विराटनगर । नेपालका लागि बेलायती राजदूत निकोला पोलित्तले बेलायतको उपयुक्त सहरसँग विराटनगरको भगिनी सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाएकी छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको छलफलपछि राजदूत पोलित्तले विराटनगर ऐतिहासिक सहर भएकाले बेलायतको पनि उपयुक्त सहर छनौट गरेर भनिगी सम्बन्ध स्थापना गर्ने बताइन् ।राजदूत पोलित्त र राजदूतवासका मिसन उपप्रमुख डा. लुक ब्युमन्टलाई सोमबार स्वागत गर्दै मेयर कोइरालाले नेपाल र बेलायत बीचको दैत्य सम्बन्ध ऐतिहासिक रहेको चर्चा गरे । दुई मुलुकबीच दैत्य सम्बन्ध स्थापना भएको दुई सय वर्षभन्दा धेरै भएको बताउँदै मेयर कोइरालाले भगिनी सम्बन्धको चाहना राखेका थिए ।
मेयर कोइरालाले राखेको प्रस्तावमा राजदूत पोलित्तले आफू सकारात्मक भएको प्रतिक्रिया दिइन् । कोइरालाले राजदूतावास र महानगरबीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक सहकार्य र समन्वय गर्न महानगरले सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी दिँदै दूतावासबाट पनि कसैलाई सम्पर्क व्यक्ति तोकिदिन आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) बारेमा जानकारी गराएका थिए ।