विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई चुनौती दिएसँगै गृहजिल्ला मोरङमा संस्थापन पक्षको प्रहारमा पर्दै आएका नेता डा.शेखर कोइरालालाई आफ्नो क्षेत्रबाट सर्वसम्मत सिफारिसमा संस्थापन पक्षले रोकेको छ ।

मोरङको ६ नम्बर क्षेत्रबाट चुनाव लड्दै आएका कोइराला २०७४ मा वाम गठबन्धनका एमाले उम्मेद्वार लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भएका थिए ।

यसपटक सत्तारुढ गठबन्धनको बलमा चुनाव जित्ने सम्भावनाको नजिकै रहेका कोइरालालाई संस्थापन पक्षले भने निरन्तर घेर्ने प्रयास गरिरहेको उनी निकटहरुको भनाइ छ । क्षेत्रीय समितिले शेखर कोइराला, डिला संग्रौला, रमेशजंग रायामाझी र शिवकुमार बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिश गरेको छ । संग्रौला अहिले पनि प्रतिनिधिसभा सदस्य हुन् भने रायामाझी राष्ट्रियसभाका दलका नेता हुन् । उनीहरु दुवै संस्थापन पक्षका हुन्। बस्नेत भने कोइराला टिमकै हुन् ।

कोइरालाले केही समयअघि पार्टी सभापतिले एकलौटी रुपमा पार्टी चलाएको भन्दै कोइरालाले आलोचना गरेपछि रायामाझीकै नेतृत्वमा मोरङको सुन्दरहरैंचामा संस्थापन पक्षको भेला भएको थियो । त्यही भेलाले कोइरालालाई क्षेत्र नम्बर ६ छाड्न दबाब दिने र सो क्षेत्रमा आफूले दाबी गर्ने योजना बनेको थियो ।

कोइराला स्वयंले भने आवेदन आएजति सबैको नाम सिफारिश गर्न भनेको दाबी उनी निकटहरुले बताउँदै आएका छन् । ‘क्षेत्रका साथीहरु उहाँको एकल नाम सिफारिश गर्न चाहन्थे’, कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ‘तर, उहाँले नै आवेदन आएकाहरुको नाम सिफारिश गर्नुपर्छ भन्नुभएको थियो ।’

स्वकीय सचिव थपलियालले यस्तो दाबी गरे पनि कोइराला समूहको बलियो उपस्थिति रहेको क्षेत्रीय समिति भने कोइरालाको मात्रै नाम सिफारिस गर्ने योजनामा थियो । तीन दिनसम्म यसबारे क्षेत्रीय समितिमा रस्साकस्सी चलेको थियो । तर, संस्थापन पक्षका नेताहरुले दाबी नछाडे पछि चार जनाको नाम सिफारिश भएको हो ।

मोरङको अन्य क्षेत्रहरुमा पनि उम्मेद्वार सिफारिश भएका छन् । संस्थापन समूहका नेता अमृत अर्यालको नाम जिल्लाका दुई क्षेत्रबाट सिफारिश हुँदा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम एकै क्षेत्रबाट सिफारिसमा परेको छ । यस्तै डा.शेखरनिकट मेडिकल व्यवासयी सुनिल शर्माको नाम मोरङ ३ बाट सर्वसम्मत भएको छ ।

काँग्रेस मोरङका अनुसार क्षेत्र नम्बर १ बाट जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरती बराल, जयधर्म आचार्य, २ बाट मिनेन्द्र रिजाल र सुजता कोइराला, ३ बाट सुनिल शर्मा, ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदार तथा र क्षेत्र नम्बर ५ बाट अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस भएको छ ।