डा. बालकृष्ण साह
मंसिर ४ मा हुने भनिएको आमनिर्वाचनमा प्रदेश र संघीय संसदका लागि दलका विभिन्न समिति, उपसमितिहरुले समानुपातिक र प्रत्यक्षका लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरिरहेका छन् । राजनीतिकमा ईच्छा राख्ने र पदका लागि संघर्ष गर्ने जमात अहिले ठूलो रहेको छ । सर्वसहमत, एकल सिफारिस निकै कम स्थानहरुमा मात्रै छन् । दुई कार्यकाल सभापति चलाइसकेको र प्रदेश १ मा नै सबैभन्दा बढी क्षेत्र विजय गराउन सफल अहिलेका प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, १४ औं अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिने शेखर कोइराला जस्ता सफल नेताहरुको नाम पनि एकल सिफारिस भएको छैन ।
जतिसके कम, सके एक महिला सहित तीन जनाको मात्रै सिफारिस गर्ने पार्टीको नीति भएतापनि थोरै मात्रै नाम सिफारिस गर्न विभिन्न दलका समितिहरुलाई निकै सकस भएर होला एकै क्षेत्रमा पनि २०–२५ जनासम्म दावेदार सिफारिस गरेर पठाएका छन् । सिफारिस भएपछि आफूलाई योग्य सम्झनु स्वाभाविक नै होला । त्यसैले हर्षित हुँदै समाजिक सञ्जालमा सिफारिस भएको र अन्तिम अवस्थामा आफैलाई उम्मेदवार बनाउन साथ र सहयोग पाउँ भनेर अपिल गर्नु सायद स्वभाविक नै होला । तर, यस्तो स्टाटसहरुले नै समाजिक सञ्जालहरु भरिन थालेपछि धेरैलाई समाजिक सञ्जालमा सिफारिस भएको, शुभकामना दिएको स्टाटसहरुले दिक्क लाग्दो रहेछ । कुनै समय सर्वसहमत भए मेयर बन्न तयार रहेको बताउने एक जना समाजसेवी आफ्नो फेसबुक वालमा दिक्क भएर लेखे ‘यो फेसबुक खोल्नासाथ देखिने सिफारिस का प्रचारले दिक्क लगायो । के के नै युद्ध जितेजस्तो के हो यो ?? कुरा बुझिएन । जितेर देश, धर्ती र जनताको इमानदार सेवा गरे भै गो त ! इनफ इज इनफ ।’
सिफारिस हुनु पनि कसैका लागि युद्ध जितेको जस्तै पनि हुनसक्छ नि ! पछाडि नाम काटिनु वा उम्मेदवार हुनु फरक हो । तर, अहिले त जितेकै हो नि । अनि आफ्नो नाम आफ्नो ‘वाल’ मा राख्दा के को ईनअफ ? सायद सिफारिस हुनु नै पहिलो सफलता हुन सक्छ ।
त्यस्तै अरुको नाम सिफारिस भएकोमा अचम्मित हुँदै सिफारिस भएको व्यक्तिको स्तर वडाध्यक्ष समेतको नरहेको देख्ने अर्का एक जना लायन्सका नेता लेख्छन् ‘हैन नबुझेको प्रसङ्ग ..मंसिर ४ गते हुने संघीय र प्रदेश चुनवमा वडाध्यक्षको समेत हैशियत नभएका व्यक्ति सांसदमा सिफारिस भनेर सामाजिक संजाल भरिएको देख्दा अचम्म लाग्छ……‘मेरो देश, विचरा हामी नागरिक ।’
समाजसेवी लायन्सका नेताज्यू स्तर भए त सबैले जितिहाल्थे नि ! जित्ने एक जना हुन्छ, तर हार्ने धेरै । कत्तिको जमानत पनि जोगिदैन । सत्य त के हो भने जसको जमानत नजोगिने हुन्छ, उसलाई र उसको दललाईसमेत यो कुरा थाहा हुन्छ । तर पनि उम्मेदवारी दिन्छन् । यो स्तर निर्धारण जसले जसरी गरे पनि सँधै सफल हुन्छन् भन्ने कहाँ छ र !
आफ्नो नाम सिफारिस भयो । आफूले यत्रो समय पार्टीलाई दिएँ बल्ल नाम सिफारिस भयो । यसो समाजिक सञ्जालमा बधाई हालिदिनु न । यसो अलिकति समाचार लेखिदिनु न भनेर धेरैलाई अनुनय आयो होला । कतिले समाचार बनाए होलान् । कतिले बधाई दिए होलान् । कहिले नसुनेको अनलाइन मिडिया पनि हेरियो होला । सायद कति पत्रकार बन्धुहरुलाई तनाव पनि भयो होला । यस्तै दिक्क भएर एक जना पत्रकार लेख्छन् ‘मेरो फोटो हालेर बधाई पोष्ट गरिदिनु भन्ने धेरैजनाको आग्रह आएकोले एकमुष्ट शुभकामना दिन्छु है । २०७९ मसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारका लागि विभिन्न राजनीतिक दलबाट सिफारिसमा पर्नुभएका सबैजनालाई एकमुष्ट क्विन्टलका क्विन्टल हार्दिक शुभकामना छ । अन्तिम प्रतिष्पर्धीका रुपमा आधिकारिक उम्मेदवारको टिकट पाउनु हुने भेटेसम्मका उम्मेदवारसँग सेल्फी फोटो खिचेर बधाई शुभकामना दिउला ।’
हजुर महोदय आधिकारिक उम्मेदवार भएपछि भोट माग्न आउँछन् । अहिले सहयोग माग्दैमा आत्तिनु पर्ने के नै थियो र ? जसले पहिलो पटक प्रयाश गर्दैछन् उसले धेरै आशाका साथ इज्जत दिएको हो । तपार्इँंले बधाई दिँदैमा टिकट दिने वा नदिने पक्कै होइन होला त !
यो भनेको परिवर्तनको बेला हो । पार्टीले थोरै पनि योग्य व्यक्तिहरुलाई टिकट दिएन भने साख झर्ने निश्चित छ । एक त योग्य व्यक्ति दलगत राजनीतिमा आउन चाहदैनन् । यस पटक आउने र आउने चाहना भएकाहरु धेरैलाई सिफारिस गरेका छन् । आफूले स्तर नदेखेकालाई जनताले पत्याएको हुनसक्छ । आफूलाई समान्य लाग्ने प्रक्रिया पनि अनुभव नभएकाहरुका लागि ठूलो सफलता हुनसक्छ । सहयोग माग्दैमा खिल्ली उडाउनु पनि सायद राम्रो नहोला । उपेक्षित भएका बालेन, हर्क जस्ताहरु आज सफल भएका छन् । योग्य उम्मेदवारलाई सहयोग गर्दै सबैलाई सम्मान गर्नेे कि ?