नारायण निरौला
माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा यहि भदौ १९ गते समाजवादी गोष्ठी सम्पन्न हुन गइरहेको छ । त्यो महत्वपूर्ण कार्यक्रममा नेपाली क्रान्तिका समस्याको विषयमा बहस अबश्य होला । बहसले सार्थकता पनि पाउला भन्ने आशा र कल्पना गर्न सकिन्छ । तर उक्त बहसले क्रान्तिका सवाललाई कसरी मुखरित गर्दा राम्रो हुन्थ्यो भन्ने उद्देश्यले म केही सवाल छलफलको लागि प्रस्तुत गर्न चहान्छु ।
एक्काइसौं शताब्दीमा क्रान्तिकारीहरु नराम्रोसँग गोल चक्करमा फसेकाछन् । उनीहरु बढी सत्तामुखी भई प्रतिक्रियावादीसँग साँठगाँठ गर्न पुगेका छन् । यस्तो खालको अपसंस्कृतिमा फस्न पुग्नुमा साम्राज्यवादले फिजाएको उत्तर आधुनिकतावादको प्रमुख हात रहेको छ । उत्तर आधुनिकतावाद एउटा मन्दविष हो जसले चेतनाको निरन्तरतालाई बन्धक बनाउँछ । जसले गर्दा क्रान्तिकारीहरुपनि उत्तर आधुनिकतावादले ल्याएको उपभोक्तावादी अपसंस्कृतिको गुलियो चास्नीमा मुण्टो जोत्न पुगेकाछन् । त्यसैगरी उनीहरुले निरन्तर क्रान्तिको विज्ञानलाई तिलाञ्जली दिएकाछन् । क्रान्तिका नियमहरुमाथि नै चुनौती पो दिँदैछन् कि ! भन्ने पनि लाग्छ ।
यसरी केवल नेपाली क्रान्तिमात्रै होइन विश्व क्रान्ति नै उत्तर आधुनिकतावादको भुमरीमा परेको छ । यसबाट मुक्ति पाउन फेरिपनि विश्व युद्ध अपरिहार्य छ । जसरी पहिलो र दोश्रो विश्व युद्धले विश्व सर्वहारा वर्गलाई फाइदा भयो त्यसरी नै तेश्रो विश्वयुद्धले क्रान्तिकारी वर्गलाई फाइदा गर्नेछ । त्यसका निम्ति सर्वहारावर्गले आफ्नो तयारी संस्थागत रुपले गर्नु जरुरी छ । संस्थागत भनेकै आ–आफ्नो मुलुकमा कम्युनिस्ट पार्टीको संरचनालाई माक्र्सवादी लेनिनवादी माओवादी विधि र पद्दति अनुरुप सञ्चालन गर्ने, सोही अनुरुप आन्दोलनको नेतृत्व गर्ने,जनतामा माक्र्सवादी , विचार, संस्कृति र अर्थतन्त्रको अभ्यासहरु गर्नुपर्दछ । न कि दलाल पुँजीपतिहरुसँग कुम जोडेर क्रान्तिको नेतृत्व गर्न सकिन्छ । अमेरिका र चीनको बैमनस्यता हात हालाहालको अवस्थामा छ ।
नेपाल उनीहरुको बैमनस्यता साध्ने महत्वपूर्ण रणनीतिक भूमि बनिरहेको छ । झन् एमसीसी पारित पछि त यो सवाल झन् झन् पेचिलो बनेको छ । यस्तो अवस्थामा क्रान्तिकारी नेतृत्व बहुतै सजग र सतर्क हुनुपथ्र्याे तर सत्तामोहले गर्दा क्रान्तिकारीहरुनै अमेरिकी ग्राण्ड डिजाइनमा फस्न पुगे अथवा जानी जानी एमसीसी पास गराउन भुमिका खेलेका हुन् त्यस सम्बन्धमा पनि गोष्ठीको बहस हुनुपर्छ । देशमा जनताको जनवाद नै आएको छैन । बुर्जुवा लोकतन्त्रलाई नै नयाँ जनवादी क्रान्ति सम्पन्न भो भनी झ्याली पिट्नेहरुको पनि कमी छैन । यदि नयाँ जनवादी क्रान्ति सम्पन्न