धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकालको एक सय दिनमा भएको काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले १०० दिनमा गरेको काम सार्वजनिक गरेका हुन् ।गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मेयर साम्पाङ गठबन्धन र नेकपा एमालेका प्रतिष्पर्धीलाई हराउँदै मेयरमा निवार्चित भएका थिए । उनको सय दिन कार्यकाल पुग्दै गर्दा आमजनता, आलोचकहरुमाझ लेखाजोखा हुन थालेको बेला १३ बुँदै ‘उपलब्धि’ सार्वजनिक गरेका हुन् ।

मेयर साम्पाङले पहिलो बुँदामा नेपालमा श्रम सँस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् । यस्तै चार ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जटाएको, ६ लाख विरुवा रोपेको, सरसफाईमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याएर शान्ति सुरक्षामा सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरि बगरमा बत्ति बालेको उनको दावी छ ।

यस्तै बाटो मर्मत संभार तथा तटबन्धन निर्माण गरि विपद् व्यवस्थापन गरेको, लागुऔषध विरुद्धको अभियान शुरु गरेको, योजनाहरुका लागि बजेटको जोहो गराएको, पारदर्शी हिसाब किताब सार्बजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याएको, शैक्षिक र स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको र फोहोरको दिर्घकालिन समाधानका लागि छलफल थालेको मेयरको दावी छ ।