विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल (साढे चार वर्ष) मा ३११ वटा बैठक बस्दा ९३ सांसदहरुमध्ये १६ जना मात्र सक्रिय देखिएका छन् ।
शुन्य समयमा नागरिकको आवाज उठाउने, सरकारलाई खबरदारी गर्ने, भ्रष्टाचार, अनियमितता र कुशासनको विषयमा खबरदारी गर्ने दायित्व भएपनि ९ जना सांसद जम्मा ५ पटकभन्दा कम मात्र रोष्ट्रममा उभिएको पाइएको छ ।
पाँच वर्षमा ३ सय ११ पटक बसेको बैठक ३६४ घण्टा ४३ चलेको प्रदेशसभा सचिबालयले जनाएको छ । ती बैठकमा १६ सांसदहरुले ४० पटकभन्दा धेरै सक्रिय सहभागी भएको पाइएको छ । प्रदेशसभामा सांसदहरुले शुन्य समय, विषेश समय र विधेयक तथा प्रस्तावहरुमाथि छलफलमा सहभागिता जनाउँछन् ।
जसमा ठूला नेताहरू सहभागी छन् । यसरी कम बोल्नेहरुमा पूर्वमुख्यमन्त्री शेरधन राई (१), पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य (४), पूर्वमन्त्री जीवन घिमिरे (३), हिक्मतकुमार कार्की (३), टंक आङ्बुहाङ (४), सांसद गणेशकुमार काङमाङ (१), तेजमान कन्दङवा (२), गुलेफुन खातुन (३) र पूर्णप्रसाद राजवंशी (५) छन् ।
संसद सचिवालयले दिएको जानकारी अनुसार चालू अधिवेशन अन्त्य भएसँगै प्रदेशसभाको साढे ४ वर्षको कार्यकालमा ३१२ वटा बैठक बसेको छ । उक्त बैठकमा ३६४ घण्टा ४३ मिनेट छलफल भएको छ । प्रदेशसभाबाट हालसम्म संशोधनसहित ६३ वटा विधेयक पारित भएका छन् ।
साढे ४ वर्षको समयमा सांसदहरूले शून्य समयमा ८८५ पटक, विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६५ पटक र विधेयकमाथिको सैद्धान्तिक छलफलमा १ हजार ८२ पटक सांसदहरुले आफ्ना कुरा राखेका छन् । सबैभन्दा धेरै सक्रिय रहेका सांसदहरुमा बिमल कार्की (७७), राजकुमार ओझा (७१), सूयर्माराज राई (६५), मोहनकुमार खड्का (६५) र जयराम यादव (६४) रहेका छन् । यस्तै ४० पटकभन्दा धेरै बोल्ने सांसदहरुमा खिनु लङ्वा लिम्बू, कूलप्रसाद साम्बा, सन्जाकुमारी दनुवार, उमिताविश्वकर्मा, लोकप्रसाद संग्रौला, प्रतापप्रकाशहाङ्गाम, लीला सुब्बा, शिवनारायण गनगाई, विष्णुमाया तुम्बाहाम्फे, अम्बिकाथापा र केदार कार्की रहेका छन् ।
सचिबालयको तथ्यांक अनुसार पहिलो तीन वर्ष प्रदेश सरकारको मन्त्री रहेका जगदिसप्रसाद कुसियत मन्त्रीबाट पदमुक्त भएपछि एक पटक पनि संसदमा बोलेनन् ।

