गौरव चापागाईं
सानोमा बच्चा हुँदा घरमा आएर पण्डितजीले डोरो बाँधी दिन्थे अनि अलिठूलो भएपछि जनै लाइयो । के–के मन्त्र पनि पढियो, तर यो जनै लाउनु र त्यो हातमा डोरो बाँध्नुको अर्थचैं कहिल्यै बुझिएन ?
यस वर्ष जनैपूर्णिमा २०७९ साउन २७ गते परेको छ । अगस्ट १२, २०२२ को अंग्रेजी क्यालेन्डर मिति । जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिनको सबैलाई शुभकामना !
आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा । जनैपूर्णिमा मनाउने आफ्नै तरिका र सांस्कृतिक महत्व छ । यो पारिवारिक जमघट र क्वाती दालको भोजको लागि प्रशिद्ध छ । साथै यसलाई रक्षाबन्धनका रुपमा पनि मनाउने गरिन्छ । हामी बिहान सबेरै उठ्छौं, नुहाउँछौं, नजिकैको मन्दिरमा जान्छौं र पण्डितको हातबाट पवित्र धागो वा जनै फेर्ने गर्छौं । त्यसैगरी दाजुभाइ र दिदीबहिनीको राखी पर्व पनि मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई भेटेर हातमा राखी बाँध्ने गर्छन् । राखीपछि दाजुभाइ र दिदीबहिनी मिलेर पूजा गर्छन् । भनिन्छ कि डोरो वा धागो सुरक्षा र खुशीको लागि प्रियजनहरूको शुभकामनाको प्रतीक हो । जनैपूर्णिमा त्यो दिन पनि हो जुन दिन परिवारका सदस्यहरू मिलेर राम्रो खाना बनाइन्छ । यस दिन विशेष परिकार बनाइन्छ जसलाई ‘क्वाती’ भनिन्छ । यो जनैपूर्णिमाको एकरात अघि भिजाइएका नौ प्रकारका दालको मिश्रण हो ।
लगाउनै पर्छ त जनै ?
सबैले खुलेर भन्नुस् तपाइँहरु मध्ये धेरैले जनै पक्कै लगाउनुभाको छैन ! यो साँचो हो है ‘अरु दिन नलगाए पनि आजचैं लगाउँ है !
सुनेको र देखेको पनि छु, आजभोलि प्रायः युवाहरु दुनियाँको आँखा छल्नमा व्यस्त छन् । टप लगाउने, ट्याटु खोप्ने, कपाल रङग्याउने, फाटेको पाइन्ट लगाउने, हातमा ब्याण्ड लगाउने आदि कार्यमा एकदम माथि छन् । तर उनीहरु पवित्र जनै लगाउन हिच्किचाउँछन् ।
हामी सबैलाई त थाहा छ होला नि, हामीलाई सानै हुँदा हजुरबुबाले जनैपूर्णिमाको दिन जनै फेर्न सिकाउनु हुन्थ्यो । त्यसैले आजपनि म जनैपूर्णिमाको दिन बिहानै उठेर स्नान गर्ने र जनै फेर्छु । मन्त्र पढ्नचँै खासै आउँदैन तर, आफँै एउटा मन्त्र बनाएर भएपनि जनैचंै फेर्छु । नुहाइधुवाई गर्दासमेत जनैलाई बाहिर राख्नु हुँदैन भनेर मलाई हजुरबुबाले नै राम्ररी सिकाउनुभाथ्यो । कतिबेला जनै खोल्ने कतिबेला कानमा सिउरिने सबै थाहा छ तर, गर्ने बेलामा त्यो याद हँुदैन रहेछ ।
आजभोलि त युवाहरु एकदम राम्रो लुगा साथै कपाल पनि शैलीअनुसार काट्छन् अनि चट्ट जुत्ता टिलिक्क टल्काएर हिड्छन् । त्यसो गर्दा कम्ता राम्रो देखिन्छ त ! फिल्मको नायकझैँ ! तर वर्षको एक दिन एउटा जनै फेर्न अनि सँधै जप ध्यान गर्न भनेचंै के–के न भयो झैँ गर्छन् ! उनिहरुमाथि अत्याचार नै भयो ठान्छन् ।
मैले पनि जानेअनुसार जनैमा केहि शक्ति छ भन्ने सुन्याछु । जनै लगाउन अल्छिचैं नगरौं साथीभाइहरु ! अब अरु दिन नलगाएपनि जनैपूर्णिमाको दिनचैं पालना गरांै !
