विराटनगर । संघ र प्रदेश संसदको निर्वाचन घोषणा भएसँगै कुन क्षेत्रमा को बलियो छ भन्ने अनुमान र विश्लेषण भइरहेको छ । २०७४ सालको निर्वाचनको नतिजा र २०७९ सालको नतिजालाई आधार बनाएर आगामी चुनाबको विश्लेषण भइरहेको छ । तर, विगतको नतिजा हेर्दा त्यो विश्लेषण तथ्यगत नभएको पाइएको छ ।
२०७४ सालमा भएको संघ र प्रदेशको निर्वाचनामा दुई ठूला बाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनाब लड्दा काँग्रेस कमजोर बनेको थियो । अहिले गठबन्धन विभाजित भएर नेकपा एमाले पनि दुई टुक्रा भएको छ ।
सत्तामा रहेका ५ दलहरुले गएको स्थानीय तह निर्वाचनमा करिब ४० प्रतिशत स्थानमा तालमेल गरेको र कतिपय वडामा पनि तालमेल गरेकोले उनीहरुले गत निर्वाचनमा कति मत प्राप्त गरे भन्ने यकिन छैन । अहिले दलहरुका वडाध्यक्षले गत निर्वाचनमा पाएको मतलाई आधार बनाएर को बलियो छ भन्ने विश्लेषण भइहरेको छ । तर, यो विश्लेषण र अनुमान फेल हुने विगतले बताउँछ ।
२०७४ साल वैशाख र असारमा स्थानीय तहको निर्वाचन भएको थियो भने मंसिरमा संघ तथा प्रदेशको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचनमा प्रमुख दलहरु एकाथ स्थानबाहेक छुट्टाछुट्टै चुनाबी प्रतिष्पर्धामा उत्रिएका थिए । संघ र प्रदेशको निर्वाचनमा भने एमाले र माओवादीको गठबन्धन बन्दा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा विलय भइसकेको थियो ।
२०७४ को संघ तथा प्रदेशको निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएकोले स्थानीय तहको निर्वाचनमा दुई दलका वडाध्यक्षले पाएको मतका आधारमा मोरङको क्षेत्र नं. २ मा बाम गठबन्धन धेरै बलियो थियो । यस्तै काँग्रेसमा फोरम लोकतान्त्रिक एकीककरण भएपछि क्षेत्र नं. ४ मा बाम गठबन्धनभन्दा काँग्रेस बलियो थियो । तर, निर्वाचन परिणाम सार्वजनिक हुँदा क्षेत्र नं. २ मा काँग्रेसका मिनेन्द्र रिजाल विजयी भए भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भए ।
क्षेत्र नं. २ मा काँग्रेसका रिजालले ३५ हजार ८१९ मत ल्याएर बाम गठबन्नबाट उम्मेदवार बनेका नेकपा एमालेका ऋषि पोखरेललाई पराजित गरेका थिए । पोखरेलले ३४ हजार १४ मत प्राप्त गरे । जबकी २०७४ को स्थानीय तह निर्वाचनमा भने सो क्षेत्रमा पर्ने २८ वडामा काँग्रेससहित फोरम लोकतान्त्रिकको मत २३ हजार १४७ मात्र थियो भने बाम गठबन्धनको मत ३० हजार १३४ थियो । स्थानीय तहमा काँग्रेसभन्दा बाम गठबन्धनको मत ६ हजार ९८७ धेरै भएपनि संघीय निर्वाचनमा बाम गठबन्धनलाई काँग्रेस उम्मेदवार रिजालले १ हजार ८०५ मतान्तरले पराजित गरेका थिए ।
रतुवामाई नगरपालिकाका १० वटा वडा, सुनवर्षी नगरपालिकाका ९ वटा, कानेपोखरी गाउँपालिकाको १, २ र ३, पथरी शनिश्चरे नगरपालिकाका ५ र ६ तथा रंगेली नगरपालिकाका १,२, ३, ८ र ९ नम्बर वडा क्षेत्र नं. २ मा समेटिएको छ । क्षेत्र अन्तर्गत सबै पालिकामा स्थानीय तहमा बाम गठबन्धनको मत अगाडि रहेकोले आधारमा सहजै जित निकाल्ने दावी गठबन्धनको थियो । तर, परिणाम त्यस्तो आएन ।
