विराटनगर । पूर्वी पहाडी जिल्ला भोजपुरमा संघीय निर्वाचन क्षेत्र एउटा छ । उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्ने भीआइपी आकांक्षी चार जना छन् ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई, वर्तमान मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, माओवादीका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ चुनावी दौडमा छन् । यस्तै नेपाली काँग्रेसका यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका उमेशजंग रायमाझी पनि चुनावी दौडमा छन् ।

राईहरूको दबदबा रहेको भोजपुरमा शेरधन राईले यसअघि नै आफू संघीय संसदमा उठ्ने बताइसकेका छन् । ०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई ०६४ सालको संविधानसभाको निर्वाचनमा भने पराजित बनेका थिए । उनले ०६९ सालको संविधानसभा निर्वाचनमा पुनः विजयी बन्दै सञ्चारमन्त्रीको समेत भूमिका निभाउने अवसर पाएका छन् ।

संघीयताको कार्यान्वयन सँगै भएको ०७४ सालको निर्वाचनमा भने एमाले र माओवादी केन्द्रबीच बनेको बाम गठबन्धनको उम्मेद्वार बन्दै उनी भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट अत्याधिक मत ल्याएर विजयी बनेका थिए । राईले २० हजार ३३४ मत ल्याउँदा काँग्रेस र जसपाको गठबन्धनका उम्मेद्वार बनेका काँग्रेसका गोविन्द बहादुर कार्कीले ७ हजार १०५ मत मात्रै ल्याएका थिए ।

त्यसपछि नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा अप्रत्याशित जित हात पार्दै राई प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए । उनले झण्डै साढे ३ वर्ष मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका छन् । शालिन र सन्तुलित भूमिकामा रहन रुचाउने उनलाई प्रदेश १ को मुख्यमन्त्री रहँदा प्रदेशको नाम दिन नसकेको आरोप लागिरहेको छ । उनले आफू संघीय सांसदको लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । ‘यस पटक संघीय संसदमा प्रतिस्पर्धा गर्छु,’ उनले भने ।

यता, बाहलवाला मुख्यमन्त्री नेकपा एसका सचिव राजेन्द्रकुमार राईले पनि आफ्नो संघीय संसदमा चुनाव लड्ने इच्छा रहेको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै राईले ‘प्रदेशको मुख्यमन्त्री भइसकेको अवस्थामा अब माथिल्लो सदनमा जाने’ बताएका थिए ।

विद्यार्थी राजनीतिबाट उदाएका राई नेकपा एमाले विभाजन नभएको भए मुख्यमन्त्री बन्ने सम्भावना कम थियो । त्यही भएकोले उनी बेलाबेला भन्छन्, ‘मैले यही कार्यकालमा मुख्यमन्त्री बन्छु भन्ने सोचेको पनि थिइन ।’ उनै राईले भोजपुरबाटै चुनाव लड्ने बताइरहे पनि उनकालागि गठबन्धनले सहमतिगर्दा नेकपाएसको भागमा पर्ने सम्भावनाकम देखिन्छ । किनकी नेकपा एसको भन्दा बलियो जनाआधार भएका गठबन्धन दलका काँग्रेस र माओवादी केन्द्रलाई उक्त क्षेत्र छोडाउन निक्कै पापड बेल्नुपर्ने देखिन्छ ।

भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट राईले १९ हजार २९७ मत ल्याउँदा काँग्रेस र जसपाको गठबन्धनबाट अजम्बर राई काङमाङले ११ हजार ५४१ मत ल्याएका थिए । काङमाङ हाल माओवादी केन्द्रमा छन् ।

यसैगरी माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर राई काङमाङले पनि आफ्नो इच्छा संघीय संसदमा लड्ने रहेको बताए । ‘मेरो पहिलो चाहना भनेको संघमै लड्ने हो, तर पार्टीभित्रको सहमति र गठबन्धनबीचमा हुने वृहत्तर सहमतिले त्यसको निर्धारण गर्छ,’ उनले भने, ‘होइन भने अर्को ढंगले पनि सोच्न सकिन्छ ।’ संघमा यसअघि जितेको र स्थानीयतहको निर्वाचन २०७९ मा पनि उल्लेख्य मत ल्याएको कारण आफूहरुले पाउनु पर्ने काङ्माङ बताउँछन् ।

यता, राष्ट्रिय राजनीतिमा उदयीमान युवा नेताको छवि बनाएका सुदन किराँती पनि भोजपुरबाटै संघीय संसदमा निर्वाचन लड्ने सशक्त दाबेदार हुन् । माओवादी जनयुद्धको समयमा जेल नेल भोगेका उनी पछिल्लो समय लोकप्रिय छन् । निर्वाचन जितेर पनि आफ्नो क्षेत्रमा जाने, जनताको आवाजलाई संसदमा सशक्त रुपमा प्रस्तुत गर्ने र राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दामा फरक ढंगले प्रस्तुत हुने किराँती सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । उनी बेलाबेलामा आफ्ना पार्टीका शीर्ष नेताहरुले गरेका गलत क्रियाकलापको पनि आलोचना गरिरहन्छन् ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता शेरधन राईलाई हराएर विजयी भएका किराँती ०६९ सालमा भने उनै राईसँग पराजित बनेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता किराँतीले ३४ हजार ३९४ मत ल्याउँदा काँग्रेस र जसपासहितको गठबन्धनमा काँग्रेसका उम्मेद्वार उमेशजंग रायमाझीले २१ हजार ६९६ मतमात्रै ल्याएका थिए । त्यसबेला नेपाल कम्युनिष्ट पार्टी (माले)का अनिल बस्नेतले २ हजार ६०१ मत ल्याएका थिए । किराँतीले आफू पटकपटक चुनाव लडेको र अबकति पटक लड्नु हौ भन्ने खालको अभिव्यक्ति दिएका छन् । ‘तीन पटक त चुनाव लडियो, अझै कति लड्नु जस्तो पनि लागेको छ,’ उनले भने ।

यद्यपि किरातीले सांसद मात्रै बन्नका लागि चुनाव नलड्ने बताउन थालेको उनी निकट स्रोतले बतायो । एक पटक निर्वाचन जितेर संघीय मन्त्री बन्ने उनको धोको रहेको उक्त स्रोतको दाबी छ । गठबन्धन गर्दा पनि भोजपुर माओवादीले पाउने सम्भावना बलियो भएको क्षेत्र हो । आफ्नै पार्टीका अर्का नेता अजम्बर काङमाङलाई उक्त क्षेत्र छोड्नु पर्ने अवस्थामा आफू प्रदेश १ को मुख्यमन्त्री बन्नुपर्ने दाबी किराँतीले गरेको बताइएको छ ।

स्थानीय तह निर्वाचन परिणाम यस्तो छ

गत २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनको वडाध्यक्षको मत परिणाम अनुसार जिल्लामा एमाले ठूलो पार्टी छ । एमालेले जम्मा २७ हजार ६ सय ५६ मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २३ हजार ५९१ र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १४ हजार ७ सय ५८ मत रहेको छ ।

चौथो र पाँचौंमा रहेका नेकपा एस र समाजवादीको क्रमशः १ हजार ९ सय ४५ र १ हजार ४ सय ९८ मत रहेको छ । अहिलेका सत्ता गठबन्धन दलहरु मिलेको खण्डमा एमालेलाई ठूलो भारी पर्ने देखिन्छ । स्थानीय मत परिणाम अनुसार गठबन्धन चार दल काँग्रेस, माओवादी, नेकपा एस र जनता समाजवादीको मत जोड्दा ४१ हजार ७२९ मत हुन्छ भने एमालेको त्यो भन्दा १४ हजार कम अर्थात् २७ हजार ६५६ मत रहन्छ ।