विराटनगर । सुदूरपूर्व पाँचथरमा निर्वाचनको चहलपहल बढिरहेको छ । तर, गठबन्धन दलमा भने सिट बाँडफाँडको सकस उक्त जिल्लामा पनि देखिन्छ ।

काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे बाम गठबन्धनबाट २०७४ सालमा पराजित भएका उम्मेद्वार हुन् । माओवादीका पोलिटब्यूरो सदस्य, माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो भने प्रदेश निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित नेता हुनु ।

उनै आङ्बोले प्रदेशमा उठ्दा मुख्यमन्त्री बन्ने अवस्थामा मात्रै आफू उम्मेद्वार बन्ने बताएका छन् । नत्र संघमा उठ्ने उनको भनाइ छ । ‘मुख्यमन्त्री पाउने सहमति भए मात्र प्रदेशमा उठ्ने हो नत्र संघमा जाने हो,’ आङ्बोले भने ।

यता, पाँचथर नै गृहजिल्ला भएका माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) पनि संघ निर्वाचनको दौडमा छन् । अर्थमन्त्री जनार्दन शर्माको स्वकीय सचिव समेत रहेका नेम्बाङ आफ्नो क्षेत्र पनि त्यही रहेको बताउँछन् । ‘मेरो क्षेत्र भनेको पाँचथर नै हो, पाँचथर भन्दा बाहिर जाने अवस्था मेरो छैन,’ उनले भने, ‘संघमा टिकट भागबण्डामा अर्को दललाई दिने अवस्था आयो भने प्रदेश निर्वाचन क्षेत्र (क) मेरो गृह क्षेत्र हो ।’ उनी आफू पनि यस पटक निर्वाचन लड्ने बताउँछन् ।

यता, गठबन्धन दलको सिट बाँडफाँड कार्यदलमा भएको भनिएको प्रारम्भीक सहमति अनुसार ०७४ सालमा जसले जहाँबाट जितेको थियो, त्यो क्षेत्र त्यही पार्टीलाई दिने भनिएको छ । सो सहमति पालना भए प्रदेश निर्वाचन क्षेत्र (क) नेकपा (एकीकृत समाजवादी)ले पाउने छ भने निर्वाचन क्षेत्र (ख) माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ ।

सो क्षेत्रका सांसद गणेश कुमार काङमाङले भने आफू यस पटक निर्वाचन नलड्ने बताएका छन् । उनले समानुपातिक कोटाबाट प्रदेशसभामा जाने आफ्नो इच्छा रहेको बताए । ‘प्रत्यक्ष निर्वाचनमा म लड्दिन, गठबन्धनबाट कसले टिकट पाउँछ, हाम्रो पार्टीले पाउने अवस्था आयो भने प्रदेश निर्वाचन क्षेत्र (क) मा हाम्रो पार्टीको तर्फबाट कमल प्रसाद जबेगुले पाउनु हुन्छ,’ काङमाङले भने । जबेगु नेकपा एसका पाँचथर सभापति हुन् ।

यता, नेपाली काँग्रेसले भने नेकपा एसको जनमत अत्यन्तै कमजोर भएको कारण आफ्नो पार्टीले सो क्षेत्र पाउनुपर्ने दाबी गरिरहेको छ । काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगुले सो क्षेत्रबाट निर्वाचन लड्ने आफ्नो तयारी रहेको बताए । ‘मैले यस पटक प्रदेशको (क)बाट निर्वाचन लड्ने तयारी गरेको छु,’ उनले भने ।

यता, संघमा भने भीष्मराज आङ्देम्बे नै उम्मेद्वार बन्ने सभापति जबेगुले बताए । ‘संघमा भीष्मदाई नै हो, अरुले चासो दिने कुरा भएन,’ उनले भने, ‘प्रदेश (ख)मा भने माओवादीका नेता इन्द्रबहादुर आङ्बोले उठ्ने भन्नुभएको छ ।’

यता, नेकपा एमालेका तर्फबाट भने संघमा पुनः बसन्त नेम्वाङ उठ्ने पक्का पक्की जस्तै छ । उनी पूर्व भौतिक पूर्वाधार मन्त्री समेत हुन् । एमालेले प्रदेश निर्वाचन क्षेत्र (ख)मा आइन्द्र सुन्दर नेम्वाङलाई उठाउने चर्चा छ । उनी मालेका पूर्व केन्द्रीय सदस्य हुन् । एमालेमा आएका उनी हाल एमाले पाँचथरका जिल्ला इन्चार्ज छन् । यस्तै माओवादी केन्द्रबाट एमालेमा गएका श्रीप्रसाद जबेगु र एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी भने प्रदेश निर्वाचन क्षेत्र (क) मा उम्मेद्वारीको लागि होडबाजी गरिरहेका छन् । जबेगुलाई उठाउँदा माओवादीका धेरै कार्यकर्ताको सहानुभूतिको मत उनीतिर जाने सम्भावना रहेकोले एमालेले उनैलाई उठाउने धेरैको आँकलन छ ।

 गठबन्धन भए एमालेलाई संकट

यसैबीच स्थानीय निर्वाचन २०७९ मा पाँचथरमा नेकपा एमाले बलियो देखिएको छ ।

वडाध्यक्षहरुको मत गणनाका आधारमा एमाले बलियो देखिएको हो । एमालेले जिल्लाभरमा ३० हजार ९५८ मत ल्याएको छ । यस्तै काँग्रेसले २५ हजार ६५, माओवादी केन्द्रले ११ हजार ८०८ र राप्रपाले १ हजार ९ सय ९ मत ल्याएको छ । सो क्षेत्रमा नेकपा एसको २ हजार १६१ मत रहेको छ ।

६० वडा रहेको पाँचथरमा काँग्रेस २२ वडामा विजयी भएको छ । यस्तै एमाले १७, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) ३, राप्रपा २, स्वतन्त्र ३ र जसपाले १ वडा जितेको छ । गठबन्धन भएको खण्डमा भने एमालेलाई संकट पर्ने देखिन्छ । काँग्रेस, माओवादी, जसपा र नेकपा एसको मत जोड्दा ४१ हजार ६७७ मत पुग्छ भने एमालेसँग राप्रपा मिलेको खण्डमा पनि मत भने ३२ हजार ८६३ मात्रै पुग्ने तथ्यांक छ ।

२०७४ को परिणाम

२०७४ सालको निर्वाचनमा पाँचथरबाट बाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका बसन्तकुमार नेम्वाङ ३८ हजार ६४१ मत ल्याएर विजयी बनेका थिए । उनलाई काँग्रेसका भीष्मराज आङ्देम्वेले २८ हजार २५ मतका साथ टक्कर दिएका थिए ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) मा तत्कालिन बाम गठबन्धनका एमाले नेता गणेशकुमार काम्बाङले २१ हजार १० मत ल्याएर विजयी हुँदा काँग्रेसका नरेन्द्र कुमार केरुङले १६ हजार ७८ मत पाएका थिए ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख)मा बाम गठबन्धनबाट माओवादी नेता इन्द्रबहादुर आङ्बोले १६ हजार ९०८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका सुरेन्द्रकुमार दाहालले १२ हजार ११७ मत पाएका थिए ।