इटहरी । सुनसरीको इटहरी चोकको ३ सय मिटरको सडक क्षेत्रमा पार्किङ गर्न नपाइने भएको छ । ट्राफिक व्यवस्थापनको समस्या भोग्दै आएको इटहरीका सडक क्षेत्रमा निर्माण सामग्री र व्यवसायीक सामान राख्न निषेध गरिएको हो ।
सोमबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले ट्राफिक व्यवस्थापन गर्न भन्दै यस्तो निर्णय गरेको हो ।
सम्बन्धित वडाका वडाध्यक्ष, नागरिक समाज, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायत यातायात व्यवसायीहरूसँगको छलफलपछि इटहरीको मुख्य चोक क्षेत्रमा पार्किङ निषेध गरिएको छ । सडक क्षेत्रमा पर्ने घरधनीले समेत घर अगाडि गाडी राख्न नपाउने निर्णय भएको छ ।
मंगलबार बिहानदेखि लागु हुने उपमहानगरपालिकाले सडक क्षेत्रमा निर्माण सामग्री तथा व्यवसायीक सामानहरु राख्न बन्देज गरेको हो । जसको लागि ७ दिनको समयसिमा निर्धारण गरी सूचना प्रसारण गरिएको मेयर पौडेलले बताए ।
ट्राफिक व्यवस्थापनको चुनौती र समाधानसहित अध्ययन गर्न वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति गठन भएको छ । वडा नम्बर ९ का वडाध्यक्ष जितेन थापा सहसंयोजक रहेको समितिमा सरोकारवाला निकायका अधिकारीहरूलाई सदस्यको रूपमा राखिएको छ ।
समितिले तयार पारेको प्रतिवेदनको आधारमा उपमहानगरपालिकाले थप कदम अगाडि बढाउने भएको छ ।

