विराटनगर । मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभाका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट २ क्षेत्रमा उम्मेदवार भई विजयी भएको माओवादी केन्द्रले यस पटक सत्तारुढ गठबन्धनबाट चुनाब लड्ने तयारीमा छ । गठबन्धनको भागबण्डा टुंगो नलागेको बेला सबै क्षेत्रबाट उम्मेद्वार सिफारिस भएको पार्टीले जनाएको छ ।

क्षेत्र नम्बर १ बाट नेपाली प्रेम मिभक लिम्बूलाई माओवादीले उम्मेदवार सिफारिस गरेको छ । उनी पार्टीका प्रदेश कमिटि सदस्य हुन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा बाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम खतिवडा विजयी भएका थिए ।

मोरङको क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रले क्षेत्रबाट गणेश उप्रेती (सुशील)लाई प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको छ । उनी पार्टीको प्रदेश कमिटि सचिब हुन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका एमाले उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल बिजयी भएका थिए ।

क्षेत्र नम्बर ३ बाट माओवादीले सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण)को नाम सिफारिस गरेको छ । पार्टीको पोलिटब्युरो सदस्य रहेका काफ्ले २०६४ को निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका थिए । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका एमाले उम्मेदवार भानुभक्त ढकाल विजयी भएका थिए ।

अघिल्लो पटक बाम गठबन्धनबाट माओवादी उम्मेदवार अमनलाल मोदी विजयी भएको क्षेत्र नम्बर ४ मा यस पटक पनि माओवादीले मोदीलाई नै उम्मेदवार बनाउने भएको छ । पार्टीको केन्द्रीय सदस्य रहेका उनले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर ५ बाट माओवादीले बहालवाला सांसद शिवकुमार मण्डको नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा काँग्रेसका अमृत अर्याललाई मण्डलले पराजित गरेका थिए ।

मोरङको क्षेत्र नम्बर ६ मा माओवादी केन्द्रले भोगेन्द्र यादव र नविन पौडेलको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डित विजयी भएका थिए ।