
मणि दाहाल
राजनीतिक जीवन र जगतको लागि गरिने निस्वार्थ समाज सेवा हो । यस भित्रका पात्रहरु समाजसेवी हुन् । सामाजीक अभियन्ता हुन् । समाजका सम्मानित अग्रदुत हुन् । तर, हामीले राजनीतिलाई उल्लेखित संस्कार र संरचनामा विकास गर्न सकेनौं । राजनीति केवल राजनीतिको लागिमात्र भयो । जीवन र जगतको लागि हुनसकेन । राम्रा नराम्रा सबैलाई एउटै डालोमा हाल्ने र आफू पानी माथिको ओभानो बनेर जनतामा भ्रमको खेती गर्ने प्रवृति नै हम्रो राजनीतिको मूलमर्म बन्यो ।
वर्तमान राजनीतिक परिदृश्य गन्तव्यविहीनतामा रुमलिएको छ । मूलघरे राजनीतिक दलहरु नीतिगत रुपमै बिचलित छन् । त्यतिमात्र हैन संस्कारहीनताको घृणित आवरणको नग्न नाचले सीमा नाघिसकेको छ । मूलघरे राजनीतिक दलका पात्रहरुको निर्लज्जता नियतिमा विकासभएको छ । सत्ताको स्वादमा रम्दासम्म आफू विधि विधान, नीति सिद्धान्त, सामुहिकता कसैबाट पनि निर्देशित नहुने । आफैं मैमत्ता साँडे बन्ने । तर सत्ता बर्हिगमनपछि भने सबै भन्दा उम्दा देखाउने नकचरो मनोरोगले जनतालाई आजित बनाएको छ ।
राजनीतिक इतिहासमा हामीले अनेकौं दुर्भाग्यपूर्ण श्रृङ्खलाहरुको सामना गरेका छौं । अनि नमिठा श्रृङ्खलाहरुको भोगाइको परिणाम देशककको दुर्गतिमा परिणत भएको छ । अघिल्ला श्रृङ्खलाहरुलाई छाडेर २०५० देखि हेर्ने हो भने त्यसपछिका अवधिमा अनेकांै तीता अनुभूतिहरु छन् । दाशढुङ्गा हत्याको आलो घाउ सेलाउन नपाउदै २०५२ भाद्र १२ को गैर संवैधानिक अदालती ‘कु’ र लोकप्रिय प्रधानमन्त्री स्व.मनमोहन अधिकारी अस्पतालको शैय्याबाट अपदस्त गर्नै दुर्भाग्यपूर्ण श्रृङ्खलाको मूल्य राष्ट्रलाई अतिमहँगो सावित भयो । सो दुर्भाग्य श्रृङ्खलापछिको अवस्था भयावह बन्यो । देश अनेकौं द्वन्द्वमा फस्यो । नश्लवादले सहिष्णुतामा दरार खडा गरिरहेको छ ।
अनेकौं दुर्भाग्यपूर्ण खेलको सामना जनताको नियति बनेको छ । रंगमञ्चका पात्रहरुको पापको प्रयश्चित जनताले गर्नु परिरहेको छ । तर, नेपाली जनता उदार छन् । गल्तिका बावजुद पनि जनताले सुधारको मौका दिँदै आएका छन् । तर, मूलघरे हर्ताकर्ताहरु कहिलै सुध्रिएनन् । जनताको सदाशयतालाई कमजोरी ठान्ने काममात्र भयो । झुटको खेती साशकको दैनिकी बन्यो । यति हुँदा पनि जनताले दुुईतिहाई दिए । तर शासकले त्यसलाई टिकाउन सकेनन् । बालहठमा पटक–पटक सदन विघटन गर्दा लज्जाबोधसम्म भएन । आफ्नै अध्यक्षकालमा अदालतका प्याधाहरु मर्फत् पार्टीलाई जबरजस्ती विभाजनको घृणित कर्मलाई बाहादुरी ठानियो । विभाजनको खुशियालीमा अध्यक्ष निवासमा दिपावली गर्दा नाङ्गो छु भन्नेसम्म भान भएन । बरु ककटेल्स् डिनर चल्यो । लठुवाहरुको जमातले पार्टी भरियो । निष्ठावानहरुलाई विद्रोहको मशाल बोक्न बाध्य पारियो । इतिहासमा योभन्दा दुर्भाग्यपूर्ण श्रृङ्खला कतै पाउन सकिएला ?
