विराटनगर । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले प्रतिनिधि सभामा एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगरका सञ्चालकसमेत रहेका महाधिवेशन प्रतिनिधि सुनिल शर्माको एकल नाम सिफारिस गरेको हो ।
क्षेत्रीय कार्य समितिको मंगलवार बसेको बैठकले शर्माको नाम मात्रै सिफारिस गरेको क्षेत्र नम्बर ३ का सभापति गणेश खड्काले जानकारी दिए ।
१४ औँ महाधिवेशनमा यस क्षेत्रमा संस्थापन पक्षलाई शर्मालेनै खर्च गरेर कमजोर बनाएको आरोप लागिरहेका बेला चुनावको समयमा विवाद नदेखियोस् भनेर उनकै पहलमा एकल नाम सिफारिस गरिएको क्षेत्रीय कमिटीका एक पदाधिकारीले बताए ।
गत चुनावमा भने यस क्षेत्रबाट शर्मा पराजित बनेका थिए ।वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकालले शर्मालाई पराजित गरेका थिए । नेकपा एमालेका ढकालले ४२ हजार ४१३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५०७ मत प्राप्त गरेका थिए । उनी पटक–पटक विवादमा समेत तानिएका व्यक्ति हुन ।
मोरङ क्षेत्र नम्बर ३ मा पर्ने सबै पालिकामा नेतृत्व गुमाउनु परेको दोष पनि शर्मामाथि छ । यस क्षेत्रमा पर्ने ४ वटै स्थानीय तहमा एमालेले जितेको छ । बेलबारी, सुन्दरहरैँचा र पथरी शनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा एमालेले जित हात पारेको छ । यसमध्ये बेलबारीमा उपप्रमुख चाहिँ काँग्रेसले जितेको छ ।
शर्मा स्थानीय चुनावमा पार्टीलाई चुनाव जिताउन भनेर खटे पनि उनले गुटगतको राजनीति गरेको संस्थापन पक्षको आरोप रहेको छ । इतर समूहका नेताहरूको आरोप रहेको छ ।

