धरान । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले आगामी निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

जसपाले मंगलबार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले दोस्रो पटक सुनसरी १ बाट चुनाव लड्ने योजना सार्वजनिक गरेका हुन् ।

राई २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । तर, एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित भएका थिए । यसपटक सत्ता गठबन्धनको समर्थनमा आफू उम्मेदवार बन्ने तयारी भइरहेको राईले बताएका छन् ।
राईले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने भन्दै सुनसरी क्षेत्र नम्बर १ का जनताले आफूलाई माया गरेको बताए । तर, गठबन्धनमा सिट बाँडफाँट गर्दा सो क्षेत्र जसपाको भागमा नपरे अन्यत्र जान पनि तयार रहेको उनको भनाइ छ ।

नेता राईले अबको आम निर्वाचनमा देशव्यापी गठबन्धन गरेर अघि बढ्ने बताए । नेपाली राजनीतिक वृत्तमा नेकपा एमालेको असफलताका कारण वर्तमान सत्ता गठबन्धनको जन्म भएको बताउँदै उनले सहमतिको आधारमा सिट बाँडफाड हुने उल्लेख गरे ।

स्थानीय चुनावमा वडा तहमा दलहरूले पाएको मतका आधारमा यो क्षेत्रमा सबैभन्दा धेरै मत नेकपा एमालेको ३३ हजार ४५३ छ । त्यस्तै कांग्रेसको २५ हजार ६६४, नेकपा माओवादी केन्द्रको ७०१८ मत छ । जसपाको मत राप्रपा र नेकपा एसको भन्दा पनि कम छ ।केही दल व्यक्तिहरूले राजतन्त्र र सङ्घीयता खारेजीको कुरा उठाइरहेको सन्दर्भमा नेता राईले यस्ता कुरा गलत भएको टिप्पणी गरे । जनताको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेकोले राजतन्त्रको कुरा वाईयात भएको उनको भनाइ छ ।