मूलघरेले पटकौं हत्या गरेको सदन पुनःजीवित भयो । आफैँले हत्या गरेको सदनको प्रवेशमा लज्जाबोध भएन । मर्यादापालक माथिको अभद्र व्यवहारलाई मूलघरे खलकले क्रान्ति ठाने । राजनीतिमा यो नैतिकहीनतालाई जनताले सजाय दिने नदिने ? के कालो धनको रवाफको भरमा नै मूल पुरोहित मान्नु पर्ने ? के दुर्गन्धित भेलको दुषित जललाई जहिलै निर्मल जल मान्नु पर्ने ? अपराधको छाहारीलाई कानुनी रुप दिनु पर्ने ? एउटा अभिजात्य वर्गको हालिमुहालीको लागि जनताले कुर्वानी दिनु पर्ने ?
नेपालमात्र यस्तो देश हो जहाँ भ्रष्टचारीहरु नै भ्रष्टचारको विरुद्धमा सडक तताउछन् । जनघाती र राष्ट्रघातीहरु नै राष्ट्रवादको कृतिम बर्कोमा देखापर्छन् । यतिखेर महंगी र भ्रष्टचार बिरुद्धको आन्दोलनको प्रशसन चलेको छ । हो गरिब जनताको टाउकामा थोपरिने महंगी र भ्रष्टचार राष्ट्रको अभिषापै हो । तर, के बतास काण्ड भ्रष्टचार हैन ? ओम्नी भ्रष्टचार हैन ? प्रेश खरिद काण्ड भ्रष्टचार हैन ? गिरिबन्धु काण्ड भ्रष्टचार हैन ? यति काण्ड भ्रष्टचार हैन ? के यी काण्डैकाण्डका मुलघरे नायकहरुको प्रहसनमा जनताले साथ दिनु पर्ने ? कस्तो निर्लज्जता ?
सिद्धान्तबाट बिचलित र मुख्य कार्यभारबाट पथविमुख राजनीतिले जन्माउने भनेकै विचार शुन्यता हो । मूल घरमा विचारको खडेरी छ । चाट्ने, ढाँट्ने, टोक्ने, बोक्ने, अनि तुक्का र मुक्काको बाहुल्यता छ । गाली र तालीको साम्राज्य छ । धनवाद र डनवादको उन्माद छ । महिनांै सदन अवरुद्ध गर्ने तर तलवभत्ता नछाड्ने द्रब्यपिसाचहरुको मेला छ । अन्तर संघर्षको कुनै गुन्जायस छैन । गुट र लुटको प्रहसनमा जनतालाई पिल्स्याइएको छ । तैपनि मूलघरे खलकलाई पश्चाताप छैन ।
मूलघरेका सन्तानको एउटै स्वर छ । चुनाव जितेर देखा ! कठै …कस्तो विचार शुन्यता ? निर्वाचनमा त पञ्चहरुले शतप्रतिशत नै जितेका थिए । सबै पञ्च नेपाली थिए । अनि सबै नेपाली पञ्च थिए । मण्डलेहरुको भुँईमा खुट्टै थिएन । उनीहरुको राज्य आतंकको वर्णन गरेरै साध्य थिएन । तर, आज मण्डलेहरु कुन दुलोमा छन् ? नायाँ आवरणमा नयाँ बेहुली बनेका सीमित मण्डलेदेखि बाहेक बाँकी मण्डले कहाँ गए ? इतिहास बडो कठोर हुन्छ । मैमत्ता नबन ।
कृत्रिम राष्ट्रवाद मूलघरेको मागिखाने भाँडो हो । सो भाँडोको मोहमा जनता तत्काल भुल्लान पनि । तर जब जनताको आँखा खुल्छ त्यस बेलाको परिणम के होला ? जनताको जनजीविकाको आन्दोलनलाई गन्तव्यहीन बनाएर तहस नहस पार्ने राष्ट्रघाती तथा जनघाती भष्मासुरहरुलाई जनताले थुक्ने दिन टाढा हुने छैन । त्यसबेला विचारशून्य अरिँगालहरु फिका सावित हुनेछन् । ढिलोचाँडो नासिनु सिवाय अरु उपाय छैन । अण्डर प्यान्ट खुस्केको छ । मूलघरे बा ले फुर्ती नदेखाए हुन्छ । अरिँगालहरु नउफारे हुन्छ । या त दुई पाइला पछाडि या समाप्ती कुन रोज्ने ? बेलैमा सोच । समयमै आँखा खोल ।