भोला लम्साल
श्री कृष्ण जन्माष्टमी भगवान श्री कृष्णको जन्मदिन अर्थात् उत्सवको खुशी र महोत्सवमा लाखौंलाख भक्तजनहरु हर्षोल्लासका साथ श्रद्धासहित मनाउँदै आएको पाइन्छ । कृष्ण जन्माष्टमी नेपालमा मात्र होइन अन्य मुलुक अर्थात् हिन्तु धर्मालम्वी समुदाय भएका राष्ट्रहरुमा धुमधामका साथ मनाइने गरेको छ । गहिरो आस्था र विश्वासका साथ श्री कृष्ण जन्माष्टमीको दिनलाई लिने पुज्ने गरिन्छ ।
श्री कृष्ण भगवानको जन्म कहिले र किन भयो भन्ने सन्दर्भमा स्कन्द पुराण र वेदहरुले स्पष्टका साथ व्याख्या गरेको पाइन्छ । अत्याचारी कंशको बध अनि मर्म र भक्तजनहरुको रक्षाका लागि श्री कृष्ण भगवानले आफ्नो अवतार भाद्र महिनाको कृष्ण पक्ष अष्टमीको मध्यरातको समयमा मथुरामा लिनुभयो । यो समय र दिनमा भगवान स्वयं धर्तीमा अवतरित हुनुभयो । जसलाई कृष्ण नामबाट पुकार गर्न थालियो र यस दिनदेखि श्री कृष्ण जन्माष्टमीको रुपबाट मनाउन थालिएको देखिन्छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा देशका सबै शहर, गाउँहरुमा भगवान श्री कृष्णको मठ–मन्दिरमा पूजा–पाठ अनि भक्तिभावका साथ उत्सव मनाइन्छ ।
श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा श्रद्धालुहरु टाढा–टाढाबाट श्री राधाकृष्ण रथयात्रामा सरिक हुन आउने गरेको देखिन्छ । भनिन्छ जहाँ भक्ति त्यहाँ श्रद्धा अनि भावका कारण ब्रम्हाण्ड सुखी, खुशी तुल्याएको छ । विश्वास र आरधनाले मानवलाई धन्य बनाएको छ । अध्यात्म चिन्तनबाट मानव मुक्तिको मार्ग बन्न सक्दछ । स्कन्द पुराणअनुसार गवान बिष्णुले संसारमा धर्मको रक्षा र अधर्मको नासका लागि अनेकौं अवतार लिनुभएको बताइन्छ । यसअनुसार भगवानको एक अवतार द्वापर युगमा भगवान बिष्णुले श्री कृष्णको रुपबाट यस धर्तीमा अवतार लिनुभयो । श्री कृष्ण भगवानको यो पावन तिथि र मितिलाई प्रतयेक वर्ष श्री कृष्ण जन्माष्टमी अर्थात् जन्मोत्सवको रुपबाट मनाउँदै आएको हो नेपालमा प्रत्येक वर्ष धुमधाम अनि विश्वास र श्रद्धाका साथ लिने र मनाउँदै आएको पाइन्छ । भगवान श्री कृष्णको सम्पूर्ण जीवन प्रेरण मानव जीवनका लागि एक अमूल्य गाथा र भक्तिसार बनेको देखिन्छ । र जीवनको दिशा र मुक्तिको मार्ग बनेको पाइन्छ । श्री कृष्ण जन्माष्टमी महोत्सवको पावन अवसरमा देशका सबै कृष्ण मन्दिरहरुमा फूलबत्ती झिलिमिली रंगीबिरंगी बत्तीहरुको आकर्षक ढंगबाट सजावत गरेर भक्तिसंगीत र गीतले किर्तन गाउँदै भगवानका झाँकीसहित कृष्ण जन्माष्टमी भव्य–सभ्य तरिकाबाट मनाउँदै धार्मिक सहिष्णुता कायम राख्दै सद्भाव, एकता अनि मानव कल्याणका लागि सत्प्रेरणा प्रदान गरेको पाइन्छ । कृष्ण जन्माष्टमीका पावन अवसरमा श्री राधाकृष्ण रथयात्रा घुमाउने गरिन्छ । वेद र पुराणका अनुसार रथयात्राको महत्व र महिमालाई स्वीकार