लोड हुँदैछ...

मेनु

मनोरोगी बढेको बढ्यै सरकार टुलुटुलु हेर्दै

मनोरोगी बढेको बढ्यै सरकार टुलुटुलु हेर्दै

साउन दोस्रो साता झापाको कचनकवल गाउँपालिकामा एकै गाउँका तीन जना किशोरीहरु एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परे । घटना अति नै संवेदनशील भएकोले प्रहरीले उच्चस्तरीय अनुसन्धान टोलीबाट छानविन गरायो । तर, तीन किशोरीहरुको मृत्युको कारण हत्या नभएर सामुहिक आत्महत्या हुनसक्ने निष्कर्र्शमा लगभग प्रहरी पुगेको छ ।
गत जेठमा नुवाकोट ककनीमा एक अधबंैसे व्यक्तिले बिजुलीको हाइटेन्सन तारमा चढेर ९ घण्टासम्म तमासा देखाए । सुरक्षाकर्मीले निक्कै प्रयास गरेपछिमात्र उनको उद्धार सभव भयो । त्यसरी भोकभोकै ज्यान जोखिममा मोलेर हाइटेन्सन तारमा चढेर तमासा देखाउनुपर्ने कारण उनको रहर वा पराक्रम नएर उनको मनोरोग रहेछ ।

गत वर्ष संखुवासभाको मादी नपाको खोलागाउँमा कार्की थरका एकै परिवारका छ जनाको नरसंहार भयो । उक्त हत्या गर्ने अरु कोही नभएर आफ्नै वंशभित्रका भाइ र उनका छोराहरु थिए । हत्या गर्नुपर्ने कारण मात्र होच्याउने गरेको रिसइबी थियो । र हत्या गर्ने मुख्य व्यक्ति वैदेशिक रोजगारको असफलताले मनोरोगी बनेका थिए ।

मानव सेवा आश्रम विराटनगरले सडकमा कष्टकर जीवन बिताउन बाध्य व्यक्तिहरुको उद्धार गरेर संरक्षण गर्दै आएको छ । उद्धार गरेर आश्रममा ल्याएका सयांैमध्ये आधाभन्दा बढी मानिसहरु मनोरोगी हुनेगरेका छन् । मानसिक रोग लागेकै कारण उनीहरुलाई परिवारले परित्याग गर्ने गरेको पाइएको छ । आश्रममा आएपनि सबै मनोरोगीहरुले उचित उपचार पाउन सकिरहेका छैनन् ।

माथिका केही घटना र अवस्थाहरु प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ताखाले अवस्था र घटनाहरु समाजमा आजकल दिन दुगुना रात चौगुनाले बढ्दो छ । र, यसको मूल जरो आजकल नेपालमा बढ्दो मानसिक स्वास्थ्य र मनोरोगको समस्या हो । आजकल हरेक गाउँ र टोल मात्र नभएर घर घरमा मानसिक रोगीहरु बढ्न थालेका छन् । अझै मानसिक रोग र रोगीहरुबारे समाजमा गलत धारणा र अन्धविश्वासहरु कायमै छन् । अझै पनि मानसिक रोग डाक्टरले हैन धामीले मात्र निको पार्छन् । एकपल्ट रोग लागेपनि निको हुँदैन र रोगी फेरि सहज जीवन बााच्न सक्दैन भन्नेजस्ता अन्धविश्वास उस्तै छन् ।
तर, दिन दुगुना रात चौगुनाले मानसिक समस्या बढेपनि उपचार र रोगथामको अवस्था भने शून्यप्रायः छ । संघ, प्रदेश र स्थानीय सरकारहरु अझैपनि मानसिक रोगको रोगथाम र रोगीहरुको उपचारकालागि उदासीन छन् । तर, सरकारहरु यो रोगबारे समाजिक चेतना जागाउन ध्यान कत्तिपनि ध्यान दिएको छैन । सरकारहरु मानसिक रोगका लागि पर्याप्त बजेट उपलब्ध गराउनु त परै मानसिक स्वास्थ्य नीति पनि बनाउन चाहिरहेका छैनन् ।

नेपालमा दिनदिनै मानसिक स्वास्थ्य र मनोरोगको समस्या बढ्दै गइरहेपनि रोकथाम र उपचार सेवाको अवस्था पनि अझै सीमित अवस्थामा छ । सरकारले मनोरोगको उपचारकालागि पर्याप्त चिकित्सक र नर्सहरु उत्पादन गर्न, स्वास्थ्यकर्मीहरुलाई तालिम दिन, शिविरहरु संचालन गर्न र नीति निर्माण गरेर पर्याप्त बजेटको व्यवस्था गर्न कन्जुस्याँई गरिरहेको छ ।

