विराटनगर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया पर्व सुरु गरेका छन् ।
सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्। यसअघि २०७६ सालमा खर जितिया परेको थियो ।
खर जितियामा नयाँ विवाहिता महिलाहरुले जितियाको सुरुआतसमेत गरेको थारु संस्कृतिविद् भुलाई चौधरीले बताए।
पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा धुमधामका साथ जितिया पर्व मनाउने गरिएको छ । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने(नाँचरगान) गर्ने चलन छ ।
जितियाको पहिलो दिन लाई लहाइ अर्थात नुहाए खाने दिन (शनिबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् ।
पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।
जितियाको अन्तिम तथा पारन ( समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।

