गोकुल पराजुली
‘फेसबुकमा ठ्याँ ठ्याँ गरेपछि रवि लामिछानेले निकाले न्यौपानेलाई’, जनआस्था अनलाइनमा केही दिन अघिमात्र प्रकाशित भएको एउटा समाचारको शीर्षक हो यो । रवि लामिछानेले भर्खरै खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीका हेटौडा नगर कमिटी सचिवलाई पार्टीबाट कारवाही गरेको बारेमा जनआस्थाले यस्तो शीर्षकमा समाचार प्रकाशन गरेको थियो । न्यौपानेले पार्टीको मूल नीति, विचार र धारणा विपरित फेसबुक स्टाटसहरु लेखेपछि रविले उनलाई कारवाही गरेका रहेछन् । माओवादी छोडेर रविको पार्टीमा गएका न्यौपाने फेसबुकमा ठ्याँ ठ्याँ गरेपछि २१ दिनमै कारवाहीमा परेछन् ।
फेसबुकमा आफ्ना धारणाहरु हामी धेरैले राख्छौं । घोचपेच पनि गर्छौं । कहिलेकाहिँ सिधा नोकझोंक पनि चल्छ । बधाई, शुभकामना, सहानुभूति, श्रद्धाञ्जली व्यक्त गर्ने एउटा सजिलो माध्यमको रुपमा फेसबुक विकसित भएको छ । कतिपय समयमा यसको दुरुपयोग पनि हुने गरेको छ । आफ्नो पदीय मर्यादा, जिम्मेवारी र समाजप्रतिको दायित्व ख्याल नगरी सञ्जालमा व्यक्त गरिने व्यक्तिगत विचारहरुले सम्बन्धित पात्रहरु र उसले निर्वाह गर्दै आएको भूमिकाप्रति नै संदेह पैदा हुने गरेको छ ।
राष्ट्रिय सभाका सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोपिबहादुर अछामीले केही दिन अघि फेसबुकमा व्यक्त गरेको धारणा विवादमा परेको छ । उहाँले व्यक्त गरेको धारणालाई लिएर माओवादी पङ्ति आक्रोशित बनेको छ भने माओवादी इत्तरका शक्तिहरु उत्साहित हुँदै माओवादी खुइल्याउने अवसरको रुपमा सदुपयोग गर्न व्यस्त छन् । यो स्वभाविक नै हो ।
समग्र युद्धको रुपमा नेपालमा १० वर्ष सञ्चालन भएको जनयुद्धका एउटा जीउँदा र बहादुर लडाकु हुनुहुन्छ अछामी । देशमा गणतन्त्र स्थापना गर्ने भीमकाय लडाँइका एउटा कुशल लालसेना पनि हो । युद्धमा सहिदको कोटा चुक्ता गरेको परिवारका सदस्य हुनुहुन्छ उहाँ । अछामी आर्थिक र सामाजिक रुपमा सबैभन्दा हेपिएको दलित वर्गको एउटा प्रतिनिधि नेता पनि हुन् । त्यस अर्थमा उहाँले समाज र देशका लागि गरेको योगदानको उच्च सम्मान गर्नुपर्छ । उहाँको विगत भूमिका र योजदानप्रतिको सम्मान र मूल्यांकनमा किंचित कुनै कमी हुन दिइनु हुँदैन । त्यस विषयमा व्यक्तिगत रुपमा म पनि अत्यन्तै सजग छु ।
तर, पछिल्लो घटना जे भएको छ त्यसलाई सामान्य रुपमा लिन सकिदैन । सामान्य मानिस वा कुनै पार्टीको साधारण समर्थकले गरेको भए यो विषय चर्चामै आउने थिएन । समाजमा यस्ता अनेकौं मतहरु व्यक्त भइरहेका हुन्छन् । त्यसले खास महत्व पाइरहेको हुँदैन । तर गोपी अछामी माओवादी केन्द्रको जुन जिम्मेवारीमा हुनुहुन्छ र उहाँले जे गर्नुभयो त्यो स्वभाविक रुपमा चर्चाको विषय बन्यो ।