नेपालमा ‘दिन दुगुना रात चौगुना’ मानसिक रोगी र स्वास्थ्य समस्या बढदै गएपनि अझैसम्म एउटा मात्र सरकारी मानसिक अस्पताल रहेको छ । अझै सबै जिल्ला र प्रदेशका सरकारी अस्पतालहरुमा मानसिक विभाग सञ्चालनमा आउन सकेका छैनन् । आएपनि ती नाम मात्रका छन् । कडा खाले मानसिक रोगीहरुले अझै निःशुल्क औषधि पाउन सकेका छैनन् । आर्थिक अभावले औषधि नियमित सेवन गर्न नपाउँदा उनीहरु झन् जोखिममा परिरहेका छन् । स्वास्थ्य केन्द्रहरुमा मानसिक रोगको उपचार पाउने कुरा अझै आकासको तरु आँखा तरी मरुँ’ कै अवस्थामा छ ।

जानकारीमा आएअनुसार नेपालमा ३५ देखि ५० हजार कडा खालका र २० देखि ३० लाख नरमखालका मनोरोगीहरु छन् । तर अझैपनि नेपालमा मनोचिकित्सकहरु करिब दुई सय जना र केही विशेषज्ञ नर्सहरु मात्र सक्रिय छन् । केही मेडिकल कलेजहरुमा मानसिक विभाग भएपनि सबैले उपचार गराउने गरेका छैनन् । अनि सरकारले पनि कूल स्वास्थ्यमा छुटिने बजेटको एक प्रतिशत मात्र मानसिक स्वास्थ्यकालागि छुटयाउने गरेको छ । स्थानीय र प्रदेश सरकारहरुले त मानिसक स्वास्थ्यका लागि कत्तिपनि बजेट छुटाउने गरेका छैनन् । उनीहरुले अझैपनि मानसिक स्वास्थ्य र मनोरोगलाई समस्या नै मान्न चाहिरहेका छैनन् । रोकथाम, उद्धार, संरक्षण र उपचारबारे अभियान थाल्ने कुरा त परै कै कुरो भो ।

नेपालमा समाजिक द्वन्द्व, असफल वैदेशिक रोजगार, बेरोजगारी, गरिबी, जातीय विभेद असफलता, लागुऔषध प्रयोग, पारिवारिक असन्तुष्टि आदि अनेक कारणहरुले मानसिक स्वास्थ्य समस्या बढिरहेको छ । जसले गर्दा वर्षेनी दश हजार बढीले आत्महत्या गरेर ज्यान गुमाइरहेका छन् । देशको धेरै सक्षम युवा जनशक्ति पनि मनोरोगकै कारण ज्यान गुमाउन बाध्य भैरहेका छन् । तर, यति धेरै समस्या भइसक्दा पनि सरकारहरु भने अझै मानसिक स्वास्थ्यकालागि नीति बनाउन चाहिरहेका छैनन् । भएका पुराना नीतिहरु पनि कार्यान्यवनमा आउन सकेको छैन ।

नेपालमा मानसिक स्वास्थ्य निति १९७१, दोसो दीर्घकालीन स्वास्थ्य योजना २०१० आधारभूत स्वास्थ्य सेवा प्याकेज २०२०, अपाङ्गता कल्याण ऐन २०३९ र नेपालको अन्तरिम संविधान २०६३ र नसर्ने रोगहरुको कार्यतालिका २०७० र ०७७ ले केही मानासिक स्वास्थ्यकाबारे बोले पनि त्यो पर्याप्त छैन । यसैले संघ, प्रदेश र स्थानीय सरकारहरुले मानसिक स्वास्थ्य समस्या रोकथाम र रोगीहरुको उद्धार, उपचार र संरक्षणका लागि प्रष्ट नीति बनाउन चासो दिनुपर्छ । किनभने नेपाल अपाङ्गता भएकाहरुको महासन्धि २००६ को पक्ष राष्ट्र पनि भैसकेको छ । अब प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमा अलग्गै मानसिक महाशाखा स्थापना गरेर जिल्लामा अलग्गै शाखा मार्फत् मानसिक स्बास्थ्यबारे जनचेतना जगाउन र उपचारबारे चासो दिन आवश्यक छ । साथै प्रदेशमा मानसिक रोगको रोकथाम र उपचार अनि बिरामीहरुको पुनसर््थापनाका लागि विशिष्टकृत अस्पताल र हेरचाह केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याउनु पनि जरुरी भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।