विराटनगर । भारतबाट आयात हुने अकबरे खुर्सानीका कारण नेपालमा उत्पादित अकबरेले बजार नपाउँने समस्या देखिएको छ । भारतबाट सस्तोमा अकबरे खुर्सानी आउँदा पूर्वी नेपालमा उत्पादन भएको अकबरे खुर्सानीले बजार नपाएको र विगतमा अचार उद्योगहरुले खरिद गर्दै आएको अकबरे भारतीय उत्पादनको प्रवेश बढेसँगै उद्योगले पनि खरिद नगर्ने अवस्था आएको हो ।
भारतबाट आयात भएको अकबरे नेपाली अकबरेमा मिसाएर बजारमा लैजाने प्रवृत्ति बढेको भन्दै उद्योगीहरुले अकबरेको गुणस्तरमा प्रश्न उठेको गुनासो गरेका छन् । नेपाली अकबरे खुर्सानीप्रतिको जनविश्वास पछिल्लो समयमा खस्किदै गएकोमा उनीहरु चिन्तासमेत व्यक्त गरिरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ ले आयोजना गरेको अकबरे खुर्सानी र छुर्पी उत्पादक किसान र प्रशोधनकर्ताबीचको छलफल कार्यक्रममा किसान र प्रशोधनकर्ताहरुले उत्पादन र गुणस्तरको विषयलाई महत्वका साथ उठाएका थिए ।
नमुना कलेक्सन अचार उद्योग संचालक कमला बाँस्कोटा रिजालले अकबरे खुसार्नीको बजारीकरणमा समस्या रहेको भन्दै यसपटक खुर्सानी किन्न सक्ने अवस्था नरहेको बताइन् । उनले भारतबाट आएको खुर्सानीले नेपाली उत्पादनले बजार नै नपाउने अवस्था आएको बताइन् । आफूसँग खुर्सानीको पुरानो स्टक पर्याप्त रहेकोले यस पटक खरिद गर्ने अवस्था नभएको बताइन् ।
नामसालिङका अकबरे खुर्सानी उत्पादक किसान रमेशचन्द्र सुवेदीले अकबरेमा रोगको समस्या बढी देखिएको र समयमै रोकथाम तथा नियन्त्रण गर्न नसक्दा गुणस्तर कायम राख्न गाह्रो पर्ने गरेको बताए । उनले सरकारले रोग उपचारका लागि प्राविधिकहरु सहज उपलब्ध गराउने तर्फ पहल गर्नुपर्ने पनि बताए ।
छुर्पी र अकबरे उत्पादक किसानहरुसँग इलाममा आयोजना गरेको छलफल कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका सदस्य श्री विष्टले अकबरे, छुर्पी र घ्यूको व्यापारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको र त्यसबाट वर्षेनी बजार गुम्दै गएको बताए । पाँचथरको राँके क्षेत्रबाट चाउचाउ उद्योगहरुले गतवर्ष ठूलो मात्रामा अकबरे खुर्सानीको माग गरेकोमा गुणस्तर कायम गर्न नसक्दा यो वर्ष करोडौंको ब्यापार गुमेको उनले बताए । स्थानीयले भारतबाट आयात हुने विकासे अकबरेलाई स्थानीय उत्पादन रैथानेसँग मिसाएर बिक्री गर्दा गुणस्तरमा ह्रास आएको र रैजाने खुर्सानीले बजार नपाउने समस्या उत्पन्न भएको दाबी गरे ।
छलफलका क्रममा किसानहरुले छुर्पीमा ढुसीको समस्या बढेकोप्रति किसानहरुले चिन्ता गरेका थिए । फालेलुङ चौरी कृषक समूहका टिका नेपालले चौरीको छुर्पीमा ढुसीले समस्या पारेको, छुर्पीको गुणस्तर कायम गर्न तालिमको आवश्यकता रहेको बताए । लक्की डेरी उद्योग बौधधामका संचालक तुलु तामाङले दुग्ध परिकारमा मिसावट बढेकाले अनुगमन गर्न माग गरे ।
नवरत्न डेरी उद्योग तथा पशुपालन केन्द्रका अध्यक्ष धनपति दुलालले दुग्धजन्य उत्पादनको गुणस्तरमा ध्यान दिएर उत्पादन गरिरहेको तर छुर्पीमा ढुसीले समस्या पारेको बताए । उत्पादनको गुणस्तर प्रमाणित गर्न समेत समस्या भएको भन्दै उनले गुणस्तर प्रमाणीकरणमा विभागले समयमै उद्योग अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने माग पनि गरे । पटक पटक उत्पादनको नमूना बोकेर विराटनगर जानुपर्ने झन्झटबाट किसानलाई मुक्त राख्ने व्यवस्था मिलाउन खाद्यप्रविधितथा गुण नियन्त्रण विभाग महानिर्देशक डा। मतिनाजोशी वैद्यलाई अनुरोध गरे ।कार्यक्रममा विभागका महानिर्देशक डा। मतिनाजोशी वैद्यले छुर्पी र अकबरे खुर्सानी गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरिन् ।
ग्रिन सिटी ललीपप इलामकी संचालक दीपा गुरुङले आयात गरिएका डेरी चकलेट, क्याटवरी महीनौसम्म खान योग्य हुने तर स्थानीय उत्पादनहरु त्यति समय राखेर खान नहुने कारण बुझ्न नसकेको भन्दै त्यस विषयमा छुट्टै व्यवस्था गर्नुपर्ने बताइन् ।
कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका महासचिव हेमन्तगौतम र सूर्योदयनगर उद्योग वाणिज्य संघका महासचिव तोया भट्टराईले छुर्पी र अकबरे खुसार्नीका व्यवसायीहरुले भोग्नु परेको समस्यालाई सम्बन्धित निकायमा पु¥याएर समाधानमा पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