भएको भए दलाल पुँजीवाद कसरी जन्मियो ? नयाँखाले पुँजीवादी क्रान्ति सम्पन्न हुँदा त मुलुक त सिधै राष्ट्रिय पूँजीवादमा जानू पर्ने थिएन र ? के दलाल पूँजीवाद रहँदासम्म नेपालमा समाजवाद सम्भव छ ? तसर्थ दलाल पूँजीवाद लगायत सबैखाले देशीविदेशी प्रतिक्रियावादको अन्त्य हुनु भनेकै नयाँ जनवादी क्रान्ति हो । के मुलुक दलाल पूँजीवाद र घरेलु तथा विदेशी प्रतिक्रियावादबाट मुक्त भइसकेको छ र ? त्यसैगरी सामन्तवादी शासक हटे पनि सामान्ति सोच चिन्तन र संस्कृति र उत्पादन पद्धति पूर्ण नष्ट भइसक्यो र ? यस्ता यक्ष प्रश्न नेपाली क्रान्तिका बहसका विषय हुनु पर्दछ ।
कपाका नेताहरुले नै मुलुकलाई ठूलो गञ्जागोलमा फसाए । भिषण संघर्ष बिना मुलुकले मुक्ति पाउनेवाला छैन । कत्तिले यही संविधानबाट समाजवादमा पुगिन्छ भनिरहेका छन् । त्यसो भन्नू मृगमरिचिका (मिराज)मात्रै हो । समाजवाद भनेको प्रतिक्रियावादी राज्यसत्ताको आधारमा खडा हुने होइन । त्यसका निम्ति जनताको जनवादी अधिनायकत्व अत्यावश्यक हुन्छ । जनताको जनवादी अधिनायकत्व त्यसबेला मात्रै हुन्छ जतिबेला नयाँ जनवादी क्रान्ति सम्पन्न हुन्छ ।
हामीले के सोच्नु पर्छ भने हाम्रो वरिपरि सबै चिजबिजमा गडबड छ, भन्नाले ती चिजहरु कि त ठीकसँग चलेका छैनन्, कि त ठीक संग चल्न कसैले बाधा हालेको छ । त्यो बाधा हाल्ने भनेको प्रतिक्रियावादी राज्यसत्ता हो । जबसम्म राज्यसत्ता सर्वहाराको अधिनमा आउँदैन तबसम्म समाजका कुनै पनि क्षेत्र ठीकसँग सञ्चालित हुनै सक्दैनन् । तर त्यो सत्ता आवधिक निर्वाचनबाट प्राप्त हुन्छ भन्नू चैं ठूलो भ्रम हो । संसारमा कुनै पनि देशका सर्वहारा क्रान्ति चुनावबाट सम्पन्न भएकै छैनन् । भारतको भाकपा ले त्यो प्रयत्न नगरेको पनि होइन तर आज कम्युनिस्टहरूको गढ मानिएको पश्चिम बंगालमा पार्टीको पत्तासाफ भयो । निकरागुवामा सानण्डिनिस्ठको हालत त्यस्तै भयो । नेपालमा पनि ६४ को संविधान सभा निर्वाचमा राम्रो परिणाम ल्याएको माओवादीको हालत अहिले कस्तो छ ? महान् जनयुद्धमा काँग्रेसलाई धूलो चटाउने माओवादी अहिले उसैको पिछलग्गु भएर निर्वाचनमा यति सीट उति सीट भनेर भिख माग्नुपर्ने अवस्थामा आइपुगेको छ ।
अहिलेको संविधान पनि सर्वहाराको पक्षमा छैन । यसले क्रान्तिकारीलाई केवल भ्रम मात्रै दिएको छ । क्रान्तिकारीहरुको बीचमै फाटो ल्याइदिएको छ । अपसंस्कृति श्रृजना गरेको छ । एउटा आफ्नै पार्टीको कमरेडलाई सांसद भएपछि माननीय भन्दिपनुपर्ने अनौठो साँस्कृतिक दरार श्रृजना गरिदिएको छ ।
