विराटनगर । भन्सार छली गरेको आशंमा प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको स्याउ अनुसन्धानको लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पु¥याएको छ ।
मोरङ प्रहरीले शुक्रवार राती बरामद गरेको पाँच कन्टेनर र तीन ट्रक चाइनिज स्याउ थप अनुसन्धानको लागि राजस्व कार्यालयमा शनिवार बिहान पु¥याएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । शनिवार बिदा भएको कारणले राजस्व कार्यालयले प्रहरीले बरामद गरिसकेको स्याउ बुझेको छैन ।
चिनीबाट भारत हुँदै आयत भएको चाइनिज स्याउ विराटनगर १३ मलाय रोडबाट अन लोड गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) मा प्रविष्ट नगरी स्याउ ढुवानी गरेको, कोल स्टोरमा पु¥याएर मात्र अन लोड गरिनुपर्नेमा बाटैमा गरेको पाइएपछि भन्सार छली गरेको हुनसक्ने भएको कारणले प्रहरीले स्याउ बोकेको सवारीसाधन नियन्त्रणमा लिएको हो ।
भिसिटिएस राजश्व प्रशासन सुधारका लागि विभागले पछिल्लो समय विकास गरेको सूचना प्रणाली हो । यस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ ।
ढुवानीको सुरुको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्रयाकिङ गरिरहेको हुन्छ । तर, आयत गरेको स्याउको भिसिटिएसको विवरण चालकले उपलब्ध गराउन नसकेको र भन्सार जाँच पास भएका कागजात चालकको साथमा नरहेको एसपी कोइरालाले बताए । ‘भारतीय नम्बर प्लेटका ढुवानीका साधनलाई बाटोमा रोकेर नेपाली ट्रकमा सामान ‘अन लोड’ गर्न पाइँदैन । सम्बन्धित ठाउँमा पुर्याएर मात्रै ‘अन लोड’ गर्नुपर्छ,’ एसपी कोइरालाले भने, ‘भिसिटिएस प्रणालीमा विवरण प्रविष्ट नगरी स्याउ ढुवानी गरिएको कारणले हामीले नियन्त्रणमा लिएको हो । ’
भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२, ना। ५ ख ५६००, को १ ख ६९३९०१– ०२–००१ ख ८५५६ नम्बरको कन्टेनरमा ल्याएको चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको स्याउ कसले आयत गरेको हो त्यो खुलिनसकेको प्रहरीले जनाएको छ ।
चाइनिज स्याउ नेपाल आएपछि भारततीरनै तस्करी हुने गरेको छ । ठुलो परिमाणमा आयत भएको चाइनिज स्याउ पनि तेस्रो मुलुक हुँदै नेपाल आउने र तस्करी भएर भारत जाने गरेको छ ।

