विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजयकुमार गच्छदार नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस भएका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई सातौं पटक उम्मेदवार बन्न सिफारिस गरेको हो। गच्छदार २०४८ यतका ६ वटा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका छन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि निलम्बित उनी उम्मेदवार बन्न पाउने किन नपाउने यकिन छैन । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मेहदी हुसैनले गच्छदारको एकल नाम सिफारिस भएको बताए।
अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने बताएका छन् । गच्छदारले जनादेशले आफूमाथि लागेको आरोप चिर्ने भन्दै पार्टीबाट उम्मेदवार बन्न पाउनु पर्ने प्रस्ताव राखेका थिए।
सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक निर्वाचित भइसकेका छन् । यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन्।
कांग्रेसले सुनसरी क्षेत्र नम्बर १ बाट मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मीना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम उम्मेदवारका रुपमा सिफारिस भएको छ। यस्तै सुनसरी क्षेत्र नम्बर २ बाट राजीव ढुंगाना, राजीव कोइराल र सीताराम कोइरालको नाम सिफारीस भएको छ।
सुनसरी क्षेत्र नम्बर ४ बाट अहिलेसम्म नाम सिफारिस भएको छैन । उक्त क्षेत्रबाट ज्ञानेन्द्रबहादुर कार्कीको एकल नाम सिफारिस हुने सम्भावना छ।

