विराटनगर । उच्च अदालत विराटनगरले आर्थिक वर्षमा देशभरीमा सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा देशभरीमा रहेको ७ वटा उच्च अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गर्ने उच्च अदालत विराटनगरको बनेको हो ।
सो आर्थिक वर्षमा ६०.४५ प्रतिशत अर्थात ३ हजार २४ थान मुद्दा फछर्यौट गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबावु थपलियाले जानकारी दिए । सर्वोच्च अदालतको अभिलेख अनुसार विराटनगरपछि दोस्रोमा मुद्दा फछ्र्यौट गर्ने उच्च अदालत जनकपुर रहेको छ । उच्च अदालत जनकपुरले ४९ प्रतिशत अर्थात ४ हजार ७२४ मुद्दा दर्ता भएकोमा २ हजार ३२२ फछ्र्यौट गरेको छ ।
उच्च अदालत विराटनगरमा आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको १ हजार ५५३ थान मुद्दा जिम्मेवारी सरेर र ३ हजार ४४९ थान नयाँ दर्ता गरि जम्मा ५ हजार २ थान मुद्दा रहेको थियो । दर्ता भएकोमध्ये ३ हजार २४ थान मुद्दा फछ्र्यौट भएको छ भने १ हजार ९७८ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।
अदालतले ६ महिना ननाघेको सरल माध्यमबाट दर्ता भएकामध्ये ८२६ मुद्दा फछ्र्यौट भएको जनाएको छ । १८ महिना ननाघेको सामान्य १ हजार ५८५ थान मुद्दा फछ्र्यौट भएको अदालतको अभिलेखमा देखिन्छ । अदालतमा दुई वर्ष नाघेको एउटा पनि मुद्दा बाँकी छैन ।
दुई वर्षे मुद्दा शुन्यमा ल्याउने कुरामा प्रथम भएको र अहिलेसम्मको विराटनगरको इतिहासमा एतिहासिक रेकर्ड कायम गर्न सकेको मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले बताए । उनले योजनाबद्ध ढंगले छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन गरेको पनि बताएका छन् ।
उच्च अदालतमा सबैभन्दा धेरै मुद्दा फछ्र्यौट न्ययाधीश कृष्णकमल अधिकारीले गरेका छन् । उनले एक वर्षमा ५६९ थान मुद्दा फछ्र्यौट गरेका छन् । न्यायाधीश रामबहादुर थापाले अदालतको जनआस्थालाई जोगाउन सबै लाग्नुपर्नेमा जोड दिँदै अदालतबाट हुने न्याय सम्पादन छिटो र छरितो सेवा प्रभावमा लागि परेको उनले बताए ।

