दसैँ आयो, प्रहरीको खाउँला–पिउँला…….

 अनन्तराज न्यौपाने

झापामा क्यासिनो सहितका २ ठुला पाँच तारे होटल सञ्चालनमा आएपछि आसपासका धनाढ्य भारतीयहरूको गन्तव्य झापा जिल्ला हुन थाल्यो । यसका कारण झापामा भारतीय नम्बरका कार, जिप, भ्यान लगायतका लक्जरियस सवारीका सङ्ख्या बढ्न थाले । अर्कातिर सीमामा बसेको सशस्त्र प्रहरीले यसको नाजायज फाइदा उठाउन सुरु ग¥यो । सीमामा तैनाथ सशस्त्र प्रहरीका जवान तथा अधिकारीले भारतीय नम्बरका हरेक सवारीलाई चाहिनेभन्दा बढी चेकजाँच गर्ने, रकम असुल्ने र भनेको नमान्नेलाई मनपरी गाली गर्न थाले । केही समयपछि सशस्त्र प्रहरीले राजमार्गमा जोरसिमल भन्ने ठाउँमा ढाट नै राखेर मालवस्तुदेखि मानिससम्मको चेकजाँच सुरु गर्‍यो। सशस्त्र प्रहरीले देशको एक मुख्य राजमार्गमा यसरी ढाट राख्नु सरासर गैरकानुनी थियो । तर ढाट राखेर नै सशस्त्र प्रहरीका अधिकृत र जबानहरू नेपाल आयात गरिने सामान र मान्छेसम्मको चेकजाँच र खानतलासी गर्थे ।

केही समयपछि सशस्त्र प्रहरीले ढाट राखेका विरूद्ध उच्च अदालत विराटनगरमा रिट पर्‍यो । अदालतको इलाम इजलासले सशस्त्र प्रहरीले मुख्य राजमार्गमा पर्ने जोरसिमलमा राखेको ढाट हटाउनु पर्ने आदेश दियो ।

यसपछि सशस्त्र प्रहरी प्रतिशोधमा ओर्लिएको छ । प्रतिशोध अदालतप्रति होइन काँकडभिट्टास्थित मेची भन्सारप्रति । सशस्त्रले के बुझेको छ भने राजमार्गमा उसले राखेको ढाटका विरूद्ध अदालतमा मुद्दा पर्नु र अदालतले ढाट हटाउने आदेश दिनु, यो सबै योजना र तारतम्य भन्सार प्रशासनको हो । यसपछि सशस्त्रले मेची भन्सारमा राजस्व तिरेर जाँचपास भएर निस्किएका गाडी समाउन थाल्यो । गाडी समाउँदै, इटहरीको राजस्व अनुसन्धानमा बुझाउँदै । अहिले पनि यही कहानी जारी छ ।

यता मोरङको कथा अर्कै छ । विराटनगर भन्सारका प्रमुखलगायत राजस्व कार्यालयका अन्य अधिकारीले पूर्वका सीमान्त नाकाबाट गरिने अवैध आयातका बारेमा बारम्बार कुरा उठाइरहेका छन् । भन्सारका अधिकारीले अवैध आयातको कुरा मुद्दाकै रूपमा उठाएका छन्, अर्कातिर अवैध आयात हुन नदिन उनीहरू रातबिरात छड्केमा पनि हिँड्न थालेका छन् ।

यहाँनिर अचम्मको कुरा के छ भने नियमित रूपमा भइरहेको जिल्ला राजस्व चुहावट समितिको बैठक विराटनगरमा लामो समयदेखि हुन सकेको छैन । यस समितिका प्रमुख जिल्लाका सीडीओ हुन्छन् । काठमाडौंबाट उच्च तहका अधिकारीको टोली आयो भने बाध्य भएर सीडीओले चुहावट समितिको बैठक राख्ने गरेको पाइएको छ । अन्यथा स्थानीय स्तरमा यस्तो बैठक बन्द छ ।

