विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ कसले लिने भन्ने विषयमा गठबन्धनमा आवद्ध प्रमुख दलहरुबीच कुनै हानाथाप छैन । बरु, ‘उक्त क्षेत्रमा अर्कैले लडिदिए हुन्थ्यो’ भन्ने दलहरुको चाहना देखिन्छ ।
माओवादीले लडे हुन्थ्यो भन्ने काँग्रेसको चाहना छ भने काँग्रेसले लडिदिए हुन्थ्यो भन्ने माओवादीको धारणा छ । गठबन्धनका दुई ठूला दलले नै आफू लड्न नपाए हुन्थ्यो भन्ने अवस्था रहेपछि अन्य साना दलले ओलीसँगै पौंठेजोरी खोज्ने कुरा पनि भएन । यो अवस्थामा एमाले अध्यक्ष ओली आफ्नो क्षेत्रमा बलियो रहेको अनुमान गर्न गाह्रो छैन ।
स्थानीय तह निर्वाचनमा होस् या २०७४ सालको संघीय संसदको निर्वाचनमा होस् उक्त क्षेत्रमा एमालेको बलियो उपस्थिति छ । दुई–दुई पटक प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष ओली आफैंमा बलिया उम्मेद्वार पनि हुन् । त्यसमाथि एमालेको सांगठनिक पकडका कारण गठबन्धन दलहरु उक्त क्षेत्रबाट नउठ्न पाए हुन्थ्यो भन्ने भित्री मनशाय राखिरहेका छन् ।
‘त्यो क्षेत्रमा काँग्रेसले हामीलाई लडे हुन्थ्यो भनेको छ,’ झापा माओवादी केन्द्रका एक नेताले भने, ‘हाम्रो पनि त्यो क्षेत्रबाट प्रदेशमा लड्ने दाबी हो, संघमा भने होइन ।’ स्रोतका अनुसार झापा क्षेत्र नम्बर १ बाट यसअघि बाम गठबन्धनबाट निर्वाचन जितेका माओवादी केन्द्रका नेता राम कार्कीले उक्त क्षेत्र काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई छोड्ने संकेत गरेका छन् । उक्त क्षेत्र कार्कीलाई छोडाएर झापा क्षेत्र नम्बर ५ माओवादीलाई दिने काँग्रेस रणनीति रहेको बुझिन्छ । कार्की भने उक्त क्षेत्र छोडेर आफू जन्मिएको जिल्ला ओखलढुंगाबाट चुनाव लड्ने चर्चा सुरु भएको छ ।
यदि माओवादी केन्द्रले सोही क्षेत्रबाट लड्ने निधो गरेको खण्डमा नेता गगन पुरी, रञ्जीत तामाङ, सुरेन्द्र बस्नेतलगायतका नेताहरु उम्मेदवार बन्नसक्ने चर्चा छ । चर्चामा रहेका पुरीले आफू केपी ओलीसँग भीड्न तयार रहेको बताएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दमकको प्रमुखमा लडेका पुरीले झण्डै ७ हजार हाराहारी मत ल्याएर तेस्रो बनेका थिए । उनै पुरीले केपी ओलीसँग भीड्ने तयारी गरेका छन् । ‘गठबन्धनले सहमति गरे ओलीकै क्षेत्रबाट चुनाव लड्ने हो नि,’ उनले भने, ‘केपी ओलीलाई जित्ने नै मैले हो ।’
२०७९ सालको स्थानीय निर्वाचनमा एमालेका विरुद्धमा राप्रपासहितको गठबन्धन गरेर सत्ता गठबन्धन दलहरुले दमकमा एमालेका उम्मेद्वारलाई पराजित गर्न सफल देखिए । तर, अब हुने संघ र प्रदेशको निर्वाचनमा राप्रपाले सहयोग नगरे ओलीलाई पराजित गर्न सत्ता गठबन्धन दलहरुलाई निक्कै सकस देखिन्छ ।
काँग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले प्रचारमा आएजस्तो चुनाव लड्न काँग्रेस नडराउने बताए । गठबन्धन दलका सिट बाँडफाँड कार्यदलले कुन क्षेत्र कसले लड्ने भन्ने टुंगो लगाउने उनले बताए । ‘सिटौलाज्यूको कार्यदलले माओवादीलाई १ नम्बर क्षेत्र दिने निर्णय ग¥यो भने विश्वप्रकाश शर्मा नै ओलीको क्षेत्रमा लड्ने सम्भावना हुन्छ,’ भण्डारीले भने, ‘१ नम्बर क्षेत्रमै महामन्त्रीज्यू लड्ने हुनुभयो भने ५ नम्बर क्षेत्र माओवादीको भागमा पर्ने सम्भावना छ ।’
उनले आफ्नो पार्टीको तर्फबाट उम्मेद्वारी घोषणा गर्नेको लहर चलिरहेको पनि बताए । ‘हामी एमाले अध्यक्ष ओलीसँग चुनाव लड्न डराएको भन्ने छैन, हाम्रा थुप्रै साथीहरुले उम्मेद्वारी घोषणा गरिरहनु भएको छ,’ भण्डारीले भने, ‘म आफैं सो क्षेत्रको (ख) प्रदेशमा चुनाव लड्ने भनेर लागिरहेको छु ।’ उनले ओलीको क्षेत्रका ४ वटा पालिकामध्ये ३ वटा पालिका गठबन्धनले जितेर एमाले पराजित भएको बताए । ‘२०७४ मा जस्तो अवस्था अहिले छैन,’ उनले भने ।
काँग्रेसका केन्द्रीय सदस्य तथा हालका सांसद महिन्द्रा सुब्बाले पनि ओलीसँगै लड्ने घोषणा गरेकी छिन् । यस्तै २०६४ सालको निर्वाचनमा केपी ओलीलाई पराजित गरेका विश्वदिप लिङ्देनले पनि पुनः ओलीसँग भीड्ने भन्दै काँग्रेसबाट टिकटका लागि लबिइङ गरिरहेका छन् । लिङ्देन यसअघि माओवादीबाट काँग्रेसमा प्रवेश गरेका थिए ।
राप्रपा निर्णायक
विराटनगरस्थित होटल स्टर्न स्टारमा आयोजित एक कार्यक्रमको भेटका क्रममा राप्रपाका नेता तथा दमक नगरपालिकाका प्रमुख राम थापालाई गठबन्धन दलका केही नेताले घेरे । ती गठबन्धन नेताको प्रश्न थियो, ‘दमकमा गठबन्धनबाट चुनाव जित्नुभयो, अब मंसिरको निर्वाचनमा कसलाई सहयोग गर्नुहुन्छ ? ।’ थापाले असहज मान्दै त्यसको उत्तर दिनुको सट्टा हाँसेरै टारे ।
गठबन्धन दलहरुसँगको गोप्य छलफलमा थापाले आफूले एमालेको विरुद्धमै भोट खसाल्ने बताउने गरेका छन् । ‘उनी गठबन्धनको बलमा प्रमुखमा विजयी बनेका हुन्, अब गठबन्धनलाई सहयोग गर्ने बेलामा पछाडि हट्दैनन् भन्ने विश्वास छ,’ माओवादी केन्द्रका नेता विरेन्द्र बस्नेतले भने ।
यद्यपि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले घोषित रुपमै एमालेसँग गठबन्धन गरेको खण्डमा थापालाई असहज हुने देखिन्छ । ओलीले आफू जित्नका लागि राप्रपालाई जिल्लामा दुई निर्वाचन क्षेत्र दिनसक्ने पनि कतिपय बताउँछन् । यस्तो अवस्थामा थापाका लागि गठबन्धनको विरुद्धमा जान पनि असजिलो र एमालेको पक्षमा लाग्न पनि अप्ठ्यारो हुने अवस्था सिर्जना हुनेछ । थापा राप्रपा प्रदेश १ का सभापति हुन् । थापा र राजेन्द्र लिङ्देनबीच राम्रो सम्बन्ध नरहेको चर्चा छ ।
बिर्सन नहुने अर्को कुरा के हो भने नगरप्रमुखमा विजयी भएसँगै बजेट तथा कार्यक्रम पारित गर्ने विषयमा नगरसभामा बहुमत रहेको नेकपा एमालेले थापालाई खुलेर असहयोग गरेका थिए । नगरप्रमुखमा जितिसकेका थापालाई बजेट तथा कार्यक्रम पासै गर्न नदिएर दुःख दिएकोले एमालेलाई नै मत हाल्न उनले सहयोग गर्लान् कि नगर्लान् ? यो भने अनिश्चय नै छ । यसकारण पनि थापा संघीय निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा निर्णायक बन्ने अवस्था छ ।
मतको अवस्था कस्तो ?
झापा ५ मा गत स्थानीय निर्वाचनमा एमाले एक्लैले वडाध्यक्षको मत जोड्दा ४१ हजार ६१९ मत ल्याएको छ । यस्तै कांग्रेसले २२ हजार २२, माओवादी केन्द्रले १० हजार ७८८, राप्रपाले ८ हाजर ३५३ र नेकपा एसले २ हजार हाराहारी मत ल्याएको छ । एमाले अध्यक्ष ओलीलाई उक्त क्षेत्रमा राप्रपाले सघाउने अवस्था आए गठबन्धन सहज ढंगले पराजित हुने उनको अनुमान छ । सोही आँकलन गर्दै ओलीले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसँग हिमचिम बढाएका छन् ।
यद्यपि ओलीको क्षेत्रमा भर्खरै स्थानीय तह निर्वाचनमा गठबन्धनको भोट पाएर जितेका राप्रपाका नेता राम थापाको पकड छ । थापा र लिङ्देनबीच त्यति राम्रो सम्बन्ध छैन । यस्तै झापा ५ मा एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७९८ छ भने गठबन्धन दलका प्रमुखहरूले पाएको मत ५५ हजार ७८८ रहेको छ ।
०७४ सालको संघीय निर्वाचनमा भने ओली बाम गठबन्धनबाट संयुक्त उम्मेद्वारी दिएका थिए । उनले ५७ हजार १३९ मत ल्याउँदा काँग्रेसका डा.खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।
प्रदेश निर्वाचन क्षेत्र (क)बाट भने एमालेकै हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका अनिल कृष्ण प्रसाईंले १८ हजार ६३६ मत ल्याएका थिए । यस्तै निर्वाचन क्षेत्र (ख)बाट पनि एमालेकै अर्जुन राईले ३० हजार ९७३ मत ल्याउँदा काँग्रेसका राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत ल्याएका थिए । बाम गठबन्धन हुँदा पनि त्यसबेला उक्त क्षेत्रमा माओवादीका तर्फबाट कुनै उम्मेद्वारी परेको थिएन ।