गरेको देखिन्छ । राधाकृष्ण रथयात्राले आफ्नै विशेषता र धार्मिक महत्व बोकेको पाइन्छ । नेपालको विभिन्न क्षेत्रमा कृष्ण जन्माष्टमीको भालिपल्ट रथयात्रा घुमाउने गरेको पाइन्छ । जस्तै विराटनगर, काठमाण्डौ, इटहरी, विराटचोक र अन्य गाउँ तथा सहरमा श्री राधाकृष्ण राथयात्राको दिन हजारौं श्रद्धालु भक्तजनहरुको उल्लेख्य सहभागिता रहने गरेको देखिन्छ । आत्मा र परमात्मा जब जोडिन्छ तब त्यहाँ श्रद्धा र भक्तिको जन्म हुन्छ । अनि एउटा मानव अध्यात्म ज्ञानको खोजीमा आफूलाई समर्पित गर्दछ । अध्यात्मले मानवलाई जीउन सिकाउँछ, मर्न सिकाउँछ, अनि जीवनको वास्तविक अर्थ र परिभाष दिलाउँछ । त्यस कारण पनि आजभोलि मानिसको अध्यात्मतिर बढी झुकाव बढ्दै गएको देखिन्छ । धर्मसंस्कृति परम्परालाई जीवन्त तुल्याउन कृष्ण जन्माष्टमी जस्ता पर्व र उत्सवले धर्मको मर्म र मान्यतालाई उचाइमा पु¥याएको देखिन्छ ।
विराटगनरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रामा हजारौं सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने गरेको देखिन्छ । प्रत्येक वर्ष निकालिने रथयात्राले निरन्तरता पाउँदै आएको छ । यस वर्ष पनि विराटनगरले भव्य र सभ्यताका साथ श्री कृष्ण जन्माष्टमीको अवसर पारेर श्री राधाकृष्ण रथयात्रा निकाल्ने तयारी गरेको देखिन्छ । नेपालको औद्योगिक नगरी विराटनगर जो एक नम्बर प्रदेशको राजधानी पनि हो । ऐतिहासिक रथयात्रा निकाल्ने तयारी हुँदैगर्दा यसको व्यवस्थापन पक्षलाई ध्यानमा राख्न जरुरी देखिन्छ । सुरक्षाको दृष्टिकोणले भारतसँग सीमा जोडिएका कारण पनि संवेदनशील हुनुपर्ने देखिन्छ । त्यसका लागि सुरक्षा संयत्तन अझ सवल सक्षम रुपबाट परिचालन हुन आवश्यक छ । तसर्थ सबन्धित पक्ष, नियमनकारी निकायहरु यस तर्फ सतर्क र सजग हुनै पर्दछ । राधाकृष्ण मन्दिर तिनपैनी चौकबाट सुरु गरिने श्री राधाकृष्ण रथयात्रामा राधाकृष्णको युगल जोडीको साथ निस्किने राथयात्रा विराटनगरको विभिन्न चौक हुँदै अर्थात् मुख्यमुख्य चौकहरुको परिक्रमा गर्दै पुनः राधाकृष्ण मन्दिरमा पुगेर सम्पन्न हुनेछ । विराटनगरबाट निकालिने रथयात्रालाई नेपालको ठूलो रथयात्रा मानिन्छ । नेपालको मात्र नभएर भारत, भुटानबाट पनि भक्तजनहरु ठूलो संख्यामा सहभागि हुने गरेको बताइदै आएको छ । विराटनगरबाट निकालिने गरेको रथयात्राको आफ्नै मौलिक विशेषता र धार्मिक महत्व भएको मानिदै आएकोले त्यसलाई महत्वका साथ हेर्ने गरिएको छ । खटयात्राबाट सुरु गरिएको रथयात्रा आजको मितिसम्म आइपुग्दा धार्मिक आस्था विश्वासलाई अझ फराकिलो बनाएको पाइन्छ । नेपालको ऐतिहासिक प्रशिद्ध विराटनगरबाट निकालिने श्री राधाकृष्ण रथयात्राले सार्क राष्ट्रहरुको ध्यान तान्न सफल भएको देखिन्छ ।