पछिल्ला यस्ता बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले अवैध आयात रोक्न नसकेको, यस बारेमा स्थानीय प्रशासन पनि निरीह बनेको र इतिहासमै सबैभन्दा धेरै अवैध आयात मौलाएको जस्ता विषय जोडतोडका साथ उठेका छन् ।

यसको फलस्वरूप प्रहरी–प्रशासन एकातिर र भन्सार प्रशासन अर्कातिर भएको देखिएको छ । यही टसलका कारण नेपाल प्रहरीले भन्सार जाँचपास भई गएका मालवस्तु हरेक दिन पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइरहेको छ ।

खासमा भन्सार जाँचपास भई गएका मालवस्तु प्रहरीले पक्राउ र बरामद गर्न पाउँदैन । यो अधिकार राजस्व अनुसन्धानसित मात्र हुन्छ । तर झापा र मोरङमा सशस्त्र र नेपाल प्रहरीले हरेक दिनजस्तो यही काम गरिरहेका छन् । अर्को अचम्मको कुरा के छ भने, यस्ता माल पक्राउ गरेर राजस्वमा बुझाएपछि प्रहरीले राजस्व छली गरेका मालवस्तु वा भन्सार राजस्व नतिरी ल्याइएका मालवस्तु बरामद भन्ने समाचार दिइरहेको छ । यस विषयमा पनि प्रहरीले आफ्नो मर्यादा नाघेको देखिएको छ । प्रहरीले प्रज्ञापनपत्र लगायतका भन्सारले जारी गरेका कागजपत्र नलिएर वा च्यातिदिएर मालवस्तु पक्राउ गर्ने गरेको गुनासो पनि सुनिएको छ । प्रहरीले यसो गर्नु सरासर अराजकता हो र सुशासनका विरूद्ध हो ।

प्रहरी–प्रशासनले चाहेमा अवैध आयात ठप्प नै हुनसक्छ भन्ने उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन, एक वर्ष अघिको लकडाउनको समयलाई हेरे पुग्छ । लकडाउनका वेला सीमाक्षेत्र पूर्णतः सिल गरिएको थियो । त्यस वेला भन्सारमा भारतबाट हुने लोकल आयात ह्वात्तै बढेको थियो । तर कोरोना काल सकिएसँगै अवैध आयात फेरि फस्टाएको छ । यसलाई सशस्त्र र नेपाल प्रहरीले प्रत्यक्ष संरक्षण दिएका छन् ।

अवैध आयात छ कि छैन भनेर खोज्न सीमाक्षेत्र गइरहनु पर्दैन । हाम्रै घर छेउछाउका पसलमा हेर्न गए हुन्छ । अहिले पनि ती दोकानमा भारतीय पेय पदार्थ, लेज र कुरकुरेजस्ता स्न्याक्स, भारतीय खाद्यतेल, भारतीय बिस्कुट, भारतीय अमुल डेरीको पनिर लगायतका अवैध मालवस्तु सर्वत्र पाइन्छन् । कपडाको अवैध पैठारी त्यत्तिकै छ । दुई वर्षदेखि विराटनगर भन्सारबाट चिप्ला सारी भित्रिएकै छैनन तर पूर्वका बजारमा छ्याप्छ्याप्ती यस्ता सारी पाइन्छन् । कुनै पनि नियामक निकायले तिनलाई रोक्न सकेको छैन । अर्कातिर प्रहरीका आँखा भने भन्सार जाँचपास भई गएका मालवस्तुमा परेका छन् ।

झापाका वरिष्ठ पत्रकार केशव आचार्यले २५ वर्षअघि देशान्तर साप्ताहिकमा लेखेको एक समाचारको शीर्षक थियो– दसैँ आयो, प्रहरीको खाउँलापिउँला, कहाँ पाउँला, मालसामान पक्रूँला । अहिले पनि नेपालका सशस्त्र र नेपाल प्रहरीको मनोवृत्ति र कार्यप्रवृत्ति यही छ । दसैँ जो नजिकिएको छ ।

मङ्गलबार, २१ भदौ, २०७९

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर