इलाम । इलाम जिल्लाको सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस र प्रदेश १ सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र शिक्षण सिकाइमा साझेदारी गर्ने सम्झौता भएको छ । सोमबार विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिबीच साझेदारी सम्बन्धी समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो ।
विश्वविद्यालयले क्याम्पसमा दुई वर्षसम्म शिक्षण सिकाइ लगायतका विषयमा सहयोग गर्ने गरी समझदारी गरेको हो । सझदारी पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिलनाथ फुयाल र महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र चापागाईले हस्ताक्षर गरेका छन् ।
विश्वविद्यालयको तर्फबाट ईन्जिनियरिङ्ग संकायका डिन डा. प्रचण्डमान प्रधान र क्याम्पसका अध्यक्ष प्रेमलाल मिश्रसमेतको उपस्थितिमा भदौ ६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौताले विश्वविद्यालय र इलाम क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ । प्राविधिक शिक्षामा जोड दिँदै देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न दुई संस्थाबीचको समझदारीले सहयोग पुग्ने बताइएको छ ।
एमओयुपछि अब मनमोहन र इलाम क्याम्पसबीच प्रयोगशाला, फिल्ड अध्ययन, पुस्तकालय, तथा अन्य संकलित तथ्य तथ्यांङक, आदि विषयमा विचार तथा अनुभवसमेत आदनप्रदान हुनेछ । बेलाबेलामा संयुक्त गेष्ठिसमेत आयोजना गर्ने दुई पक्षबीच समझदारी छ ।
मनमोहन प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो भने इलाम सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस देशकै पुरानो क्याम्पस हो ।