कृष्ण जन्माष्टमीको रातलाई मोहरात्रीका रुपमा मनाइन्छ र बुझ्ने गरिन्छ । भगवान श्री कृष्णको जन्म कसरी र कुन अवस्थामा भयो भन्ने धर्मशास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । न बालक जन्मनु अघि असुरक्षित छ र न जन्मिसकेपछि पनि निरन्तर असुरक्षित । भगवान श्री कृष्ण जीवनका संघर्षको जटिलतालाई हामी मानव जातिले शव्दमा लेखेर वयान गर्न सकिदैन । जीवनको भयंकर असुरक्षित षणहरुलाई सहज र सरल ढंगबाट आफूभित्र ग्रहण गर्दै नाचेर अनेकौं लिला रचेर ती चुनौतीहरुको सामना हलुका रुपबाट गरेर अरुको घरमा आफ्नो घरभन्दा प्रिय वातावरण हुर्किने श्री बालगोपालको अधारण क्षमतालाई सामान्य मानवको आँखाबाट हेर्न सकिदैन । बालगोपालका लिला र उनका चञ्चल स्वभावले जीवनमा आइपर्ने हरेक चुनौतीलाई पाखा लगाएको मात्र थिएन, ग्वालिनीहरुका दहीको हण्डी फोडेर मखन खाइदिँदा ग्वालिनीहरु श्री बालगोपालप्रति आक्रोश पोख्दै यशोदासामु श्री कृष्णको पोल सुनाउन व्यस्त हुन्थे । श्री कृष्णका सुमधुर मधुर मुस्कान अनि बाँसुरीको धूनले मथुरावासी मोहित मात्र थिएनन् गलिनीहरु दहीका हण्डी छाडी श्री बालकृष्णका पछिपछि लाग्ने गरेको प्रसङ्ग साँच्चैनै रोचक छ ।
श्री कृष्णले बाल्य अवस्थामा यो लिला रचाएका थिए । बाल्य अवस्थामानै पुतना, बत्सासूर, बकासूर, जस्ता ठूल्ठूला असूरको बध गरेर सृष्टिको त्यो सुन्दर रचनालाई बचाएका थिए । कहिले गोवर्धन पर्वत धारण जस्ता अनेकौं बाल लिला देखाएका थिए । भगवान श्री कृष्णले बाल्यकालमा अन्य गोप बालकहरुसँग मिलेर गोपिनीहरुका घरमा गएर मखन चोरेर खान्थे । यसरी श्री कृष्णका बाल्य अवस्था रोचक र घोचक बनेर हामी मानवजातिका लागि प्रेरणको स्रोत मात्र होइन त्यसबाट प्राप्त हुने ज्ञान श्रद्धाले मानवजातिको कल्याण र मुक्ति मार्ग स्पष्ट देखाएको छ । त्यसैले तन, मन, बचनबाट हरी भक्ति र महिमाको गहिराइमा छुने र डुब्ने कोसिस गरौं । पवित्र विचार, पवित्र हृदयका साथ आत्मालाई परमात्मासँग जोड्दै भक्तिभावमा मनलाई डोहो¥याउँ र साँझ बिहान हरिभक्तिमा मन लगाउँ र सबैले भजौं :
कृष्ण–कृष्ण नाम जपी अन्तिम स्वास छाड्न पाउँ
म चित्तामा चढेको पल तिम्रो चरण चुम्न पाउँ
आखिर मान्छे मृत्युसँग नाता गास्तोरहेछ
संसार छाडी सबले जाने एउटै बाटो रहेछ
यसर्थ मानव चोलाले मात्र इश्वरको गुणगान र्गसक्ने हुँदा भक्तिभावमा आजैदेखि मन लगाऔं र दुई दिनको मानव चोलालाई यो अवसरबाट मुक्ति गराऊ । मानव चोलालाई त्यसै व्यर्थ नफालौं । धर्म संस्कृति सभ्यताको संरक्षणमा आजैबाट जुटौं । धर्मको रक्षाले मात्र मानवको रक्षा हुने हुँदा गितामा भनिएको छ ‘जब जब संसारमा पाप अधर्म बढ्दै जान्छ तब तब मनुष्यको रुपमा मेरो जन्म हुन्छ । अधर्मलाई नाश गर्दै धर्मको रक्षा गर्ने छु र पाप र पुण्य छुट्याउँदै सृष्टिको रक्षा गर्नेछु ।’