विराटनगर । २०७४ सालमा एकातिर वाम तालमेल र त्यसमा मिसिएको राप्रपाको मतले पराजित बन्न पुगेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई यस पटकको निर्वाचन भने जित्नै पर्ने दबाब छ ।

सिटौला अहिले सत्ता गठबन्धन तथा सिट बाँडफाँड सम्बन्धी कार्यदलको संयोजक छन् । उनको जिम्मेवारी देशैभरको लेखाजोखा गरेर सिट बाँडफाँडको टुंगो लगाउने रहेको छ । तर, उनै सिटौलाका लागि आफ्नो क्षेत्रको पनि सोही अनुसार लेखाजोखा गर्ने र चुनाव जित्न अपनाउने योजना के हुनसक्छ भन्ने उपाय लगाउनु पर्ने पनि उत्तिकै दबाब छ ।

३१ वर्षदेखि निरन्तर लड्दै सिटौला

झापा क्षेत्रनम्बर ३ मा सिटौलाका लागि विगतदेखि नै त्यति सहज देखिदैन । २०४८ सालदेखि निर्वाचन लड्न सुरु गरेका सिटौलाले एक पटक हार्ने र एक पटक जित्ने गरेका छन् । ‘हाम्रो नेताले लगातार जित्तेको इतिहास छैन,’ काँग्रेस झापाका सभापति देउमान थेबेले भने, ‘अघिल्लो पटक हार्नुभएको छ, यो पटक जित्ने योग परेको छ ।’

थेबेले भनेजस्तै सिटौला ०४८ सालमा एमालेका द्रोणचार्य क्षेत्रीसँग पराजित बनेका थिए । द्रोणाचार्यको निधन भएपछि २०५० सालमा भएको उपनिर्वाचन उनै सिटौला विजयी भए । त्यसबेला एमालेका लिला उदासीलाई सिटौलाले पराजित गरेका थिए । यस्तै पुनः ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेकै पुष्प पोखरेलसँग पराजित बनेका सिटौला ०५६ सालको निर्वाचनमा भने विजयी बने ।

त्यसपछि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा माओवादीका उम्मेद्वार पूर्णप्रसाद राजवंशीसँग पराजित भएका सिटौला २०७० सालको दोस्रो संविधानसभामा पुनःमाओवादीकै धर्मशीला चापागाईंलाई पराजित गरेर विजयी बने । फेरि सिटौला ०७४ सालको निर्वाचनमा पराजित बनेका छन् ।

उनै सिटौला निर्वाचन लड्न सुरुवात गरेको ३१ वर्षपछि सोही क्षेत्रबाट पुनःनिर्वाचन लड्ने तयारी गरिरहेका छन् । ‘हाम्रो गठबन्धनको तर्फबाट उम्मेद्वार बन्ने कृष्ण सिटौलाज्यू नै हो,’ थेबेले भने, ‘काँग्रेसबाट अर्को विकल्प कोही छैन, यसबारे मैले केही भनिरहनु परेन ।’
माओवादीले सिटौलाई सहयोग गर्ने, एमालेले लिङ्देनलाई !

माओवादी केन्द्रका झापा संयोजक राजु आचार्यले पनि गठबन्धन भएको खण्डमा आफूहरुको संघमा दाबी नरहने बताउँछन् । ‘हामीले प्रदेशको निर्वाचन क्षेत्र माग गर्ने हो, संघमा हाम्रो दाबी रहँदैन,’ आचार्यले भने, ‘गठबन्धन नबनेको खण्डमा मात्रै हामीले सोच्ने कुरा आउँछ ।’
यता, नेकपा एमालेले भने दुर्गा प्रसाईलाई अगाडि सारिरहेको छ । माओवादी अध्यक्ष प्रचण्डसँग निकट रकेको भनेर प्रचारित प्रसाईँ नेकपा विभाजनपछि भने एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र बनेका छन् । प्रसाई आफ्ना लागि ओलीले टिकट दिने बताउँदै आएका छन् । एमाले अध्यक्ष ओलीले सोही क्षेत्रमा बिहीबार आयोजित एक कार्यक्रममा पनि प्रसाईंका लागि भोट मागेका थिए । तर, आफ्नो जित सुनिश्चित गर्नका लागि ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने भित्री तयारी गरेको धेरैको बुझाइ छ । ‘राप्रपाका अध्यक्ष लिङ्देनलाई उठाउने ओलीको तयारी देखिन्छ, यो आफ्नो क्षेत्र सुरक्षित गर्ने प्रयास हो,’ माओवादी नेता आचार्यले भने, ‘अहिले दुर्गा प्रसाईलाई अगाडि सार्नु खासै नबुझिने कुरा होइन ।’ प्रसाई बिर्तामोडको बि एण्ड सि र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन् ।

ओलीले झापामा बिहीबार आयोजित एक कार्यक्रममा गठबन्धन कमजोरहरुले गर्ने बताए । उनले आफूहरु एक्लै भिड्न तयार रहेको बताए । ‘कमजोरहरु गठबन्धन गर्दैछन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन् । अपवित्र साँठगाँठको नाम हो गठबन्धन,’ उनले झापाकै केचनाकवलमा आयोजित कार्यक्रममा भनेका छन् । सोही कार्यक्रममा प्रसाईले भने एमालेले प्रत्यक्ष र समानुपातिक दुबै स्थानमा सूर्यमा मत हाल्न पाउनु पर्ने भन्दै भाषण गरेका थिए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य हिक्मतकुमार कार्कीले उम्मेदवारीबारे अहिले टुंगो नलागेको बताए । ‘हामीले आउँदो भदौभित्र सबै उम्मेदवारको टुंगो लगाउँछौं,’ कार्कीले भने, ‘एमाले एक्लै लड्दा पनि क्षेत्र नम्बर ३ मा हरि राजवंशी, बसन्त बानियाँ, दुर्गा प्रसाई, जीवन श्रेष्ठ र चन्द्र श्रेष्ठलगायतको नाम आएको छ, गठबन्धन हुने अवस्थामा भने जो पनि हुनसक्छ ।’ कार्कीले झापामा स्थानीय आवश्यकताका आधारमा जुनसुकै दलसँग पनि तालमेल हुनसक्ने बताए । ‘हामी देशैभरी एउटै घोषणापत्र बनाएर लड्दैनौं,’ कार्कीले भने, ‘स्थानीय सापेक्षतामा तालमेल जुनसुकै दलसँग पनि हुनसक्छ ।’ झापा ३ मा राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्षले छोडेको भनेर हल्ला आएको भएपनि आधिकारिक जानकारी नभएको कार्कीले बताए । ‘हामीलाई मिडियाबाट आएको कुरा भन्दा बाहिर आधिकारिक पार्टीको च्यानलबाट तालमेलको कुरा आएको छैन,’ कार्कीले भने, ‘आज कै भेटघाटमा पनि पार्टी अध्यक्ष ज्यूले यसबारे केही भन्नु भएन ।’

यता, राप्रपाका झापा अध्यक्ष केशव ओझाले जुनसुकै दलसँग पनि तालमेल गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई रहेको हुनाले सोहीअनुसार झापाको विषयमा पनि छलफल हुने बताए । दलहरु एक्लाएक्लै लड्दा आफूहरु स्पष्ट ढंगले विजयी बन्ने दाबी गर्दै उनले सत्तारुढ दलबीच गठबन्धन भएको खण्डमा राप्रपा एमालेसँग नमिले पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा रहेको बताए । ‘हामी एमालेसँग तालमेल नगरे पनि एक्लै प्रतिस्पर्धा गर्न सक्छौं,’ ओझाले भने, ‘तर, देश गठबन्धन संस्कृतिमा गइसकेको कारणले हामी पनि त्यहीअनुसार गठबन्धन होला भन्ने मनसायका साथ बसिरहेका छौं ।’ उनले ०७४ सालमा जस्तो एउटा सिटका लागि मात्रै गठबन्धन नहुने बताए । ‘देशैभरी कति सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषय आउला, विगतमा जस्तो एउटा मात्रै सिटमा गठबन्धन नहोला,’ उनले भने, ‘ झापामा पनि गठबन्धन गर्दा कुनकुन संघीय निर्वाचन क्षेत्र र कुन प्रदेश निर्वाचन क्षेत्रमा कति पाउने भन्ने विषय स्पष्ट हुनुपर्छ ।’

स्थानीय तह निर्वाचनको परिणामः

स्थानीय तह निर्वाचन २०७९ को परिणामअनुसार सो क्षेत्रमा नेपाली काँग्रेस बलियो छ । २८ वटा वडामध्ये काँग्रेस एक्लै १६ वडामा विजयी भएको छ । यस्तै राप्रपाले ५, एमालेले ४, माओवादीले २ र १ वडा स्वतन्त्रले जितेका छन् ।

वडागत मत परिणाम अनुसार झापा ३ नम्बर क्षेत्रमा एमालेको मत २१ हजार ८५ रहेको छ । काँग्रेसको भने २५ हजार ९४९ मत रहेको छ । यस्तै राप्रपाको २१ हजार १५९, माओवादी केन्द्रको ६ हजार ६८८ मत रहेको छ । जनता समाजवादीको मतभने ५३७ मत रहेको छ । नेकपा एसको मतभने १२ मात्रै रहेको छ ।

यो मतकाआधारमा भन्ने हो भने राप्रपा र एमालेबीच गठबन्धन भए सिटौलालाई भारी हुने देखिन्छ । राप्रपा र एमाले मिल्दा सो क्षेत्रमा ४२ हजार २४४ मत हुन्छ भने अन्य सत्तापक्षका दल मिल्दा जम्मा ३३ हजार १८६ मतमात्रै हुन्छ । संघीय निर्वाचनमा पनि यही मत कायम रहे सिटौलाले गठबन्धनको मत जोगाउँदै राप्रपा र एमालेका असन्तुष्ट भोट लिनका लागि ठूलो कसरत गर्नुपर्ने देखिन्छ ।
२०७४ सालमा तीनदल भर्सेज काँग्रेस थियो

२०७४ सालको निर्वाचनमा झापामा वाम गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि मिसिएको थियो । देशैभरीमा सबैभन्दा राम्रो जनमत रहेको राप्रपाले झापाको क्षेत्र नम्बर ३ मा वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादीको समर्थनमा राजेन्द्र लिङ्देनलाई उठाएको थियो । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै लिङ्देन विजयी बनेका थिए । त्यसबेला लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मत पाएका थिए ।

प्रदेशसभामा पनि क्षेत्र नम्बर ३ (१) मा तीन दलीय गठबन्धन एमाले, माओवादी र राप्रपाको तर्फबाट उम्मेदवार बनेका एमालेका बसन्तकुमार बानियाँले २२ हजार ५३५ मतल्याएर विजयी बन्दा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशीले १७ हजार पाँच मत ल्याएका थिए ।यस्तै प्रदेशसभाको क्षेत्र नम्बर ३ (२) मा भने तीन दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादीका पूर्णप्रसाद राजवंशीले २२ हजार ६५ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भागिरथकुमार पोद्धारले १४ हजार ७३५ मत ल्याएका थिए ।