केही दिन अघि मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा निर्वाचनका लागि अमनलाल मोदीको एकल नाम सिफारिस भयो । सबैको चासोको क्षेत्र भएकोले त्यो समाचारको विषय बन्यो । पार्टीको केन्द्रीय सदस्यको नाम सिफारिस भएको विषयमा अछामीले फेसबुकमा स्टाटस लेख्नुभएन । सफलताका लागि शुभकामना पनि दिनुभएन । सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभाका लागि सिफारिस हुनुभएका पार्टीका अरु नेताको हकमा उहाँले शुभकामना दिनुभयो । शुभकामना दिनु वा नदिनु स्वेच्छिक विषय हुन् । यसमा कसैलाई करकाप वा जोरजबरजस्ती गर्न मिल्दैन । अरुलाई शुभकामना दिँदा आफ्नै नेताले नसम्झिएकोमा मोदीको मनमा परेको थियो होला, बुझ्नेले बुझेका थिए होलान् । त्यस विषयमा कसैले प्रश्न उठाएका थिएनन् । प्रश्न उठाउने ठाउँ पनि थिएन ।
तर, जब सोही क्षेत्रबाट नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस भयो अछामीले हतारिएर जितको शुभकामना व्यक्त गर्नुभयो । एक पटक होइन पटक–पटक । आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई जितको शुभकामना दिने झण्झट गर्नुभएन तर स्टाटस लेखेर मात्र नपुगेपछि कमेन्ट पनि गरेर स्टाटसको औचित्य पुष्टि गर्नेतिर लाग्नुभयो । यसरी हेर्दा उहाँले आफ्नै पार्टीका नेताप्रतिको कुण्ठा अभिव्यक्त भएको सहज बुझ्न सकिन्छ ।
खुला समाजमा सबैसँग अनेकथरी सम्बन्धहरु हुन्छन् । सम्पर्कहरु पनि धेरैसँग हुन्छ । तर सबै सम्बन्ध र सम्पर्क विशेष हुन सक्दैन । त्यसमा पनि राजनीति सदाशयताले चल्ने कुरा हुँदैन । कमरेड विनोद ढकालको फरक विचार राख्नेहरु धेरैसँग राम्रो सम्बन्ध र सम्पर्क छ । कतिपय बेलामा आफ्ना पार्टीका भन्दापनि उहाँ प्रिय झैं लाग्नुहुन्छ । तर, विचारमा भिन्नता भइसकेपछि जतिसुकै मनपरे पनि, आन्द्रा जोडिए पनि, एउटै कोठा वा खाट सेयर गरेर बसे पनि राजनीतिमा त्यसको कुनै अर्थ हुँदैन । नत्र फरक पार्टीमा रहेर आफ्ना मान्यताका लागि लडिरहनु पर्ने नै थिएन ।
अब अलि आलोचनात्मक टिप्पणीमा प्रवेश गरौं । जनआस्थाको समाचार शीर्षक सापटी लिँदा माननीय अछामी फेसबुकमा ठ्याँ ठ्याँ गर्नेमै पर्नुहुन्छ । राति लेखेको धेरै स्टाटस उज्यालो भएपछि मेटिएका उहाँका थुप्रै घटनाहरु छन् । त्यसको कारण खोतल्नतिर नजाउँ । यो घटनाले धेरैलाई ‘आफ्नो पोइलाई भुट्या मकै नाठो पोइलाई रोटी’ भन्ने नेपाली गीतको एउटा अंश स्मरण गर्न बाध्य गराउँछ ।
फेसबुकमा फरक पार्टीका नेताको उम्मेदवारी सिफारिसमै सफलताको शुभकामना दिएपछि अनेकथरी समाचारहरु पनि बनेका छन् । एमालेमै प्रवेश गर्ने तयारी भनेर पनि समाचार बन्यो । माननीय अछामीले त्यस विषयमा फेसबुकबाट ‘एमालेले लान्छु भनेको छैन, मैले पनि जान्छु भनेको छैन’ भनेर आफ्नो धारणा स्पष्ट गर्नुभएको छ । तर उहाँले म को हुँ र पार्टीप्रति, आम नेता र कार्यकर्ताप्रति मेरो जिम्मेवारी के हो भनेर अझै ख्याल गर्नुभएको छैन । संसदीय मोर्चामा चुनाव एउटा महासंग्राम हो । महासंग्रामको लडाइँमा गएको लडाकुले विपक्षीसँग जब सदाशयता राख्छ वा गठजोड गर्छ त्यसबाट कस्तो परिणामको अपेक्षा गर्न सकिएला ? यस अर्थमा कमरेड अछामीबाट जानिनजानी भएको यो कार्य पार्टी हितमा छैन । त्यसैले कमरेड आफ्नो पद, प्रतिष्ठा, मर्यादा र जिम्मेवारी ख्याल गरेर फेसबुकमा ‘ठ्याँ ठ्याँ’ गर्न छोडिदिनुहोस् । जनताको काममा ध्यान दिनुहोस् । र,तपाईँलाई विवादमा ल्याएको यस घटनाप्रति आत्मालोचित हुनुस् र आफ्ना समर्थकको कुँडिएको मनलाई शान्त बनाएर विश्वासमा लिनुहोस् ।