के हो जनै ?
जहाँसम्म पढेर र सुनेअअनुसार बायाँबाट दाँया काँधमा लगाइने काँचो धागोको डोरी नै जनै हो । जनै धार्मिक कारणले महत्वपूर्ण मानिन्छ । बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ । खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतबन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ ।
देशका प्रख्यात संस्कृत साहित्यका विद्वान ऋषिराम पोखरेल बताउँछन्, यो धागो सामान्यतया बायाँ काँधदेखि दाहिने कम्मरसम्म, छातीको छेउमा तिरेर लगाइन्छ । संस्कृतमा जनैलाई ‘यज्ञोपविता’ भनिन्छ । प्राध्यापक पोखरेल भन्छन्, ‘यज्ञ भन्नाले कुनै पनि प्रकारको पूजा, प्रसाद, भक्ति वा बलिदानलाई बुझाउँछ । र, ‘उपविता’ भनेको यज्ञ गर्दा लगाउनु पर्ने कुरा हो । यस्तो धागो वैदिक मन्त्र जप गरेर पवित्र बनाइन्छ ।
भनिन्छ, दिसा पिसाव गर्दा जनैलाई दाहिने कानमा दुई फन्का कसेर बेर्नु पर्छ रे ! दिसा पिसावपछि जब हातगोडा धोएर मुख कुल्ला गरिन्छ तबमात्र जनै कानबाट निकाल्नु पर्छ । यसोगर्नुको अर्थ शरीरमा नाइटो माथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ तर नाइटो मुनिको भागभने अपवित्र मानिन्छ ।
आजको लागि मन्त्र..
‘येनबद्धो वली राजा दानवेन्द्रो महावलस् ।
तेनत्वां प्रतिबध्नामि रक्षे माचल माचल ।।’
राखी !
यसदिन दिदीबहिनीले दाजुभाइका लागि मिठो खाना तयार गरी ‘राखी बनाउँछन् । राखी एक प्रकारको ब्रेसलेट जस्तै हो जसलाई सुन्दर देखाउनको लागि आकर्षक सामग्रीले बनेको हुन्छ । आजकल, हामी बजारमा विभिन्न प्रकारका राखीहरू पनि किन्न सक्छौं । यो विभिन्न आकार,र रूपहरू छन् बनाउन सकिन्छ वा बजारमा फेलापार्न सकिन्छ । सायद एक साधारण धागो वा अधिक सजावटसँग रंगीन । यो घडी वा धार्मिक कलाको रूपमा हुन सक्छ जुन राखीमा बनाउन सकिन्छ । तर आजकल राखीमा रंगीन धागोको प्रयोग गरिन्छ ।
दिदीबहिनीहरूले बजारबाट आफ्नो मनपर्ने किसिमको टुक्रा छान्छन् वा आफै ंबनाउँछन् । जसरी भनिन्छ, रक्षा भनेको सुरक्षा र बन्धको अर्थ बन्धन हो । त्यसैले यस दिन हामीले जुनसुकै पहिरन लगाए पनि राखी, डोरो वा जनै, सबै समान छन् । यसको पछाडिको विचार यसलाई लगाउने व्यक्तिको सुरक्षा गर्नु हो ।
रक्षाबन्धनको समयमा प्रस्तावित केहि खानाहरू !
रक्षाबन्धनमा दाजुभाइ तथा दिदीबहिनी र पाहुनालाई विभिन्न किसिमका खाना खुवाइन्छ ।
केही खानेकुरा यस्ता छन् ः खीर, लड्डु, रसभरी, पेडा, बर्फीजस्ता मिठाइहरू, जेरी, गाँजरको हलुवा, सुजी ! त्यसैले यो रक्षाबन्धन, यस पर्वको महत्वलाई ध्यानमा राखी यसलाई राम्ररी पालन गरौं । यो एक पवित्र पर्व हो, त्यसैले हामी सबैले यसलाई एकै पवित्रताका साथ मनाऔं र यस रक्षाबन्धनमा खुसी बनौं । रक्षाबन्धनको शुभकामना !