विमल लामिछाने
जीवन निर्वाहका लागि हामीले दैनिक विभिन्न खाद्यपदार्थ खाँदै आएका छौं । स्वस्थ्य र दीर्घ जीवनका लागि नियमित फलपूmल, तरकारी लगायत विभिन्न पोषणयुक्त खाना नियमित खान जरुरी हुन्छ ।
पाचन प्रणाली स्वस्थ राख्न रेसादार खानेकुरामा जोड दिन चिकित्सक नै सुझाउँछन्, पछिल्ला केही वर्षयता सहरी साथै ग्रामीण क्षेत्रमा समेत बढ्दो चेतना एवम् आयस्तरमा भएको वृद्धिका कारण फलपूmल–तरकारीको उत्पादन तथा खपत बढ्दो छ तर विषादी परीक्षणको प्रबन्ध नै छैन ।
आन्तरिक उत्पादनले नपुगेर आयातको परिमाण वर्षेनी चुलिँदो छ । गत आर्थिक वर्षमा मात्रै रु. ५५ अर्ब बढीको फलफूल–तरकारी आयात भयो तर पोषणका लागि अति महत्वपूर्ण मानिने यही तरकारी र फलफूल बजारबाट किनेर ल्याएर ढुक्कले खान सकिने अवस्था छैन ।डरलाग्दो विषय त के छ भने देशमा खपत हुने कूल विषादीको ८५ प्रतिशत तरकारीमै प्रयोग हुने गरेको तथ्य विषादी व्यवस्थापनमा जिम्मेवारी पाएको सरकारी निकाय–प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको प्रकाशनले देखाउँछ । उक्त केन्द्रको तथ्यांकअनुसार देशमा विषादीको खपत पनि निरन्तर बढिरहेको छ ।
भनिन्छ, उपभोक्ताको मनोविज्ञान र विषादी प्रयोगबीच गहिरो सम्बन्ध हुन्छ । विषादी भएका तरकारी वा फलफूल किन्नु उपभोक्ताको हेलचेक्राईभन्दा बढी बाध्यता नै देखिन्छ । बजारमा विषादी प्रयोग नगरिएका फलफूल, तरकारी कीरा लागेका र एकनासले नसप्रेका पनि हुन सक्छन् जुन सामान्यतया उपभोक्ताले किन्दैनन् । अधिकांश उपभोक्ता चिल्लो, चम्किलो र फस्टाएको आकर्षक उत्पादन रोज्ने गर्छन् । उपभोक्ताको छनोट र मागअनुसारको कृषि उपज नै बजारले उपलब्ध गराउँछ र यस्ता उत्पादन विषादीको अधिकतम प्रयोगबाट मात्रै सम्भव हुन्छ ।
खेतबारीमा प्रयोग गर्ने मल, बीउ, विषादी आदि सामग्री नजिकैको बजारमा रहेको एग्राभेटबाट खरिद गर्दासमेत हामी हेक्का राख्न सक्दैनौं । कुन बीउ, रसायन र बिषादी प्रयोग गर्ने बिक्रेताकै सल्लाहमा चल्नु पर्ने बाध्यकारी हुने पनि स्थिति छ । विषादी प्रयोगमा कुनै पनि सावधानी नअपनाउने सामान्य सोचमा पनि हाम्रो ध्यान जाँदैन । विषादी सम्बन्धी ऐन र नियमावली आएको तीन दशकभन्दा बढी भइसक्दा पनि किन अझै हाम्रा किसानमा अज्ञानता कायमै छ ? किन हाम्रो विषादीको नियमन प्रणाली अझै कमजोर छ ?
नेपालमा विषादी प्रयोग गरिएका र प्राङ्गारिक कृषि उत्पादनको बिक्री वितरणका लागि बेग्लाबेग्लै बजार नहुनु पनि अर्को समस्या हो । सचेत उपभोक्ताले प्रांगारिक उत्पादन खरीद गर्न चाहे पनि सहजै उपलब्ध नहुँदा विषादी प्रयोग गरिएकै उत्पादन खरीद गर्नु पर्ने बाध्यता छ । तसर्थ, रासायनिक विषादी प्रयोग भएका र नभएका उत्पादन बिक्री गर्न बजारमा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिनु पर्छ । साथै, उत्पादनमा विषादी प्रयोग भए नभएको वा कति भएको छ भनी यकिन गर्न विषादी मापन केन्द्र स्थापना गरी अनिवार्य विषादी परीक्षणकोे प्रबन्ध गरिनुपर्छ । आयातीत खाद्य उत्पादनहरूमा पनि विषादी परीक्षणको व्यवस्था अनिवार्य गरिनुपर्छ । यसले रासायनिक विषादीका विकल्प प्रयोग गर्नेहरूका लागि प्रोत्साहन गर्दछ ।
निश्चय पनि नेपालमा विषादी नियमन गर्ने कार्य सरकारी पक्षबाट अगाडि बढ्दैछ भनिएपनि ब्यवहारत गति सुस्त देखिन्छ । २०७१ सालदेखि कालीमाटीस्थित फलपूmल तथा तरकारी बजारमा प्रयोगशाला स्थापना गरी विषादी अवशेष दु्रत विश्लेषण गर्ने कार्य सुरु भएकोमा केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत सातै प्रदेश र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत पनि सातै प्रदेशका विभिन्न स्थानमा विस्तार गरिएको थियो । यस आर्थिक वर्षको साउन महिनादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले थ
