप मानिसको नियन्त्रणभन्दा बाहिरको विषय हो । मानिसले प्रकृतिसँग पौंठेजोरी खेलेर आफ्नो बसमा ल्याउन सक्ने सामथ्र्य अहिलेसम्म हासिल गर्न सकेको छैन ।

बरु, प्रकृतिसँग मिलेर बस्न सकेमा नै मानिसलाई आइलाग्ने जोखिम एवं विपद् कम गराउन सकिन्छ । नेपालको भिरालो भूगोल, कमजोर भूबनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारणहरु क्षतिका कारकहरु हुन् । अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्यहरु, वनजंगलको विनास, जनचेतनाको कमी आदि मानवीय कारणहरु समेतले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजारसमेत हरेक बर्ष बाढी र पहिरोको चपेटामा परी सयौंको ज्यान जाने र अरबौंको भौतिक पूर्वाधार तथा सम्पत्तिको क्षति हुँदै आएको छ ।

सबैभन्दा पहिलो कुरा राज्यले प्राकृतिक स्रोतको मनपरी दोहन रोक्नुपर्छ । विकासका नाममा हुने विनाशमा ब्रेक लगाउनुपर्छ । यस्तो भयावह परिस्थितिलाई मनन गर्दै मुलुकको महत्वपूर्ण जलाधार क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धन गरी बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पु¥याउन एवं जलाधार क्षेत्रहरुको वैज्ञानिक व्यवस्थापनबाट भू–क्षय कम गर्ने उपायको खोजी जरुरी छ । मूलतः पहाडी जिल्लाहरुको समस्याको रुपमा रहेको पहिरोबाट सर्वसाधारण जोगाउन दीर्घकालीन योजनाको आवश्यकता छ ।