इलाम । हरेक आर्थिक वर्षको अन्त्यसँगै फाकफोकथुम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने गर्दथे । आर्थिक वर्ष सकिए लगत्तै गाउँपालिकाबाट निस्किएका प्रमुख प्रशासकीय अधिकृत पुन फर्केर आउँदैन थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गएपछि अर्को को आउने र कहिले आइपुग्ने हो भन्दाभन्दै महिनौँ बित्थ्यो । फेरी आएका प्रमुख प्रशासकीय अधिकृतको पनि आर्थिक वर्षको अन्त्यसँगै गएपछि फर्केर आउँदैनथे । २०७४ सालको स्थानीय तह निर्वाचनसँगै फाकफोकथुम गाउँपालिकाको पाँच वर्ष यसैगरी बित्यो । कहिले अध्यक्ष त कहिले उपाध्यक्षको गाली खाएका प्रमुख प्रशासकीय अधिकृत आर्थिक वर्ष सकिन नपाउँदै सरुवा जाने योजना बनाइसकेका हुन्थे ।
गाउँपालिकाका जनप्रतिनिधिबाट कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई त हात पातसम्म भएको गुनासो थियो । गाउँपालिकाको पाँचौँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका रेखनाथ दाहाल जनप्रतिनिधिले हात पात गरेकै कारण सरुवा भएर गए । चौथो अधिकृतको रुपमा रहेका जनार्दन कट्टेल सरुवा भएन भने यी जनप्रतिनिधिसँग काम गर्नुभन्दा जागिर राजीनामा दिएर घरमा बस्ने भन्दै त्यहिबेला गुनासो पोख्दथे । पाँच वर्षको अन्तरालमा सात जना प्रमुख प्रशासकीय अधिकृत फेरिए फाकफोकथुम गाउँपालिकामा । त्यस्तो बेलामा गाउँपालिकाका सूचना अधिकारी नारायण थापामगर पटक पटक निमित्त चलाए ।
प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने प्रवृत्ति नरोकिएपछि गाउँपालिकाको कार्यसम्पादनमा निकै ठूलो समस्या आएको थियो । त्यसमा पनि आर्थिक वर्षको अन्तिममा कर्मचारीहरु कार्यालयमा बस्नै नमान्ने खालको समस्या हुने गरेको थियो । अनावश्यक दबाबमा भुक्तानी दिनुपर्ने अवस्था टार्न कर्मचारीहरु उम्किन खोज्थे । विगत पाँच वर्ष यस्तै अवस्थामा बितेको थियो ।
फाकफोकथुम गाउँपालिका नयाँ जनप्रतिनिधि आएसँगै कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धमा उल्लेख्य सुधार आएको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा एक महिनाअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिसँगको सम्बन्धलाई सुधार गर्न भूमिका खेलेका हुन् ।
फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बु अहिले जनप्रतिनिधि र कर्मचारीबिच कुनै समस्या नभएको बताउँछन् । ‘कर्मचारीले ऐन कानुन अनुसार पालिकाका हरेक योजना प्रक्रियागत रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ जनप्रतिनिधिले त्यसमा हस्तक्षेप गरे भने कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध बिग्रिने हो, लिम्बू भन्छन् ‘अहिले निर्वाचित अध्यक्ष÷उपाध्यक्ष कानुन बमोजिम चल्नुपर्छ भन्नेमा स्पष्ट हुनुहुन्छ त्यसैले कुनै समस्या छैन ।’ उनले गाउँपालिकामा अहिले उर्जाशील टिम कार्यरत रहेकोले विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनाल जनप्रतिनिधि र कर्मचारीले गर्ने कामको बारेमा सबै स्पष्ट रहेकोले विवादको अवस्था नआउने बताउँछन् । उनले भने कर्मचारीले निर्णय कार्यान्वयन गर्ने हो हामी निर्णय लिन्छौं । यसमा स्वार्थ बाझिएको अवस्थामा मात्र असमझदारी हुने उनले बताए ।
फाकफोकथुम गाउँपालिकाका सूचना अधिकारी नारायण थापा मगर पहिलेको तुलनामा काम गर्न धेरै सहज भएको बताउँछन् । ‘नयाँ जनप्रतिनिधि आएको छोटो समय मात्र भए पनि अहिले काम गर्न सबै शाखामा समन्वय गरेर अघि बढीरहेको उनले बताए ।
पाँच वर्षमा आठ प्रमुख प्रशासकीय
पाँच वर्षको सुरुवातमा कुमार राईले निमित्त प्रमुख प्रशासकीय भएर गाउँपालिकाको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रमुख प्रशासकीय भएर डिल्ली सुवेदी गए पनि छोटो समयमै जनप्रतिनिधिकै कारण सरुवा भए । त्यसपछि लोकसेवा आयोगमा रहेका जनार्दन कट्टेल फाकफोकथुम गएपछि टिक्न सकेनन् । उनीपछि आएका रेखनाथ दाहाल पुगेका थिए । दाहाल पनि जनप्रतिनिधिले हात पात गरेपछि सरुवा गए । त्यसपछि उमेश घिमिरे प्रमुख प्रशासकीय भएर गए । उनी पनि लामो समय बस्न सकेनन् । घिमिरे फर्केपछि पुरुषोत्तम पुरुषोत्तम घिमिरे नयाँ प्रशासकीय अधिकृत भएर गए । आर्थिक वर्षको अन्त्यमा अधिक दबाब परेपछि घिमिरे पनि छोडेर हिडे । उनी हिडेपछि स्वास्थ्य शाखाका शिवनाथ यादव निमित्त भएर चलाए । अहिले पनि उनैले जिम्मेवारी निर्वाह गर्दै विगतको सम्बन्धलाई सुधार गरिरहेको कर्मचारीहरुले बताएका छन् ।

