बिराटनगर महानगरको सय दिन, निरासा नै धेरै

 विक्रम लुईटेल

यतिखेर धमाधम स्थानीय सरकारहरुले सय दिनसँग जोडेर आफ्ना कार्यप्रगतिहरु प्रस्तुत गरिरहेका छन् । काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर जस्ता महानगरले योबीचमा कुनै न कुनै रुपमा सकारात्मक सन्देश प्रवाहित गरे । तर, देशकै पुरानो र ठूलो शहरको रुपबाट परिचित विराटनगरले सय दिनमा कुनै सकारात्मक सन्देश प्रवाहित गर्न सकेन । हामीकहाँ सय दिनलाई हनिमुन पिरियड भन्ने चलन छ । त्यति समय आलोचना नगर्ने भन्ने बुझाइ पनि छ । तर, यहाँ सय दिन पनि पर्खनु परेन । आलोचना सुरु भयो ।

काठमाडौँ, ललितपुर, पोखरा र भरतपुरले के–के सन्देश प्रवाहित गरे भन्ने कुरा भनिरहनु पर्दैन । युवा मेयर बालेन शाहले फोहोरदेखि अव्यवस्थित घर भत्काउने अभियान सुरु गरे । उता, वयोबृद्ध मेयर चिरिबाबु महर्जनले सुशासनको सन्देश दिए । प्रचण्डपुत्री रेणु दाहालको जतिसुकै आलोचना गरेपनि उनले सेवाग्राहीलाई दिने सेवामा अपनाएको फायल अरुले नै बोकेर सहयोग गर्ने सुशासनको मोडल चर्चित भयो । उता पोखराका मेयरले पनि सडक अभियानलाई सुरु गरे ।

तर, विराटनगरमा जेजस्ता चुनावी नाराहरु घन्किए, त्यो जस्तो काम हुन् सकेन र सुरुवाती पनि राम्रो देखिएन । बजेट पुस्तिका बजेट पास भएको लामो समय पछाडि सार्वजनिक भएसँगै महानगरपालिकाले बजेट बनाउँदा जथाभावी रुपमा नेताका संस्थालाई रकम वितरण गर्ने, विराटनगर बाहिरका योजनालाई नगरस्तरीय भनेर राख्ने काम गरेको सार्वजनिक भयो । श्वेतपत्र जस्तो विषयलाई कांग्रेसभित्रको विवादको कागज बनाइयो । आगामी नीति के हुने भन्ने कुनै ठोस निष्कर्ष आएन । निर्वाचनमा जनप्रतिनिधिहरुले सेवा सुविधाका नाममा गरेका वाचाहरु तोडिए । अनावश्यक भर्तीकेन्द्र भनेर उनीहरुले नै प्रचार गरेका विषयलाई निरन्तरता दिइयो । चोर बाटोबाट स्वयंसेवकको नाममा कर्मचारी नियुक्ति गर्ने प्रपञ्च सुरु भयो । हुँदाहुँदा सचिवालयका लागि अनावश्यक भत्ता दिने र चार वटा बैठकको भत्ता जनप्रतिनिधिलाई दिने जस्तो विवादित निर्णय भए ।

कर्मचारी सरुवाको कुनै मापदण्ड बनेन । तर, कर्मचारीहरु सरुवा भइरहे । करका नाममा अपारदर्शी ढंगले कर घटाइयो । यसरी हेर्दा विराटनगरले आम नागरिकलाई न सुशासनको सन्देश दिन सक्यो न विकासको सुरुवातीको सन्देश ।

निर्वाचित हुनेवित्तिकै केही नाला सफाइका काम सुरु भएका थिए । यसो हेर्दा गति लिन्छ कि जस्तो भएको थियो । तर, ती कामले निरन्तरता पाएनन् । वास्तवमा जनप्रतिनिधिले जुन हिसावले काम गर्नुपथ्र्यो, त्यो हुन सकेन । आज सय दिनमै जिब्रो टोकेर ट्वाल्ल पर्नुपर्ने स्थिति सिर्जना भयो । चुनाव जितेपछि बहुमतवालाहरु पनि बेलगाम घोडाजस्तै देखिन थालेका छन् । हुन त अहिले बजेट कार्यान्वयनको चरणमा जाँदै छ । यो कार्यान्वयनमा गएसँगै दक्षता, क्षमता र योग्यताहरुमाथि निरन्तर प्रश्न उठ्नेछन् ।

समयमै आम मानिसका सुझाव ग्रहण गर्ने, करका नाममा कर तिर्न पछि हट्नेहरुलाई भेला गरेर राजस्व उठ्दैन । समाजका अरु क्षेत्रका पनि सहयोग र सद्भाव आवश्यक छ । यी सबै विषयलाई सय दिनको समिक्षा गरेर नतिजा चाहीँ प्राप्त गर्नेतर्फ महानगरपालिका अघि बढ्नुपर्छ । पूर्वाग्रहयुक्त सोचबाट कहिँ पनि पुग्न सकिदैँन् ।

शुक्रबार, ३१ भदौ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर