विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ ।
त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

अब राष्ट्रिय सभाले पनि पारित गरेपछि यो विधेयक दोश्रो पटक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुग्नेछ। दोश्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने व्यवस्था संविधानको धारा ११३ मा उल्लेख छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचार गर्नु उपयुक्त हुने बताएको थियो। एमालेले राष्ट्रिय सहमति गरेर अथवा प्रतनिधि सभाको समितिमा पठाएर विधेयक पुर्नविचार गर्नुपर्ने धारणा राखेको थियो। तर सरकारले जस्ताको तस्तै विधेयक पारित गर्ने बताएको थियो।

सरकारले जस्ताको तस्तै पारित गर्ने बताएपछि सभामुख अग्नि सापकोटाले विधेयकको पुनर्विचार सम्बन्धि छलफल र पारित गर्ने प्रक्रिया अघि बढाएका थिए।

सत्तापक्षले नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने अडान लिएपछि नेकपा एमालेले नागरिकता विधेयकमा मत विभाजन मागेको थियो। एमालेका २८ भन्दा धेरै सांसदले उभिएर नागरिकता विधेयक पारित गर्न मत विभाजन मागेका थिए। एमाले सांसद विशाल भट्टराईले राष्ट्रप्रमुखले पुनर्विचार गर्नका लागि पठाएकाले हुन्छ र हुन्न भन्नेमा लैजान नहुने बताएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगिकृतको व्यवस्था र महिलाले आफ्ना सन्तानलाई नागरिकता दिदाँ स्वघोषणा गर्नुपर्ने व्यवस्था सहितका विषयमा पुनर्विचार गर्न प्रतिनिधि सभालाई ८ बुदेँ सुझाव सहित पत्र पठाएकी थिइन्।

गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधि सभा बैठकमा विधेयक पारित गर्न प्रस्ताव गर्नु अघि राष्ट्रपतिले उल्लेख गरेका विषयमा संविधान संशोधन गर्नुपर्ने अवस्था रहेको बताएका थिए। उनले सरकारले संविधानमा टेकेर विधेयक ल्याएको उल्लेख गरेका थिए। त्यस्तै विधेयक पारित नगर्दा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाले समस्या उत्पन्न हुने बताएका थिए।

प्रतिनिधि सभाको बहुमतले नागरिकता विधेयक दोश्रो पटक पारित गरेको हो। यसअघि पहिलोपटक ध्वनी मतद्वारा नागरिकता विधेयक प्रतिनिधि सभाले पारित गरेको थियो।