सन् १९१७ अक्टुबरमा लेनिनले क्रान्ति गर्दा संविधान सभाको निर्वाचन परिणामलाई कुल्चेर क्रान्ति सम्पन्न भएको थियो । त्यसबेला लेनिनको नेतृत्वमा लालसेना थियो त्यसैको बलबाट रुसी जनताले सोभियत सत्ता खडा गरे । सन् १९४९ मा चिनियाँ क्रान्तिमा पनि जनमुक्ति सेनाको बलमा जनताले सत्ता कब्जा गरे । नेपालमा महान जनयुद्धमा जनताले गाँस काटेर निर्माण गरी हुर्काएको जनसेनालाई विघटन गरियो । वर्गसंघर्षको यो पेचिलो लडाइँमा नेतृत्वले जनसेनाको विगठन गर्नु कति जायज वा नाजायज थियो ? एउटा मुल्यांकनको पाटो टड्कारो छ । हाल जनयुद्धकामीहरु पनि राजनीतिक तथा कार्यनीतिक रुपले छरपस्ट छन् । मूलधार भनिने माके पनि सत्तामुखी भई भ्रष्टिकरणको दलदलमा छ जसले गर्दा जनतामा माकेप्रति तिब्र घृणा र विकर्षण फैलिएको छ । अनि यस्तो गञ्जागोलको परिस्थितिमा यही संविधानबाट समाजवाद आइहाल्छ भन्नु चटकीले चौरास्तामा बसेर कागलाई मयुरको पखेटा लगाइदिएर मयुर हो भनेर भ्रम छर्नु जस्तै हो ।
हो, यस्ता भ्रममा क्रान्तिकारीहरु अलमलिनु भनेकै उत्तरआधुनिकतावादको प्रभाव हो । वि.सं. २०४६ सम्म नेपालका कपाहरुमा कार्यनीतिक सवालमा मात्रै विवाद थियोे रणनीतिक विवाद थिएन । मदन भण्डारीले प्रतिपादन गरेको भनिएको जवजको बहस आए पछि रणनीतिक सवाललाई नै तोडमरोड ब्याख्या गर्ने र क्रान्तिका नाममा क्रान्ति कै गला घोट्ने कुकर्म पनि भइरहेको छ । त्यसैले नेपाली क्रान्ति सम्पन्न गर्नु भनेको विरवलको खिचडी पकाउनु बराबर भएको छ । नेपाली क्रान्तिलाई सही मार्ग निर्देशन गर्न, कार्यक्रमिक योजना तयार गर्न, धेरै वृहत् गोष्ठीको आयोजना गर्नु जरुरी छ । त्योभन्दा पनि पहिला कपा आन्दोलनलाई सिआईए र ‘र’ अनि युरोपेली युनियनको पञ्जाबाट मुक्त गराउनु जरुरी छ । तर बिप्पादेखि एमसीसी मा कपाहरु फसेकाछन् । ती अन्तर्राष्ट्रिय सहयोग र नियोगका माध्यमबाट नेपालका प्रायः कपाहरुको सत्व बन्धक बनिसकेको छ । त्यसैगरी मदन भण्डारीको जबज नामको मन्दविष चारैतिर फैलिएको छ जसले एमाले र माकुनेका दलका नेता कार्यकर्ता जबजको अफिमी नशामा लठ्ठ छन् ।
यसरी नेपाली समाजिक क्रान्तिको बहस केवल नेपाली समाजको धरातलबाट मात्रै होइन विश्व धरातलबाटपनि बहस चलाउनु पर्ने अवस्था आएको छ । केही दशक अघिसम्म रिम र पिडब्लुजीले यो बहस निकै तीब्र बनायो फलस्वरूप नेपालमा महान जनयुद्धको श्रीगणेश सम्भव भयो । त्यसैगरी सि–कम्पासाको अवधारणा आयो जसले दक्षिण एसियाका क्रान्तिकारीलाई समेट्ने उद्देश्य लिएको थियो । तर अहिले तीनको संरचना केकस्ता छन् हामी बिरलै सुसूचित हौंला ।
तसर्थ वैज्ञानिक समाजवादीहरुले कुनैपनि गोष्ठीहरु हुँदा यस्ता सबै पक्षको विश्लेषणात्मक संंश्लेषण गर्नु अत्यावश्यक छ न कि झारा टार्न वा एकाध मान्छेलाई चुनाव जिताउने अभिष्ट पूरा गर्न हुनुपर्छ । सबैमा चेतना भया !