भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौंमा एक दिन सेवा दिएको छ । काठमाडौंमा शिविर आयोजना गरेर नागरिकलाई सेवा दिएको हो ।भौगोलिक रूपमा विकट रहेको गाउँपालिकामा वर्षाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि काठमाडौंमा एक दिन यहाँ रहेका आफ्ना नागरिकलाई सेवा दिएको हो।
गाउँपालिका अध्यक्ष दौलथ कुलुङले काम विशेषले काठमाडौंमा रहेका तथा यातायातबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै एक दिने सेवा प्रवाह कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। तत्काल गाउँमै जान नागरिकलाई आर्थिक भार पर्ने भएकाले काठमाडौं पुगेका वेला त्यहीँबाट सेवा दिएको उनको भनाइ छ।
‘जनप्रतिनिधिले जनताको सेवाका लागि काम गर्ने हो’अध्यक्ष कुलुङले भने,‘ हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ। नागरिकको सेवालाई ध्यानमा राख्दै हामीले यहाँबाट आजको एक दिन गाउँपालिका तथा सबै वडाबाट प्रवाह हुने सेवा दिएका छौँ। यसले उहाँहरूलाई आर्थिक भार समेत कम पारेको भएको छ।’
जोरपाटीमा सञ्चालन भएको शिविरबाट काठमाडौंमा रहेका करिब १५० जनाले विभिन्न किसिमका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिए। स्थानीय नागरिकबाट माग भएकोले धरान विराटनगर, इटहरी झापा लगायत ठाउँका नागरिकलाई लक्ष्य गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष कुलुङले बताए।

