इनरुवा । गत स्थानीय तह निर्वाचनमा जिल्लाभरीमा ३ वटा मात्र वडा जितेको भएपनि नेकपा एकीकृत समाजवादी सुनसरीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौं आकांक्षीहरुको दौडधुप सुरु भएको छ ।
सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र र प्रदेशसभाका ८ निर्वाचन क्षेत्रमा निर्वाचन हुनका लागि उम्मेदवारको दावीसँगै दौडधुप सुरु भएको हो ।
सत्ता गठबन्धनभित्रको घटक नेकपा एकीकृत समाजवादीका तर्फबाट सुनसरीका सबै निर्वाचन क्षेत्रमा आंकाक्षीहरुको ठूलो लर्को देखिएको छ । नेकपा एकीकृत समाजवादीले भदौ १५ गतेभित्र जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेर उम्मेदवारहरुको नाम केन्द्रमा पठाउन सर्कुलर जारी गरेपछि जिल्लामा आकांक्षीहरुको दौडधुप बढेको हो ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका केन्द्रीय सदस्य जीवन राईले दावेदारी प्रस्तुत गरेका छन् । उनी मुख्यमन्त्री राजेन्द्रकुमार राईका राजनीतिक सल्लाहकार छन् । सोही निर्वाचन क्षेत्रमा प्रदेशसभा १ तर्फ केन्द्रीय सदस्य सुष्मा राई र नेपाल दलित संगठन सुनसरी अध्यक्ष अमृता रामदान, प्रदेशसभा २ तर्फ धरान अध्यक्ष रेवतीरमण राई र केन्द्रिय प्रतिनिधि परिषद सदस्य लक्ष्मण चौधरी आकांक्षी रहेका छन् ।
सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सासंदका लागि सो पार्टीका पोलिटव्युरो सदस्य धर्मराज निरौला उम्मेदवार बन्ने सूचीमा रहेका छन् । प्रदेशसभा १ तर्फ जिल्ला अध्यक्ष गोविन्द निरौला र २ तर्फ केन्द्रिय प्रतिनिधि परिषद् सदस्य शम्भुप्रसाद आचार्य आकांक्षी रहेका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सासंदका लागि पार्टीका केन्द्रीय सदस्य केशव विष्ट आकांक्षी छन् । उनी यसअघि स्थानीय तह निर्वाचनमा गठबन्धनबाट इहटरी उपमहानगरपालिकाको मेयरमा उम्मेदवार भई पराजित भएका थिए । सोही क्षेत्रको प्रदेशसभा १ तर्फ इटहरी इञ्चार्ज केवल फुयाँल, शुभान गिरी, इटहरी अध्यक्ष गणेश बुढाथोकी र २ तर्फ जिल्ला उपाध्यक्ष रामचन्द्र मटियैत आकांक्षी रहेका छन् ।
सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सासंदका लागि पार्टीका पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रीय सदस्य केशव तिम्सिना र केन्द्रीय परिषद सदस्य डा. सिएन पाठक आकाक्षी रहेका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा १ तर्फ प्रदेश सदस्यहरु परमानन्द पौडैल, बाबुराम बराल र ब्रह्मदेव यादव आकांक्षी छन् । प्रदेशसभा २ तर्फ जावेद आलम, कदमलाल उराँव र कलिम मियाँ दावेदार रहेका छन् ।
नेकपा एकिकृत समाजवादीका नेता केशव विष्टले पार्टी केन्द्रको कार्यतालिका अनुसार भदौ १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरेर प्रदेशसभा निर्वाचन कमिटी, प्रतिनिधिसभा निर्वाचन कमिटीले र भदौ १५ भित्र जिल्ला कमिटीले पठाइ सक्नेछ ।

