समकालीन नेपाली राजनीतिका सबैभन्दा निष्कलंक नेता थिए प्रदीप गिरी । नेता मात्रै होइन त्योभन्दा बढी चिन्तक र दार्शनिक थिए प्रदीप गिरी । नेपालको संविधानले भर्खरै मात्रै ‘समाजवाद उन्मुख’ हुने अठोट लिएको हो, उहिल्यैदेखि समाजवादका एक अविचलित योद्दा थिए प्रदीप गिरी । निष्ठा र आदर्शका पर्याय त भइगए, बौद्धिकताले हार मानेको नेपाली राजनीतिमा सदा उज्यालो छरिरहने दीप थिए प्रदीप गिरी । चिन्तनको बाक्लो घोल मिसाएर आफ्नो जादुमय प्रवचनले सबैलाई मोहित पारिरहन सक्ने अद्भूत प्रतिभा थिए प्रदीप गिरी ।

नेपाली राजनीतिक आकाशका तिनै चम्किला तारा प्रदीप गिरी भौतिक रुपमा सदाका लागि अस्ताएर अब विगत भएका छन् । निश्चय नै उनको भौतिक देह अब विगत भयो तर उनको चिन्तनको आलोकमा उनी सदा बाँचिरहनेछन्, वर्तमानमा मात्रै होइन दूर भविष्यसम्म पनि । समाजवादी आन्दोलनका एक प्रखर योद्धा, आफ्नो बौद्धिक क्षमताकै कारण आफ्ना मात्रै होइन विपक्षी अरु धेरैका प्रिय बन्न सफल विरलाकोटी राजनीतिज्ञ गिरीप्रति हामी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं । एक जना सादगी राजनीतिज्ञ, प्रखर चिन्तक र असल मानिसका रुपमा उनको सम्झना सदा भइरहनेछ ।

लामो समयदेखि घाँटीको क्यान्सरसँग जुधेका गिरी केही वर्षयता भारतमा उपचार गराइरहेका थिए । भर्खरै मात्रै उपचारबाट फर्केका उनी फेरि विरामी परेर अस्पताल भर्ना भए । भारतबाट आउँदा–आउँदै मेडिसिटी अस्पताल भर्ना भएका उनी अन्ततः त्यहाँबाट फर्केनन् । शनिबार राति ७७ वर्षको उमेरमा उनको निधन भयो । उनको निधनले यतिबेला नेपाली काँग्रेस मात्रै होइन, सिंगो नेपाल स्तब्ध छ । खासमा प्रदीप गिरी दलन्धतामुक्त मानव थिए, जसको जीवन आलोचनात्मक चेतको प्रवद्र्धनमा बित्यो । जो कोहीलाई आफ्ना तार्किक र बौद्धिक प्रश्नले कायल पार्ने उनी केवल प्रश्न मात्रै गर्दैनथे, हरेक प्रश्नको उत्तर पनि दिनसक्ने सामथ्र्य राख्थे । जब मुलुक कुनै राजनीतिक, दार्शनिक वा सामाजिक समस्याको गुत्थी फुकाउने सकसमा पथ्र्यो, त्यो बेला सबैले सम्झिने नाम र ठेगाना थिए उनी । अब त्यो ठेगानाको भौतिक उपस्थिति हुने छैन । तर, उनले देखाएको चिन्तन र व्यवहारको फराकिलो बाटो भने लामो समयसम्मका लागि उज्यालै रहिरहनेछ । उनको सबैभन्दा ठूलो योगदान नै त्यही हो ।
लामो जीवन राम्रो नहुन पनि सक्छ । तर, राम्रो जीवन सधैं लामो हुन्छ । त्यस्तै राम्रो र लामो जीवन बाँचे गिरीले । खासगरी नैतिकताको खडेरी परेको राजनीतिमा कसैले आशापूर्वक नजर लगाउने पात्र थिए उनी । व्यक्तिगत जीवनमा जति अव्यवस्थित थिए, पठन र चिन्तनमा उनी महारथप्राप्त कुशल व्यवस्थापक थिए । त्यसैले त समकालीन साथीहरु अनेकथरी आर्थिक विवादको भुंग्रोमा फँस्दा उनी सदा बेदाग रहे । मुलुकका उत्पीडित र पछाडि पार्न बाध्य पारिएका नागरिकका आवाज थिए । अब त्यो आवाज बन्द भएको छ । ज्ञानको एउटा पुञ्ज भौतिक रुपमा निभेको छ । उनको अभावको पूर्ति होला–नहोला तर उनले देखाएको मार्गमा उनका अनुयायीहरु हिँडीमात्रै दिए भने पनि त्यो उनीप्रति साँचो श्रद्दा सावित हुनेछ ।