इलाम । हरेक चुनावमा सुवासचन्द्र नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनाल यस पटक भने नेम्बाङ सँगै चुनाव लड्ने भएका छन् ।पटक–पटक चुनाव जितेर पनि नेम्बाङले इलामको क्षेत्र नं. २ को विकासलाई बेवास्ता गरेको भन्दै स्वतन्त्रबाट नेम्बाङसँग चुनाव लड्ने घोषणा गरेका हुन् ।
यस क्षेत्रबाट चुनाव जितेर गएर राष्ट्रको मुख्य पोस्टमा पुगे पनि चुनाव जितेको क्षेत्रमा विकास गर्न नसकेको कारण अब नयाँ पुस्ता अघि बढ्नुपर्ने भन्दै चुनाव लड्ने घोषणा गरेका हुन् । ‘मैले नेम्बाङलाई चिन्दादेखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको पोल थिएन भनेर भाषण गरेका नेम्बाङ अहिले पनि त्यही भाषण गर्छन्’ खनालले भने, ‘२५ वर्षमा पनि एउटै भाषण दोहो¥याइरहने कस्तो काम गरेछन् हामी आफैं बुझ्न सक्छौं ।’
अहिले पनि इलामको क्षेत्र नं २ कर्णाली नै रहेको भन्दै खनालले नेम्बाङले जितेसम्म अझै पनि त्यहाँको विकास नहुने दावी गरे । उनले इलामको क्षेत्र नं २ को विकास हेर्नेहरु पीडा लिएर फर्किने भन्दै फाकफोकथुममा २५ वर्ष लगाएर बनाएको दोवानको पुल खोलाले बगाएको, राँके रवी सडकको दूराअवस्था, कयौं ठाउँमा बिजुलीको पोलसम्म नपुगको भन्दै खनालले भने ‘सँधै आफ्नो क्षेत्रलाई कर्णाली बनाउन चाहनेहरुलाई रोक्न आफ्नो उम्मेदवारी निश्चित छ ।’
अहिले पनि राँके रवी सडक निर्माणमा जनप्रतिनिधिले प्रश्न नउठाएको, नेपाल टार मंगलबारे पक्की सडक भत्किएको भएपनि सांसद नेम्वाङले कुनै चासो नदिएको, पर्यटन प्रवद्र्धन तथा अन्य विकासका पूर्वाधार अगाडि बढाउने काममा ध्यान नदिएको उनको आरोप छ । नेकपा एमाले इलामको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका खनाल पार्टीबाट राजीनामा दिएर चुनावको तयारीमा लागेका हुन् ।
इलामको क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पनि सुवास नेम्बाङसँग चुनाव लड्ने घोषणा गरिसकेका छन् । २० वर्षदेखि पटकपटक चुनाव जितेका नेम्बाङबाट विकासको आशा गर्न नसकिने पालुङ्वाले बताए ।
गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य धिरेन शर्मा पनि प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारीमा छन् । तर, गठबन्धनले कुन दलको भागमा उक्त क्षेत्र राख्छ भन्ने विषय अहिले नै स्पष्ट भइसकेको छैन ।
नेपाली काँग्रेसबाट हालका जिल्ला सभापति रहेका डम्बर खड्का, खड्कासँग सभापतिमा चुनाव लडेका भेषराज आचार्य, अघिल्लो निर्वाचनमा नेम्बाङसँग चुनाव लडेका केशव थापाले टिकटको दाबी गरिरहेका छन् ।

