विराटनगर । नेकपा (माओवादी केन्द्र)ले एक पटक सांसद भइसकेको व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा हालै बसेको प्रदेश १ पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ मातहतको कमिटिमा पठाएको सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसकेका कमरेडहरुको नाम समानुपातिक उम्मेद्वारमा सिफारिस गर्न पाइने छैन ।’
सर्कुलरमा सबै उम्मेद्वारहरुको सिफारिस सम्बन्धित समिति बैठकको मान्युट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ । बैठकले एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने निर्णय गरेको छ ।
बैठकमा सम्बन्धित संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारीहरु, सांसदहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, पार्टीका प्रदेश सदस्य, प्रदेश निर्वाचन परिचालन समितिका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरु सहभागी गराउन प्रदेश समितिले निर्देशन दिएको छ । सर्वसम्मत भए एकजना र नभएमा बढीमा तीन जना उम्मेद्वारको नाम सिफारिस गर्न भनिएको छ ।
प्रदेश समितिले झापाको गौरादह नगरपालिका कमिटिका अध्यक्ष डण्डीराज घिमिरे, उपाध्यक्ष सुलोचना राजवंशी र सचिव शेरबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत पनि गरेको छ । उक्त समितिको बैठक बहालवाला उपाध्यक्षको नेतृत्वमा बसी पदाधिकारीको चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइएको छ ।
यस्तै ताप्लेजुङ जिल्लाका प्रदेश सदस्यहरुको कार्यविभाजनमा असन्तुष्टी जनाई जिम्मेवारीबाट राजीनामा बुझाउने विजयप्रकाश बनेम, लक्ष्मी आङछाङ्बो, ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाको राजीनामा पनि स्वीकृत गरिएको छ । उनीहरु प्रदेश सदस्यमा भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ ।