स्नेहा खरेल
मानव जीवन र प्रकृतिबीच एक छुट्टै किसिमको तालमेल रहेको छ । हामीले हाम्रो जीवन र प्रकृतिलाई धेरै किसिमबाट जोड्न सक्छौं । प्रकृतिले हामीलाई धेरै राम्रा–राम्रा पाठ सिकाइरहेको हुन्छ । तर, हामीले कतिपय त्यस्ता पाठलाई चिन्न सकेका हुँदैनौं । प्रकृतिले मान्छेलाई सिकाउने त्यस्ता पाठ हरेक ठाउँमा छरिएर रहेका छन् । जरुरत छ त केवल प्रकृतिले चाहिरहेका पाठलाई नजिकबाट नियाल्न, चिन्न र मनन् गर्न ।
उदाहरणको लागि हाम्रै प्रकृतिमा पाइने पुतलीको कुरा गरौं । रसिला फूलमा डुलेर त्यसको रस चुस्ने रंगीन पुतली हेर्दा जति सुन्दर देखिन्छ त्यति नै सुन्दर त्यसले हामीलाई सिकाउने पाठ पनि रहेको छ । पुतलीको जीवन चक्रमा धेरै चरण (स्टेज) हुन्छन् । तीमध्ये दुई स्टेज लार्भा र प्यूपाको कुरा गरौं । लार्भाको चरणमा रहेको पुतली एकदमै धेरै खन्चुवा हुन्छ । आफ्नो धेरैजसो समय उसले खाएर नै बिताउँछ । झारपात फलफूल उसले आफ्नो छेउछाउमा भेटिने सबै कुरा खान्छ । त्यसपछि त्यो लार्भा प्यूपाको रुपमा विकसित हुन्छ । प्यूपाको स्टेजमा रहेको बेला उक्त लार्भाले कोकुनमा बन्द भएर बस्नुपर्ने हुन्छ । उ त्यहाँबाट बाहिर निस्किन र हलचल गर्न सक्दैन । त्यतिबेला उसले चाहेर पनि केही खान सक्दैन ।
यो सुन्दा एकदमै सरल छ तर, यसलाई मानव जीवनसँग जोडेर गहिराइबाट हेरौं । अहिले हामी (युवा पुस्ता ) यही लार्भा स्टेजमा छौं । हामीसँग जोस जाँगर र सिक्न सक्ने क्षमता भरिपूर्ण छ । सकारात्मक सोचेर र आँटेको भरमा संसार बदल्न सक्छौं । हाम्रोजस्तो अविकसित देशलाई अहिले हामी जस्तै युवाको खाँचो छ । हामीले हाम्रो ज्ञान, सीप सिकाइलाई अझै बृहत रुपमा प्रयोग गरेर केहि गर्ने बेला अहिले नै हो । अहिले हामीसँग इन्टरनेटदेखि हरेक कुरामा सजिलै पहुँच छ । हामीले चाह्यौं भने जस्तोसुकै परिवर्तन पनि गर्न सक्छौं । कहिले भएको यो जोस, जाँगर र नयाँ कुरा सिक्ने क्षमता सँधैंभरि एकनासको रहँदैन । हामीमा पनि शारीरिक, मानसिक विभिन्न प्रकारका परिवर्तन आउँछन् । यो एउटा प्राकृतिक नियम नैं हो । यसलाई हामी रोक्न वा छेक्न सक्दैनौं । केही वर्षपछि हामी पनि पुतलीजस्तै प्यूपा चरणमा जान्छौं । त्यतिबेला हामी चाहेर, गर्न खोज्दा खोज्दै पनि केही गर्न सक्दैनौं । त्यतिबेला हामीसँग अहिलेको जस्तो जोस, र तीखो दिमाग नहुन सक्छ । त्यतिबेला हामी शारीरिक र मानसिक रुपमा पनि अहिलेको जति सक्षम नहुन सक्छौं । त्यतिबेला आफ्नो र दुरावस्था र दुर्दशा हेरेर हरेस खान बाहेक हामी केही गर्न सक्दैनांै । समयमै केही नगरेको पछुतो हामीलाई सँधैभरि नै रहिरहन्छ । म आफ्नो उमेर समूहका अहिलेका युवा पुस्तालाई आग्रह गर्न चाहन्छु, ‘उठौं, सिकौं, खोजौँ यही नै हो गर्ने बेला । हामीमध्ये यदि एक जना उठेर हिम्मत गरेर केही ग¥यौं भने हजारौं युवा ठाउँठाउँबाट गाउँबाट निस्किने छन् ।
तसर्थ पुतलीले दिएको यो सुन्दर सन्देशलाई बेलैमा सबैले बुझौं । यो कुरा अहिलेका सबै युवा पुस्ताले बुझ्न जरुरी छ । सबैमा यो कुराको बोध हुनै पर्छ । अब यो हाम्रै हातमा छ, हामी लार्भा बनेर अहिलेको समय हामीभित्र भएको जोसजाँगर, तिखो दिमाग सदुपयोग गर्दै केही गर्ने वा अहिले केही नगरेर आफूले गर्न नसक्ने अवस्थामा पुगेपछि अहिले केही नगरेकोमा पछुतो गर्दै बस्ने ? भन्नुहोस् प्यूपा बन्ने कि लार्भा ?