प आठ स्थानबाट परीक्षण सुरु गरिएको जनाएको छ । विषादी परीक्षणको संयन्त्र जतिसक्दो चाँडो सबै जिल्लामा विस्तार गर्न जरुरी छ ।
पछिल्लो समय विषादीका विभिन्न विकल्पबारे अनुसन्धान भएका छन् यी विधि एवं प्रविधि उत्पादनको हिसाबले उत्तिकै प्रभावकारी सावित भएको तर्क पनि प्रयोगर्ताहरुले गर्दै आएका छन् । रसायनिक विषादी प्रयोग नगरी उत्पादन नै नहुने प्रायः किसानको सोचाइ हुन्छ । बाहिरी देशहरुमा कीराको अनुगमन र व्यवस्थापन गर्ने मोहिनी पासो, बत्तीको पासो, पहेंलो पासो जस्ता विषाणुजन्य प्रविधि बालीनालीमा लाग्ने रोगकीरा विरुद्ध प्रभावकारी देखिएका छन् तर, नेपालमा बहुसंख्यक किसानमा यस्ता वैकल्पिक प्रविधिबारे जानकारी नै छैन । यसबारे जानकार किसानलाई पनि यी प्रविधि सहजै उपलब्ध हुँदैनन् ।
गाउँघरमै पाइने वनस्पति र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक विषादी पनि प्रभावकारी र सुरक्षित पाइएको छ । गोबर मल, कम्पोस्ट मल, गड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्व परिपूर्ति गर्छ । तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गरिनुपर्छ ।
विषादीको जथाभावी प्रयोग हुँदा यसको पहिलो सिकार किसान र उपभोक्ता नै हुन्छन् । उपभोक्ता भने तरकारीका लागि तिरेको पैसासँगै विष पनि किन्न बाध्य हुन्छ । विषादीको मात्रा बढी भएमा तत्कालै असर गर्छ र मृत्यु सम्मपनि हुन सक्छ । विषादीको नियमित सम्पर्कमा रहँदा यसको अवशेष शरीरका विभिन्न भागमा जम्मा भई दीर्घकालमा गएर नसा, मुटु, कलेजो, मस्तिष्क, प्रजननलगायत विभिन्न समस्याका साथै क्यान्सरजस्तो घातक रोग निम्तिन सक्छ । विषादीको व्यापक प्रयोग गरिने क्षेत्रमा मिगौला तथा क्यान्सर जस्ता रोगको बढोत्तरी भएको विभिन्न अध्ययनबाट आइरहेका छन् । नेपालमा बर्सेनी ३० हजार क्यान्सर रोगी थपिने गरेको र २० हजारको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । यसरी विषादीजन्य रोग कैयौँ घरपरिवारका लागि ठूलो अर्थिक बोझ बन्दै छ ।
विषादीले रोगकीरा मात्र मार्ने हैन, यसले मानव स्वास्थ्यलगायत समग्र वातावरणमा नै घातक असर गर्छ । त्यसैले किसान स्तरदेखि नै व्यापक रूपले जनचेतना जगाउन जरुरी छ । तोकिएको मापदण्ड एवं तौरतरिकाभित्र रहेर प्रयोग गर्नु हितकर हुन्छ । खानयोग्य रुकावट दरभन्दा बढी विषादी प्रतिशत भएको कृषि उपज नष्ट मात्र गरेर हुँदैन, जथाभावी प्रयोगकर्ता र सिफारिसकर्तालाई दण्डित पनि गरिनुपर्छ । विषादीको अनुगमन तथा नियमनमा स्थानीय निकायलाई समेत संलग्न गराउन सके विषादीको समुचित व्यवस्थापनमा थप टेवा पु¥याउन सकिन्छ ।
रासायनिक विषादीले हानिकारक र फाइदाजनक दुवैथरी कीरालाई तत्काल असर गर्छ, मार्छ, तर यस विपरीत जैविक, वानस्पतिकवा घरेलु विषादीले हानिकारक कीरालाई नमारी तिनको संख्या व्यवस्थापन गर्न सकिने तहमा राख्छ । यसरी व्यवस्थापन गरे मात्र प्रकृति सन्तुलित हुन्छभन्ने तर्क विज्ञहरुले गर्दै आएको पाइन्छ । संसारका ९० प्रतिशतभन्दा बढी कीरा फाइदाजनक हुन्छन् । तिनीहरू मांसाहारी हुन्छन् र हानिकारक कीरा खाएर बाँच्छन् । प्रकृतिको यस्तो अलौकिक प्रक्रियाको महत्वबारे किसानलाई बुझाउन र तत्काल धेरै नाफालिने नाममा अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गरिनुपर्छ ।
हामीले दैनिक उपभोग गर्ने खाद्यान्न, तरकारी र फलफूलमा रासायनिक विषादीको बढ्दो प्रयोग हाम्रो स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर गरिरहेको छ, यसको जोखिममा सबैभन्दा बढी किसान स्वयं पर्छन् । यस्तै, विषादी छर्कने मजदूर, विषादी विक्रेता र उपभोक्तासम्मले असर भोग्नुपर्छ । दैनिक खानामा विषदीको प्रयोगबाट हुने नोक्सानीबाट जोगिन समयमा नै सचेत बनौं ।