मोरङकै क्षेत्र नं. ४ मा पनि त्यस्तै नतिजा आएको थियो । विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमको बलियो पकड रहेको सो क्षेत्र अन्तर्गत स्थानीय तह निर्वाचन २०७४ मा काँग्रेस र लोकतान्त्रिकका वडाध्यक्षले पाएको मत माओवादी र एमालेका वडाध्यक्षले पाएकोमतभन्दा २ हजार ९५९ ले धेरै थियो । तर, संघीय निर्वाचनमा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई माओवादीका अमनलाल मोदीले ६ हजार ७२९ मतान्तरले पराजित गरेका थिए ।
निर्वाचनमा मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका थिए भने आचार्यले २६ हजार ८०० मत मात्र प्राप्त गरे । जबकि स्थानीय तहमा क्षेत्र अन्तर्गतका २३ वडामा काँग्रेस र लोकतान्त्रिकले पाएको मत २४ हजार ७४३ थियो भने एमाले र माओवादीले पाएको मत २१ हजार ७८४ मात्र थियो ।
क्षेत्र नं. ४ मा बेलबारी नरपालिकाको ५, ६ र ७, विराटनगर महानगरपालिकाको १,२,३,१० र १९ नम्बर वडासहित कटहरी र ग्रामथान गाउँपालिका समेटिएको छ । स्थानीय तहमा राम्रो मत पाएको र पटक–पटक मन्त्री भइहरेको प्रभाबशाली व्यक्तिलाई उम्मेदवार बनाएकोले सहजै चुनाब जित्ने दावी काँग्रेसको थियो । बाम गठबन्धनको सिट भागबण्डा हुने समयमा पनि हार्ने संभावना नरहेको भन्दै एमाले र माओवादी दुबैको रोजाईमा नपरेको उक्त क्षेत्रमा ‘नपत्याइएका उम्मेदवार’ मोदीले भारी मतान्तरसहित जीत निकालेका थिए ।
मोरङको क्षेत्र नं. ३ मा पनि करिब उस्तै अवस्था थियो । स्थानीय तहको निर्वाचनमा बाम गठबन्धन सो क्षेत्रमा २२ हजार भन्दा धेरै मतले अगाडि थियो । तर, निर्वाचनमा जित निकाल्न गठबन्धनका उम्मेदवार भानुभक्त ढकाललाई धौ–धौ नै पर्यो । ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर विजयी बन्दा काँग्रेसका उम्मेदवार सुनिल शर्माले १ हजार ९०७ कम अर्थात ४० हजार ५०५ मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहमा धेरै उम्मेदवार चिन्ह हुने भएकोले बदर मत प्रतिशत धेरै हुन्छ भने संघीय निर्वाचनमा उम्मेदवार थोरै र उम्मेदवारको मात्र चिन्ह मतपत्रमा हुने भएकोले बदर मत कम हुन्छ । गत स्थानीय तह निर्वाचनमा त गठबन्धनको कारण धेरै मत बदर भएको थियो । कतिपय स्थानीय तहमा विजेताले प्राप्त गरेको भन्दै धेरै मत बदर भएको थियो ।
अर्कोतिर स्थानीय तहको निर्वाचनपछि धेरै मतदाता थप हुने भएकोले पनि परिणाम उस्तै नहुनसक्छ । यस पटक १० लाखभन्दा धेरै मतदाता स्थानीय तहको निर्वाचनपछि थप भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहमा व्यक्तिगत प्रभाब, आफन्त, छिमेकी जस्ता कारणले मत मत प्रभावित भएको हुन्छ । त्यसैले स्थानीय तहमा एउटा चिन्हमा मत हालेको मतदाताले संघ र प्रदेशमा त्यहि चिन्हमा मत हाल्छ भनेर भन्न सकिन्न ।
मोरङका तीन निर्वाचन क्षेत्रको मत प्याटर्नको तुलनात्मक अध्ययनबाट स्थानीय तहको निर्वाचन र संघीय निर्वाचनमा एकै तरिकाले मत खस्दैन, बरु ठूलो फरक हुन्छ भन्ने स्पष्ट देखिन्छ । यसबाट अहिले भइरहेको विश्लेषण र अनुमानको आधार सहि सावित नहुने संभावना देखिन्छ ।

