दक्ष प्रसूतिकर्मी उत्पादन गर्दै कोशी अस्पताल

विराटनगर । सर्लाहीको बागमती नगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत नर्स सुनिता कार्कीले विराटनगरस्थित कोशी अस्पतालमा दक्ष प्रसुतिकर्मीको तालिम लिँदै आएकी छन् । उनले कोशी अस्पतालको हलमा दक्ष प्रसुतिकर्मीको तालिम लिन थालेको दुई साता हुन लागेको छ ।

कोशी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ र दक्ष प्रशिक्षकहरूबाट ६० दिनको तालिम दिएपछि आफू जन्मेको ठाउँमा पुगेर सुरक्षित मातृत्व, सुरक्षित मातृत्व सम्वन्धि समस्याको पहिचान गरी आमा र नवजात शिशुको सफल उपचारमा सहयोग पु¥याउने लक्ष्य लिएकी छन् । ‘दक्ष प्रसुतिकर्मी हुनको लागि तालिम लिन आएको छु,’ उनले भनिन्, ‘यहाँ तालिममा सिकेको ज्ञान आफ्नो क्षेत्रको बर्थिङ सेन्टरमा पुगेरका त्यहाँका गर्भवतीको प्रसुति गराउन लागि पर्नेछौं ।’
तालिम लिने क्रममा आफूले प्रसुति गराउन धेरै कुराहरू सिकेको कार्कीले बताइन् । ‘कतिपय स्वास्थ्य संस्थामा प्रसुति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुदा डाक्टर कन्ट्रयाकमा लिएर पनि प्रसुति गराउँदै आएका थिए । तालिम लिएर गएपछि बर्थिङ सेन्टरमा हुनसक्ने प्रसुति गराउने प्रयत्न गर्ने उनले सुनाइन् ।

‘नर्मल प्रसुति गराउन नसक्ने अवस्था भएको खण्डमा विरामीको अवस्था पहिचान गरि सुविधासम्पन्न अस्पतालमा रेफर गर्नेछौं,’ उनले भनिन, ‘तालिममा धेरै कुरा सिक्ने अवसर जुटेको छ ।’ दुई महिनाको दक्ष प्रसुतिकर्मी (एसबीए) तालिम लिँदै आएकी उदयपुरको गढी स्वास्थ्य चौकीको नर्स कृष्णकुमारी राईले पनि तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्ने बताइन् ।

‘तालिमबाट धेरै ज्ञान हासिल गरेका छौं,’ उनले भनिन्, ‘बर्थिङ सेन्टरमा कसरी नर्मल प्रसुति गराउने, नर्मल नहुँदा विरामीको पहिचान गरेर कहाँ पठाउने भन्ने विषयमा जानकारी लिएका छौं ।’ देशभर चाहिने दक्ष स्वास्थ्यकर्मी अभावका कारण मातृ तथा शिशु मृत्युदर अपेक्षा अनुसार घट्न सकेको छैन । तालिमपछि केही हदसम्म मातृ तथा शिशु मृत्युदरमा न्यूनिकरण हुने अपेक्षा छ ।

कोशी अस्पतालमा एक वर्षमा पाँच वटा तालिम हुने गरेको छ । एक पटकमा १२ जना बर्थिङ सेन्टरमा काम गर्ने नर्सलाई दक्ष प्रसुतिकर्मी तालिम दिइन्छ । देशभरीका दुर्गम ठाउँका नर्सहरूको सहभागिता तालिममा हुने गरेको छ ।
अहिले दक्ष प्रसुतिकर्मीको तालिम ६६ औं व्याचको चलिरहेको छ । १२ साउनदेखि सुरू भएको तालिममा देशभरीका ११ जना स्टाफ नर्सहरूको सहभागिता रहेको प्रशिक्षक लजिता योञ्जनले जानकारी दिइन् । कोशीमा २०६४ सालबाट दक्ष प्रसुतिकर्मीको तालिम सञ्चालन भइहरेको छ ।अहिलेसम्मको १४ वर्षमा कोशी अस्पतालबाट दक्ष प्रसुतिकर्मीको (एसबीए) तालिममा ७९२ जना नर्स सहभागी भएका छन् । एक वर्षमा ६० भन्दा धेरै दक्ष प्रसुतिकर्मी उत्पादन गर्ने अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूको लागि एसबीए तालिम एकदमै महत्वपूर्ण रहेको प्रशिक्षक लजिता योन्जनले बताएकी छन् । ६० दिनको लामो हुने एसबीए तालिम प्रसुति गराउने स्वास्थ्यकर्मीहरूको लागि नभइ नहुने महत्वपूर्ण तालिम रहेको उनको भनाइ छ ।
एसबीए तालिम लिएपछि मात्र स्वास्थ्यकर्मीहरूले प्रसुति गराउन पाउँछन् । नेपालमा प्रतिवर्ष ७ लाख ५८ हजार ६५२ जना महिला गर्भवती हुने अनुमान छ । त्यसमध्ये करिब १० प्रतिशतले गर्भपतन गराउने वा गर्भ तुहेर जाने देखिएको छ । गर्भवती भएकामध्ये आधाले मात्र स्वास्थ्य संस्थामा गई तालिमप्राप्त स्वास्थ्यकर्मीसँग प्रसुति गराउने गरेका छन् ।

एसबीए तालिमको प्रशिक्षकहरूमा कोशी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अन्जु देव, डा.मधुमीता राभा, मन्जु यादव, रम्भा सुब्बा, लजिता योन्जन, स्वेता उपाध्यय र अन्जु खनाल रहेको तालिम सञ्योजक मञ्जु यादवले जानकारी दिइन् ।

मङ्गलबार, २४ साउन, २०७९, बिहानको ०८:१७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर